मेटलाइफ स्टेडियममा देखिने छैन नाइकीको ‘टिक’ मार्क, एडिडासको तीन धर्काले मार्यो बाजी
एजेन्सी : फिफा विश्वकप २०२६ को उपाधिका लागि अर्जेन्टिना र स्पेन मैदानमा उत्रिने तयारी गरिरहँदा, खेल सामग्री उत्पादक कम्पनीहरूबीचको व्यावसायिक प्रतिस्पर्धामा भने ‘एडिडास’ले बाजी मारेको छ।
फाइनलमा पुगेका दुवै टोलीको प्रायोजक एडिडास मात्रै भएपछि यसपटकको विश्वकपमा नाइकीको उपस्थिति सेमिफाइनलमै सीमित भएको हो।
नेपाली समयअनुसार सोमबार विहान अमेरिकाको मेटलाइफ स्टेडियममा हुने फाइनल खेलमा विश्वचर्चित ब्राण्ड नाइकीको ‘स्वुस’ लोगो देखिने छैन। बुधबार भएको सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई पराजित गरेसँगै फाइनलबाट नाइकीको अन्तिम चुनौती पनि समाप्त भएको हो।
एडिडासको वर्चस्व र नाइकीको बर्हिगमन
यस विश्वकपमा एडिडासले १४ र नाइकीले १२ राष्ट्रिय टोलीलाई प्रायोजन गरेका थिए। नाइकीका अन्तिम आशारूपी टोलीहरू इंग्ल्यान्ड र फ्रान्स प्रतियोगिताबाट बाहिरिएसँगै फाइनलमा एडिडासको एकतर्फी वर्चस्व रहने निश्चित भएको हो।
विश्व फुटबलको यो महाकुम्भलाई दुवै बहुराष्ट्रिय कम्पनीले आफ्नो बजार विस्तारको प्रमुख रणनीतिका रूपमा लिएका थिए।
विशेषगरी पछिल्लो समय बजार हिस्सा गुमाउँदै गएको नाइकीका लागि यो विश्वकप निकै महत्त्वपूर्ण थियो। तर, मैदानको नतिजाले नाइकीको व्यापारिक पुनरुत्थानको रणनीतिमा धक्का पुर्याएको छ।
व्यापारिक चुनौती र सेयर बजारमा असर
नाइकीले यसै वर्ष आफ्नो सेयर मूल्यमा करिब एक तिहाइको गिरावट बेहोरिसकेको छ। विशेषगरी चीनमा खस्किएको व्यापार र आन्तरिक व्यवस्थापनका कारण लगानीकर्ताको धैर्य टुट्दै गएको देखिन्छ।
मर्निङस्टारका विश्लेषक डेभिड स्वार्ट्ज भन्छन्, ‘नाइकीका लागि अहिले फुटवेयर नवप्रवर्तन र भण्डारण व्यवस्थापन जस्ता विषय बढी पेचिलो बनेका छन्। एडिडासले यसपटक राम्रो प्रचार पायो, तर खेलकुद व्यापारमा यस्ता उतारचढाव स्वाभाविक हुन्।’
यद्यपि, नाइकीका प्रवक्ताले एउटा प्रतियोगिताको नतिजाले मात्र कम्पनीको दीर्घकालीन फुटबल रणनीति निर्धारण नगर्ने स्पष्ट पारेका छन्।
एडिडासलाई दोहोरो फाइदा
एम साइन्सको तथ्यांकअनुसार, सन् २०२५ मा १६ प्रतिशत रहेको एडिडासको फुटवेयर बजार हिस्सा जुन २०२६ सम्म आइपुग्दा १९.२ प्रतिशत पुगेको छ। अमेरिका र युरोपमा एडिडासको आक्रामक बजार विस्तारले नाइकीलाई दबाबमा पारेको छ।
एडिडासका अधिकारीहरूका अनुसार कम्पनीले पहिलो त्रैमासिकमै विश्वकपसम्बन्धी सामग्रीको बिक्रीबाट करिब २५ करोड युरो बराबरको बुकिङ प्राप्त गरिसकेको छ। चालू त्रैमासिकमा पनि यो व्यापार अझ बढ्ने अपेक्षा गरिएको छ।
नाइकीको प्रचार युद्ध
मैदानमा पराजय भोग्नुअघि नाइकीले आफ्नो प्रचारमा कुनै कसर बाँकी राखेको थिएन।
कम्पनीले ‘मर्क्युरियल’ फुटबल बुटका दुई नयाँ संस्करण सार्वजनिक गर्नुका साथै ‘रिप द स्क्रिप्ट’ नामक विश्वव्यापी अभियान चलाएको थियो। जसमा फ्रान्सेली स्टार किलियन एम्बाप्पे र किम कार्दासियन जस्ता सेलिब्रेटीहरू जोडिएका थिए।
नाइकीको दाबीअनुसार सन् २०२२ को कतार विश्वकपको तुलनामा यसपटक जर्सीको बिक्री २.५ गुणाले बढेको थियो। तर, फाइनलमा आफ्नो लोगो नपुग्नुले ब्रान्ड भ्यालु र आगामी बिक्रीमा केही असर पर्न सक्ने विश्लेषण गरिएको छ।
अहिलेलाई भने विश्वकपको उपाधि जसले जिते पनि व्यावसायिक रूपमा एडिडासले विजयोत्सव सुरु गरिसकेको छ।
साउन २, २०८३ शनिबार ०७:३४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।