आईईएमएलबाट उद्योगी प्रतिनिधित्व हटाउने निर्णयविरुद्ध उद्योगी आन्दोलित

आईईएमएलबाट उद्योगी प्रतिनिधित्व हटाउने निर्णयविरुद्ध उद्योगी आन्दोलित

बुटवल : नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड (आईईएमएल)को सञ्चालक समितिबाट उद्योगीहरूको प्रतिनिधित्व हटाउने सरकारी निर्णयको विरोध गरेको छ। 

महासंघका अध्यक्ष एजाज आलमले उक्त निर्णय उद्योगीहरूको हित विपरीत, अलोकतान्त्रिक र सुशासनको सिद्धान्तविरुद्ध भएको बताएका छन्।

अध्यक्ष आलमका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिमा लामो समयदेखि उद्योगीहरूको प्रतिनिधित्व रहँदै आएको थियो। 

उद्योगी प्रतिनिधिले औद्योगिक क्षेत्रका समस्या समाधान, औद्योगिक वातावरण निर्माण तथा नीतिगत सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आए पनि सरकारले कुनै छलफल र परामर्शबिनै प्रतिनिधित्व हटाउने निर्णय गरेको उनले बताए।

उद्योगीहरूको प्रत्यक्ष सहभागिताबिना औद्योगिक क्षेत्रको व्यवस्थापन र सञ्चालन प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै उनले यस्तो निर्णयले उद्योगमैत्री वातावरण कमजोर बन्ने दाबी गरे। 

नीति निर्माण तहमा उद्योगीहरूको सहभागिता अपरिहार्य रहेकाले उक्त निर्णय तत्काल खारेज गरी सञ्चालक समितिमा उद्योगीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग माग गरिएको अध्यक्ष आलमले बताए।

महासंघले आफ्नो मागप्रति बेवास्ता गरिए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी पनि दिएको छ।

विरोध स्वरूप महासंघले पहिलो चरणमा देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूमा कालो झण्डा राख्ने, साउन १ गते औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने तथा व्यवस्थापन लिमिटेड र त्यसका शाखा कार्यालयहरूले आयोजना गर्ने कुनै पनि कार्यक्रम वा बैठकमा महासंघका पदाधिकारी तथा उद्योगीहरू सहभागी नहुने निर्णय गरेको अध्यक्ष आलमले जानकारी दिए।

साउन १, २०८३ शुक्रबार १७:३५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।