स्पेन विरुद्धको फाइनलअघि मेस्सीले भने - 'नतिजा जे भए पनि टोलीले मेटाउन नसकिने इतिहास रचिसक्यो'

स्पेन विरुद्धको फाइनलअघि मेस्सीले भने - 'नतिजा जे भए पनि टोलीले मेटाउन नसकिने इतिहास रचिसक्यो'

एजेन्सी : फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन विरुद्ध मैदान उत्रिनुअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो टोली र समर्थकहरूका लागि एउटा विशेष तथा भावुक सन्देश लेखेका छन्। 

यस विश्वकपमा पनि अर्जेन्टिनाका लागि 'गेम चेन्जर' सावित भएका ३९ वर्षीय मेस्सीले उपाधि भिडन्तको पूर्वसन्ध्यामा खेलाडी र व्यवस्थापन टोलीसहितको सामूहिक तस्बिर सेयर गर्दै टोलीको दबाब कम गर्ने प्रयास गरेका छन्।

उपाधिभन्दा पनि टोलीसँग बिताएका प्रत्येक क्षण आफ्नो लागि विशेष रहेको भन्दै मेस्सीले लेखेका छन्, "यी बितेका वर्षहरूमा सबैभन्दा सुन्दर कुरा उपाधिहरू मात्र थिएनन्, बरु यो लामो सहयात्रा रह्यो। यस समूहसँग हरेक दिन बिताउनु, सँगै प्रतिस्पर्धा गर्नु, कठिन समयमा पनि एकजुट भएर उठ्नु र हरेक पाइलाको आनन्द लिनु नै वास्तविक खुसी हो।"

उनले खेलाडी, प्रशिक्षक तथा राष्ट्रिय टोलीलाई परिवारजस्तै बनाइराख्न दिनरात खटिने सबैप्रति आभार व्यक्त गर्दै नतिजा जे आए पनि यो टोलीले कहिल्यै नमेटिने इतिहास लेखिसकेको उल्लेख गरेका छन्।

उनी लेख्छन्, "यस राष्ट्रिय टोलीलाई एउटा परिवार जस्तै बनाइराख्न हरेक दिन मिहिनेत गर्ने मेरा प्रत्येक सहकर्मी, प्राविधिक टोली र सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद। भोलि (फाइनलमा) जेसुकै होस्, यो टोलीले एउटा यस्तो इतिहास लेखिसकेको छ जसलाई हामीले कहिल्यै बिर्सने छैनौँ र कसैले मेट्न पनि सक्ने छैन।"

यो खेल मेस्सीको खेलजीवनकै अन्तिम विश्वकप खेल हुने अनुमान गरिएको छ। तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सका किलियन एमबाप्पेले दुई गोल गरेपछि उनले मेस्सीलाई पछि पार्दै 'गोल्डेन बुट' को दौडमा अग्रता लिएका छन्।

साथै, एमबाप्पे कुल २२ गोलसहित विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता समेत बनेका छन्। फाइनल खेलमा स्पेनविरुद्ध मैदान उत्रिँदा मेस्सीको नजर टोलीलाई उपाधि जिताउनेसँगै यो ऐतिहासिक गोलको कीर्तिमान पुनः आफ्नो नाममा फर्काउनेमा पनि हुनेछ।

साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ को रोमाञ्चक पुनरागमन जितका साथ फाइनलको यात्रा तय गरेको हो। सेमिफाइनलमा इंग्ल्याण्डले सुरुवाती अग्रता लिए पनि मेस्सीकै दुईवटा उत्कृष्ट असिस्ट (पास) का मद्दतले अर्जेन्टिनाले कमब्याक जित निकालेको थियो। 

उक्त ऐतिहासिक जितको स्मरण गर्दै मेस्सीले भने, "हामीले मैदानमा केही विशेष महसुस गर्यौँ, जुन राष्ट्रिय गान गाउँदा नै सुरु भइसकेको थियो। सेमिफाइनलमा इंग्ल्याण्डको सामना गरेर अर्को विश्वकप फाइनलमा पुग्नुको अर्थ के हो भन्ने समर्थकहरूलाई राम्रोसँग थाहा छ। अर्जेन्टिनामा मानिसहरू कति खुसी छन् भन्ने मलाई थाहा छ। मेरी आमा र परिवारले मलाई त्यहाँ भइरहेको विजय उत्सवका तस्बिरहरू पठाइरहनुभएको छ। अर्जेन्टिनी जनतालाई यो विशेष खुसी दिन पाउँदा म निकै गर्व र भाग्यमानी महसुस गरिरहेको छु।"

न्युयोर्कको न्युजर्सी स्टेडियममा आइतबार हुने फाइनलमा साविक विजेता अर्जेन्टिनाले युरोपियन च्याम्पियन स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा छ भने स्पेन सन् २०१० पछि पहिलो पटक विश्वकपको उपाधि जित्ने प्रयासमा छ।

सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। खेलमा एन्जो फर्नान्डेजले बराबरी गोल गरेपछि लाउटारो मार्टिनेजले इन्जुरी समयमा विजयी गोल गरेका थिए।

यता स्पेनले फ्रान्सलाई २–० ले हराउँदै दोस्रो पटक विश्वकप फाइनलमा स्थान बनाएको हो। लामिन यामालले उत्कृष्ट प्रदर्शन गर्दै पेनाल्टी जिताएका थिए, जसलाई मिकेल ओयार्जाबालले गोलमा परिणत गरेका थिए। दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थप्दै स्पेनलाई सहज जित दिलाए। 

फाइनलअघि स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले अर्जेन्टिनाविरुद्धको खेल उच्चस्तरीय र रोमाञ्चक हुने विश्वास व्यक्त गरेका छन्। दुवै टोलीको खेल शैली, प्रतिभा र आक्रामक फुटबलप्रतिको प्रतिबद्धता समान भएकाले समर्थकले उत्कृष्ट प्रतिस्पर्धा हेर्न पाउने उनले बताए।

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले भने उपाधि जित्न टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताएका छन्। उनले स्पेनको खेल शैलीको विस्तृत अध्ययन गरिएको उल्लेख गर्दै अर्जेन्टिना आफ्नो उत्कृष्ट संस्करण प्रस्तुत गर्न तयार रहेको बताए।

स्कालोनीले ३९ वर्षको उमेरमा पनि अर्को विश्वकप फाइनलमा पुगेका मेस्सीको विशेष प्रशंसा गर्दै उनलाई फुटबल इतिहासकै महान् खेलाडीमध्ये एक भएको उल्लेख गरे। उनले मेस्सी र वर्तमान अर्जेन्टिनी टोलीले पछिल्ला वर्षहरूमा देशलाई अविस्मरणीय सफलता दिलाएको बताए।

साउन ३, २०८३ आइतबार १२:३९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।