दृष्टिविहीन बालबालिकाको आवास भवन निर्माणका लागि नेपाल लाइफको आर्थिक सहयोग
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेको हो।
नवनिर्मित आधुनिक आवासीय भवनले ६० जनासम्म दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र स्नेहपूर्ण वातावरणमा बसोबासको व्यवस्था हुने बताइएको छ। भवनमा छात्रावास, सुविधासम्पन्न कक्षाकोठा, सरसफाइका आवश्यक पूर्वाधार, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवश्यक आवासीय सुविधाहरू समावेश गरिएका छन्।
यसअघि त्रिनेत्र फाउन्डेसनले सानो भाडाको घरबाट सीमित स्रोत–साधनका बीच सेवा सञ्चालन गर्दै आएको थियो। नयाँ भवन सञ्चालनमा आएसँगै दृष्टिविहीन बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमतामा विस्तार हुने अपेक्षा गरिएको छ।
सहयोगका सन्दर्भमा बोल्दै नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले व्यावसायिक सफलतालाई मात्र नभई समाजमा पार्ने सकारात्मक प्रभावलाई वास्तविक सफलताको मापदण्ड मान्दै आएको बताए।
नेपाल लाइफले जिम्मेवार व्यावसायिक अभ्यास तथा प्रभावकारी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत देशको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।
साउन ३, २०८३ आइतबार १६:५०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।