प्रधानमन्त्री वालेन्द्रलाई इचङ्गु सेल्टरबाट ८५ वर्षीय नन्दराजको सन्देश “मर्ने बेलामा पनि यो दुख बिर्सिन्न”
काठमाडौं : सरकारले काठमाडौँको बागमती, मनोहरा र धोबीखोला लगायतका खोला किनाराको सुकुमबासी र अव्यवस्थित बस्ती भत्काएर विस्थापित गरेकाहरूमध्ये १७ परिवार इचङ्गुमा रहेको होल्डिङ सेन्टरमा छन्। विभिन्न होल्डिङ सेन्टरमा छरेर राखिएकाहरूलाई जवरजस्ती हटाउन खाना र पानी नै बन्द गरे पनि केही आन्दोलित भए।
त्यसमध्ये खरिपाटीमा रहेका दुई सय एक विस्थापितलाई खाना र पानी बन्द गरिएपछि होल्डिङ सेन्टरमै आन्दोलन भयो। त्यसपछि त्यहाँका १७ परिवारलाई इचङ्गुस्थित सुकुमबासीकै लागि बनाएको अपार्टमेन्टमा सारियो। सो होल्डिङ सेन्टरमा उकेराकर्मी पुग्दा अहिले अपाङ्गता भएका, वृद्धासँगै दीर्घरोगीहरुको बढी रहेको देखियो।
दुधे बालकको आमाहरूदेखि लिएर स्वास्थ्यका कारण हिँड्न नसक्नेहरूलाई इचङ्गुमा राखिएको भेटियो। इचङ्गुमा सुरुमा ४१ परिवार भए पनि उनीहरूलाई २५ हजार रुपैयाँ थमाइदिएर सरकारले लखेटिसकेको खुल्यो। पुराना ४१ मध्ये अहिले जम्मा पाँच परिवार मात्र भेटिए। बाँकी खरिपाटीका अशक्त र विभिन्न होटलमा राखिएको सात परिवारलाई यता ल्याइएको खुल्यो।
इचङ्गुस्थित अपार्टमेन्टको होल्डिङ सेन्टरमा पत्रकारलाई निषेध छ। परिचय नबदली होल्डिङ सेन्टर छिर्न पाइँदैन। बस्ने बास दिइए पनि खाना भने नजिकै रहेको आश्रमले व्यवस्थापन गरिरहेको छ। संसदीय समितिको अनुगमनमा त्यहाँको पानीमा हैजाजन्य जीवाणु रहेको खुले पनि त्यसमा सुधार भएको देखिएन।
केही दिनअघि उकेराकर्मी इचङ्गु पुग्दा भेटिइन् बबिता तामाङ। उनी असार २६ बाट दुधे बालकसँग होल्डिङ सेन्टरमा छिन्। उनी यस अगाडि खरिपाटीको होल्डिङ सेन्टरमा थिइन्।
उनी छोरी तीन महिना हुँदादेखि होल्डिङ सेन्टरमा बस्दै आएकी छिन्। छोरी अब साढे पाँच महिनाकी भइन्। दुधे बालकको लागि लिटो छैन। उनले जे खान्छिन् छोरीको आहार पनि त्यही देखियो। डाइपर किन्ने पैसा नभएपछि अहिले टालो र सुरुवालले काम चलाइरहेकी छिन्। उनको तीन वर्षे छोराको घाटीमा समस्या छ। शल्यक्रियाको लागि अस्पतालले साउन नौ गते बोलाएको छ।
“अहिले छोराको घाटी सफा गर्न मेसिन ल्याएको छ। फोहोर पानीले उसको घाउ सफा गर्न हुँदैन। पचास रुपैयाँको स्लाइन पानीले सफा गरिरहेको छु,” उनी भन्छिन्, “त्यो ५० रुपैयाँ अरूसँग माग्ने गरेको छु। अरूलाई कति माग्नु लाज पनि लाग्छ। काममा जाऊँ भने दुइटा सानो नानी छोडेर कसरी जानु, कहाँ जानु” बबिताले भनिन्।
उनको सन्तानसँगै यहाँ अन्य बालबालिका पनि छन्। ती कोही पनि स्कुल जान पाएका छैनन्। खाना भने सुकुमबासीलाई राख्न बनाइएको भवन ओगटेर बसेको मानव सेवा आश्रमले खुवाउने गरेको छ। बबिताको नागरिकता नबनेकाले उनले बैंक खाता खोल्न पाएकी छैनन्। त्यसले सरकारले दिने २५ हजारसम्म पनि पाउन सकेकी छैनन्।
सुत्न अस्पतालको शय्या जस्तै फलामको सानो खाट दिइएको छ। ओढ्ने अनि ओछ्याउने सुकुमबासी बस्तीबाट जे निकालेको हो त्यही हो। जो सँग ओढ्ने ओछ्याउने छैन उनीहरूले जे छ त्यसैले काम चलाउने गरेको देखियो। केही पर्यो भने भेटिने सुरक्षाका लागि राखिएका गार्ड मात्र हुन्। उनीहरूसँग ओछ्याउने कुरा भएन भन्दा कराउने गरेको पीडितहरू बताउँछन्।
