विश्वकपको महाभिडन्त आज : मेस्सीको 'अन्तिम जादु' कि यमालको उदय?
एजेन्सी : न्युयोर्कको न्यू जर्सी स्टेडियममा फुटबल इतिहासकै सबैभन्दा ठूलो र प्रतिक्षित फिफा विश्वकपको फाइनल खेल हुँदैछ, जसले फुटबलका दुई फरक पुस्तालाई आमनेसामने गराएको छ।
यस ऐतिहासिक भिडन्तमा एकातिर ३९ वर्षीय भेट्रान स्टार लियोनेल मेस्सीको नेतृत्वमा रहेको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि चुम्ने दाउमा छ भने अर्कोतिर १९ वर्षीय युवा स्टार लामिन यामालको नियन्त्रित र आक्रामक रणनीतिमा रहेको युरोपेली च्याम्पियन स्पेन १६ वर्ष लामो प्रतिक्षा समाप्त पार्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ।
कठिन परिस्थितिमा पनि संघर्ष गरेर जित निकाल्ने बानी परेको अर्जेन्टिना र बल नियन्त्रण एवं उत्कृष्ट सामूहिक खेल प्रदर्शन गर्ने स्पेनबीचको यो टक्कर निकै रोमाञ्चक हुने देखिन्छ। जहाँ मैदानमा जादुमयी मुभहरू देखाउने मेस्सी र भविष्यको सुपरस्टार संकेत गरिसकेका आत्मविश्वासी यामालको खेल कौशल मुख्य आकर्षण बन्नेछ।
स्पेन र अर्जेन्टिना कसरी फाइनलसम्म पुगे?
यी दुवै टोलीले निकै कठिन बाटो तय गर्दै उपाधि नजिक पुगेका हुन्।
नियन्त्रित र अनुशासित खेल खेल्दै आएको स्पेनले समूह चरणमा साउदी अरब र उरुग्वेलाई हराएर केप भर्डसँग बराबरी खेल्दै ७ अंकका साथ शीर्ष स्थान हासिल गरेको थियो।
यस्तै, नकआउट चरणमा अस्ट्रियामाथि ३-० को सानदार जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो। अन्तिम १६ को रोमाञ्चक खेलमा पोर्चुगललाई १-० ले हराएको स्पेनले क्वाटरफाइनलमा बेल्जियमलाई २-१ ले पराजित गरेको थियो।
सेमिफाइनलमा उपाधिको बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० ले स्तब्ध पार्दै स्पेनले फाइनलमा स्थान सुरक्षित गरेको हो।
यता, संघर्ष र पुनरागमन गर्दै अर्जेन्टिनाले फाइनलसम्मको स्थान पक्का बनाएको हो। समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनमाथि शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रहेको थियो।
नकआउट चरणको निकै संघर्षपूर्ण खेलमा केप भर्डलाई थप गरिएको समयमा ३-२ ले पराजित गरेर अन्तिम १६ मा उक्लिएको थियो।
यस्तै, अन्तिम १६ मा २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै इजिप्टमाथि ३-२ को नाटकीय जित निकालेको अर्जेन्टिनाले क्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई अतिरिक्त समयमा ३-१ ले हराएको थियो।
सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्गल्याण्ड विरुद्ध पुनरागमन गर्दै २-१ को जित निकाल्दै अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको हो।
लियोनेल मेस्सीको 'लास्ट डान्स'?
३९ वर्षको उमेरमा लियोनेल मेस्सी विश्वकप फाइनल खेल्ने सबैभन्दा पाको उमेरका आउटफिल्ड खेलाडी बन्दै इतिहास रच्ने तयारीमा छन्। सन् २०२२ को विश्वकप विजेता मेस्सी यसपटक पनि टोलीलाई लगातार दोस्रो उपाधि दिलाउन र आफ्नो पहिलो 'गोल्डेन बुट' जित्न प्रयासरत छन्।
अर्जेन्टिनाले जितेमा, उनीहरू इटाली र ब्राजिलपछि लगातार दुई पटक विश्वकप उपाधि रक्षा गर्ने तेस्रो टोली बन्नेछन्।
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीलाई एक जीवित किंवदन्ती र इतिहासकै महान खेलाडी भएको बताएका छन्। उनले भने, "उनले इतिहास बनाइसकेका छन्। उनी एउटा जीवित किंवदन्ती हुन्। ३९ वर्षको उमेरमा पनि यसरी फाइनलसम्म पुग्नु अविश्वसनीय कुरा हो। हामीले डिएगो म्याराडोनालाई गुमाएपछि कति मिस गर्यौं भन्ने सबैलाई थाहा छ। अहिले पनि हाम्रो साथमा लियो छन्। हामीले उनको उपस्थितिको कदर गर्नुपर्छ। उनी इतिहासका महान खेलाडी हुन्।"
