उद्योग विभागद्वारा ५८ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत, कृषि क्षेत्रमा सबैभन्दा बढी

उद्योग विभागद्वारा ५८ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत, कृषि क्षेत्रमा सबैभन्दा बढी

काठमाडौं : उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्ब एक करोड ८५ लाख ३०५ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत गरेको छ।

विभागले गत साउनदेखि असार मसान्तसम्मको अवधिमा ‘अटोमेटिक रुट’बाट नौ अर्ब ५८ करोडका ८९७ वटा परियोजना र ‘अप्रुभ्ट रुट’बाट भने ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार २५ लागतको दुई सय १९ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको जनाएको छ।

विभागका अनुसार गत आवमा उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि रु तीन अर्ब ९१ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो। त्यसैगरी ऊर्जामूलक क्षेत्रअन्तर्गत चार वटा परियोजनाका लागि सात अर्ब १६ करोड बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। 

त्यस्तै कृषिमूलक क्षेत्रका लागि १८ वटा परियोजनामा २३ अर्ब १८ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रका लागि दुई सय २७ परियोजनामा रु १३ अर्ब ९९ करोड बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ। 

त्यसैगरी सूचनाप्रविधिमूलक क्षेत्रमा सात सय २७  परियोजनाका लागि दुई अर्ब ८३ करोड बराबर वैदेशिक लगानीको प्रतिबद्धता आएको छ।

साउन २, २०८३ शनिबार १३:२७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।