देश पुनः द्वन्द्वतर्फ धकेलिने खतरा देखियो, सरकार गम्भीर बनोस् : कुलमान घिसिङ
काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको कार्यशैलीका कारण देश पुनः गम्भीर राजनीतिक तथा सामाजिक द्वन्द्वतर्फ उन्मुख हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले दुई तिहाइ बहुमत प्राप्त सरकार जनअपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाए। विगत तीन–चार महिनाको राजनीतिक परिस्थितिलाई नियाल्दा देशमा नयाँ खालको द्वन्द्व सिर्जना हुन लागेको महसुस भएको उनको भनाइ थियो।
"करिब तीन–चार महिना पुग्न लाग्यो। तर चार महिनाकै अवधिमा यो देशमा एक किसिमको द्वन्द्व सिर्जना हुने अवस्थामा पुग्न लागेको हो कि भन्ने शंका लागेको छ," घिसिङले भने, "यसमा सरकार अत्यन्त गम्भीर भएर लाग्नुपर्नेछ। सम्बन्धित सबै पार्टीहरू पनि यो देशलाई द्वन्द्वबाट बाहिर ल्याउन लाग्नुपर्छ। लामो समयको द्वन्द्वबाट नेपाल धेरै समय राजनीतिक द्वन्द्वमा फसिरह्यो। फेरि झन् ठूलो द्वन्द्वमा जाने अवस्था सिर्जना हुन लागेको हो कि भन्ने हामीले महसुस गरेका छौं।"
उनले विगत तीन–चार महिनाकै अवधिमा पाँच जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै त्यसले देशको वर्तमान परिस्थिति गम्भीर बनेको संकेत गरेको बताए।
उनले भने, "दुई तिहाईको सरकार जनताले सबैभन्दा ठूलो बहुमत दिएर पठाएको, जनताले विश्वास दिएर पठाएको सरकारले आम नागरिकको इच्छा, आकांक्षा र मागलाई सम्बोधन गर्नलाई जिम्मेवार भएर लाग्नुपर्छ। अहिले विगत तीन, चार महिनामै पाँच जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने परस्थिती सिर्जना भयो।"
सोही कार्यक्रममा अध्यक्ष घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख नयाँ सदस्य थप्ने लक्ष्यसहित पार्टी संगठन विस्तारलाई तीव्र पार्ने घोषणा समेत गरे।
पार्टीले आधुनिक प्रविधिको प्रयोग गर्दै 'डिजिटल सदस्यता' वितरण गर्ने र गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने रणनीति बनाएको छ। सदस्यता वितरण र संगठन निर्माणको यो अभियानले पार्टीको जनधारलाई तल्लो तहसम्म बलियो बनाउने विश्वास उनले व्यक्त गरे।
साउन २, २०८३ शनिबार १७:३६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।