एक दशकअघि, चिलीसँग कोपा अमेरिका फाइनल हारेपछि मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए। त्यतिबेला क्लब फुटबलमा सफल भए पनि अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको भन्दै उनको आलोचना हुने गरेको थियो।
स्पेनको बलियो सामूहिक रक्षापंक्ति
अर्जेन्टिना व्यक्तिगत रूपमा मेस्सीको जादूमा बढी निर्भर देखिँदा, स्पेन भने आफ्नो सामूहिक एकता र बलियो डिफेन्सका लागि परिचित छ। स्पेनले यस विश्वकपका ७ खेलमा मात्र १ गोल खाएको छ र ६ खेलमा 'क्लिन सिट' राखेर कीर्तिमान बनाएको छ।
कप्तान रोड्रीको नेतृत्वमा स्पेन मैदानमा निकै संयमित देखिन्छ।
कप्तान रोड्रीले भने, "हामी केही वर्षदेखि क्रमिक रूपमा परिपक्व हुँदै आएका छौं। यो पुस्ताले आफ्नो पहिचान बनाउने नै थियो र अब विश्वकपको फाइनलसम्म पुगेको छ। तर हामी यतिमै रोकिने छैनौं। हाम्रो लक्ष्य अझ धेरै ठूलो छ।"
सुरुदेखि नै प्रमुख दाबेदार मानिएको स्पेनले दबाबलाई उत्कृष्ट रूपमा सम्हाल्दै आएको छ। फ्रान्सविरुद्धको सेमिफाइनल प्रदर्शनलाई यस प्रतियोगिताकै उत्कृष्ट प्रदर्शनमध्ये एक मानिएको छ।
रोड्रीले भने, "फाइनल जित्न हामीले अझ राम्रो खेल्नुपर्छ, किनकि अर्जेन्टिना विश्व च्याम्पियन हो। तर मलाई विश्वास छ, हामी त्यो स्तरमा पुग्न सक्छौं।"
सुपरकम्प्युटरको भविष्यवाणी
अप्टा सुपरकम्प्युटरको विश्लेषण अनुसार यो खेलमा स्पेनलाई उपाधिको बलियो दाबेदार मानिएको छ। ९० मिनेटभित्र स्पेनको जित्ने सम्भावना ४५ प्रतिशत र अर्जेन्टिनाको २६ प्रतिशत रहेको भविष्यवाणी गरेको छ। यस्तै खेल अतिरिक्त समय वा पेनाल्टीमा जाने सम्भावना २९ प्रतिशत रहेको भविष्यवाणी गरेको छ।
अप्टा सुपरकम्प्युटरको विश्लेषणमा स्पेनले विश्वकप जित्ने सम्भावना ५९.५६ प्रतिशत र अर्जेन्टिनाले उपाधि रक्षा गर्ने सम्भावना ४०.४४ प्रतिशत छ।
मैदान, मौसम र हावाको अवस्था
फाइनल खेल न्युजर्सीको ८२ हजार पाँच सय दर्शक क्षमता भएको मेटलाइफ स्टेडियममा हुँदैछ। यही मैदानमा २०२५ फिफा क्लब विश्वकपको फाइनल र दुवै सेमिफाइनल पनि आयोजना गरिएको थियो।
यो स्टेडियम एनएफएल टोली न्युयोर्क जायन्ट्स र न्युयोर्क जेट्सको घरेलु मैदान हो।
आइतबार न्यूजर्सीमा मौसम सामान्यतया सफा र कम आर्द्रता रहने अनुमान छ। हालै क्यानडाको डढेलोका कारण अमेरिकाको उत्तर-पूर्वी क्षेत्रमा वायु प्रदुषण बढे पनि खेलको दिनसम्म एयर क्वालिटी इन्डेक्स सुधारिएर 'मध्यम' रहने अनुमान गरिएको छ।
हेड-टु-हेड इतिहास
विश्वकपमा यी दुई टोली यसअघि केवल एक पटक मात्र आमनेसामने भएका थिए। सन् १९६६ को विश्वकपमा अर्जेन्टिनाले स्पेनलाई २-१ ले हराएको थियो।
हालसम्म खेलिएका कुल १६ खेलहरूमा दुवै टोलीले समान ६-६ खेलमा जित हासिल गरेका छन् भने बाँकी २ खेलहरू बराबरीमा टुङ्गिएका छन्।
यी दुई टोलीबीच सन् १९९९ मा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले स्पेनलाई २-० ले पराजित गर्दै आफ्नो वर्चस्व देखाएको थियो। त्यसपछि सन् २००६ र २००९ मा लगातार दुई पटक स्पेनले उत्कृष्ट पुनरागमन गर्दै दुवै खेलमा अर्जेन्टिनामाथि २-१ को समान नतिजा सहित रोमाञ्चक जित निकालेको थियो।
तर, सन् २०१० मा भएको खेलमा अर्जेन्टिनाले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई ४-१ को फराकिलो अन्तरले स्तब्ध बनाएको थियो। यी दुई टोलीबीचको सबैभन्दा पछिल्लो र स्मरणीय भिडन्त भने सन् २०१८ मा भएको थियो, जहाँ स्पेनले एकपक्षीय रूपमा खेल आफ्नो पोल्टामा पार्दै अर्जेन्टिनामाथि ६-१ को ऐतिहासिक र विशाल जित दर्ता गरेको थियो।
साउन ३, २०८३ आइतबार १४:३३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।