“हाम्रो बिरामी छ। बेलाबेलामा गाह्रो हुन्छ। यसबारे भन्यो भने पहिला ढल्नु अनि एम्बुलेन्स बोलाउँला भन्छन्” अर्का एक विस्थापितले उकेराकर्मीसँग भने। त्यहाँ प्रहरी पनि खटिने गरेको देखियो। खरिपाटीबाटै यहाँ आएका रवीन्द्र कार्की कुरा गर्यो भने पनि प्रहरीले थर्काउने गरेको गुनासो गर्छन्।
“अलिकति आवाज निकाल्यो भने पनि सिध्याइदिन्छु भन्छन्। यहाँ त बोल्नै नहुने अवस्था छ। बाहिर सडकमा बसेर हामीलाई हेर्दै ओइ! भन्दै औँला ठड्याउने अनि बन्दुकमा हात लगेर धम्क्याउनेसम्म गर्छन्” उनले भने “ हाम्रो त घर मात्र होइन, आत्मसम्मान पनि भत्कियो। कहिले खाना नदिने। कहिले फोहोर पानी खानु पर्ने। डर, त्रासमा बस्नु परेको छ।”
खाना खाने समय बाहेक अन्य समय ढोका थुनेर बस्नु पर्ने नियम रहेको होल्डिङ सेन्टरमा भेटिएकाहरूले बताए। केही रङ्गशालामा रहेको पुरानो सामान हेर्न जाँदा गतिलाजती चोरी भइसकेको अनि जति जोगिएका छन् ती बिग्रिएको भेटिएको बताउँछन्।
“केही समयपछि यहाँबाट पनि निकाल्ने भन्ने सुन्न थालिसक्यौ। सरकारले जाने ठाउँ नदेखाएसम्म अब हामी अब जाँदैनौ। अब त यो शरीर बाहेक केही छँदा पनि छैन। सरकारले जेसुकै गरोस्” सबिना कार्कीले भनिन्।
‘मर्ने बेला पनि बालेन सरकारलाई चैं सम्झिरहन्छु’
उनीहरूसँग कुरा गर्दैगर्दा बबिताले नन्दराज गुरुङ भेटाइदिइन्। उनी बसेकै सामुन्नेमा रहेको कोठामा ८५ वर्षीय नन्दराज खाटमा फ्यान खोलेर पिसाबले भिजेको कपडा सुकाइरहेको अवस्थामा भेटिए। पक्षघात भएका नन्दराज दिसा पिसाब गर्न एक्लै चर्पी जान सक्दैनन्। भएको एउटा डाइपर पनि उनको श्रीमतीले राम्रोसँग लाइदिन नजान्दा खाट नै भिजेको रहेछ। अर्को डाइपर र कपडा नभएकाले भिजेको कपडा फ्यानको हावाले सुकाउन खोजेको रहेछ। उकेराकर्मीले हेर्दा उनको खुट्टाहरू पुरै सुन्निएको देखिन्थ्यो।
“५३ वर्षदेखि शंखमुलमा बसेको। बुढेसकालमा बालेन सरकारले यसरी राख्यो। धन्यवाद भनिदिनु। म मर्ने बेलामा पनि उसले दिएको दुख त बिर्सिदिन” उनले भने।
शंखमुलमा बस्ती बसिसक्नेभन्दा अघिकै उनीहरू त्यहाँ बस्दै आएका रहेछन्। जीवनको आधा उमेर सुकुमबासी भएर बिताएका उनको स्वास्थ्य अवस्था राम्रो नभए पनि उपचारमा चासो राखिदिने कोही देखिएनन्। साथमा भएकी श्रीमतीले सम्भव भएसम्मको हेरचाह बाहेक अन्य के नै गर्न सक्छिन् र।
उनीसँगै एकै टोलमा बस्दै आएकी माया हुमागाईँ पनि राम्रोसँग आँखा देख्दिनन्। उनको श्रीमानको खुट्टामा स्टिल राखिएको छ। सात कक्षामा पढ्नु पर्ने सन्तानको पढाइ छुट्यो। एकै टोलमा बस्दै आएको परिचित भएकाले मायाले नन्दराजको श्रीमतीलाई सहयोग गर्ने गरेकी छिन्।
‘अपार्टमेन्ट’ भनिए पनि झमझम पानी पर्दा यहाँ कोठा भित्र पुरै हिलो भएको देखिन्थ्यो। कोठामा पानी चुहिएर बस्नै नसक्ने अवस्थामा देखिन्थ्यो।
त्यहीँ भेटिएकी कमला योन्जनलाई सोमबार मात्र यहाँ ल्याइएको रहेछ। गोंगबुको होटलमा दुई महिना भन्दा बढी समय बसेका उनीहरूलाई पनि अपाङ्गता भएका र एकल महिला भएको कारण यहाँ ल्याएर राखिएको रहेछ। उनको कोठामा भने दुई परिवारलाई राखिएको देखियो।
“यहाँबाट ननिकाल्ने भने। त्यसो भए रङ्गशालामा राखेको अलिअलि सामान ल्याउन पर्यो भनेर गएको सबै सामान चोरी भएछ । के पो गर्ने होला,” उनले भनिन्।
साउन ३, २०८३ आइतबार १६:४३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।