विश्वकप लाइभको एक झलकले भाइरल बनेका नेपाली फ्यान ‘मिस्टर हिम’ र ४४ वर्षअघिको अर्जेन्टिनी ‘कनेक्सन’
काठमाडौं : विश्वकप फुटबल चलिरहँदा रंगशालाभित्र र बाहिर अनेकौँ रंगहरू देखिन्छन्। तर, कहिलेकाहीँ एउटै तस्बिर वा भिडियोले खेलको मैदानभन्दा निकै टाढा पुगेर इतिहास, राजनीति र मानवीय संवेदनाका बिर्सिएका पाटाहरूलाई एकै ठाउँमा ल्याइदिन्छ।
जारी विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्याण्डबीचको रोमाञ्चक भिडन्त चलिरहँदा टिभी क्यामराहरूले दर्शकदीर्घामा कैद गरेको एक नेपालीको दृश्यले यस्तै पाटाहरु उधिनेको छ।
अर्जेन्टिनाको जर्सी लगाएका एक फ्यान घाँटीमा नेपालको राष्ट्रिय झन्डा बेरेर अर्जेन्टिनी टोलीले जित्ता खुसीले चिच्याइरहेका थिए। उनको गालामा नेपालको झन्डाको स्टिकर टाँसिएको थियो।
झट्ट हेर्दा यो तस्बिर फुटबलप्रतिको सामान्य क्रेजजस्तो देखिए पनि पृष्ठभूमिमा लुकेको कथा फुटबलमा मात्र सीमित थिएन। यसले ४४ वर्षअघि नेपाली नागरिकहरूले बेलायतको तर्फबाट अर्जेन्टिनाविरुद्ध लडेको ऐतिहासिक युद्धको समेत स्मरण गरायो।
भारतीय अनलाइन मिडिया पेपरक्लिप सामाजिक सञ्जाल एक्समा यो तस्बिरसहित नेपाली र अर्जेन्टिनाबीचको लडाईंदेखि फुटबलसम्मको सम्बन्ध केलाएपछि अहिले यो तस्बिरको चर्चासँगै यी नेपाली को हुन् भन्ने जिज्ञासा समेत बढाएको छ।
सेमिफाइनल खेलमा स्टार स्ट्राइकर लियोनेल मेस्सीको जादुमयी खेलको मद्दतले अर्जेन्टिनाले इङ्गल्याण्डलाई २-१ ले पराजित गर्दा समर्थकहरू खुसीले पागल भइरहेका बेला टिभी स्क्रिनमा देखिएका ती नेपाली फ्यान थिए- हिम ग्याप लामा। उनलाई सामाजिक सञ्जालमा धेरैले ‘मिस्टर हिम’ भनेर पनि चिन्छन्।

गलामा नेपालको राष्ट्रिय झन्डा बोकेर अर्जेन्टिनाको जर्सीमा सजिएका हिमको त्यो तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पुराना पानाहरू पल्टाउने माध्यमसमेत बन्न पुग्यो। आखिर किन एउटा नेपालीले अर्जेन्टिनाको जर्सी लगाएर इङ्गल्याण्ड विरुद्धको खेलमा समर्थन गर्दा यति धेरै चर्चाको विषय बन्यो? यसको उत्तर खोज्न सन् १९८२ को इतिहासमा पुग्नुपर्छ।
गोर्खाली सेना र सन् १९८२ को फकल्यान्ड युद्ध
सन् १९८२ अप्रिल २ मा अर्जेन्टिनाले बेलायतको नियन्त्रणमा रहेको फकल्यान्ड टापुमाथि आक्रमण गरी आफ्नो नियन्त्रणमा लियो। यसको जवाफमा बेलायतले आफ्नो नौसैनिक बल पठाएर ‘अपरेशन कर्पोरेट’ सुरू गर्यो।
बेलायती सेनाको त्यस सैन्य टोलीमा ‘फर्स्ट बटालियन, सेभेन्थ ड्यूक अफ एडिनबर्ग्स ओनर गोर्खा राइफल्स’ (१/७ गोर्खा राइफल्स) का नेपाली गोर्खा सैनिकहरू पनि सामेल थिए।
नेपाली भूमिमा जन्मिएका र हुर्किएका ती सैनिकहरू आफ्नो रेजिमेन्टप्रति वफादार रहँदै बेलायती झन्डामुनि अर्जेन्टिनी सेनाविरुद्ध लड्न दक्षिण एटलान्टिक महासागरतर्फ गए।
फकल्यान्ड टापुको पहाडी र कठीन भूगोलमा गोर्खाली सैनिकहरू निकै अभ्यस्त थिए। पोर्ट स्ट्यान्ली र माउन्ट विलियमका पहाडी टाकुराहरूमा गोर्खालीहरूलाई अग्रपंक्तिमा खटाइएको थियो।
त्यो समयमा अर्जेन्टिनी सैनिकहरूमाझ गोर्खालीहरूको बहादुरी र लडाकु स्वभावलाई लिएर अनेकौं अफवाह र मनोवैज्ञानिक त्रास फैलिएको थियो। युद्धको मैदानमा गोर्खालीहरूले खुकुरी प्रहार गरेर शत्रुको संहार गर्ने कथाहरू अर्जेन्टिनी ब्यारेकहरूमा व्यापक रूपमा फैलिएका थिए।
कतिपय हल्ला त यतिसम्म डरलाग्दा थिए कि गोर्खालीहरू मान्छेको मासु खान्छन् भन्ने अफवाहसमेत फैलाइएको थियो। यद्यपि ती प्रचारहरू पूर्ण रूपमा असत्य थिए, तर त्यसले अर्जेन्टिनी सैनिकहरूको मनोबल गिराउन ठूलो भूमिका खेल्यो।
युद्धको यो रापले काठमाडौंलाई सम्म छोएको थियो। आफ्ना नागरिकहरू बेलायती सेनामा भई अर्जेन्टिनाविरुद्ध लडेकोमा अर्जेन्टिना सरकारले नेपाललाई औपचारिक रूपमा विरोधसमेत जनाएको थियो।
अन्ततः सन् १९८२ जुनमा अर्जेन्टिनाले आत्मसमर्पण गर्यो, जसमा नेपाली गोर्खा सैनिकहरूको वीरताको ठूलो योगदान थियो। यस युद्धमा गोर्खाली कप्रल बुद्धप्रसाद लिम्बूले शहीद भएका थिए भने कयौं सैनिकहरू घाइते भएका थिए।
म्याराडोनाको आँसु, विश्वकप र गोर्खा कनेक्सन
फकल्यान्ड युद्ध उत्कर्षमा पुगेकै बेला सन् १९८२ को विश्वकप खेल्न अर्जेन्टिनाको राष्ट्रिय टोली स्पेन पुगेको थियो। चर्चित फुटबलर डिएगो म्याराडोनासहितको टोली देश युद्धमा विजयी भइरहेको भ्रममा थियो।
तर स्पेन पुगेपछि मात्र उनीहरूले आफ्ना सैनिकहरूले आत्मसमर्पण गर्न लागेको तीतो सत्य थाहा पाए। म्याराडोनाले पछि आफ्नो जीवनीमा लेखेका छन्, ‘हामी युद्ध जित्दैछौँ भन्ने विश्वासमा थियौँ, तर स्पेन पुगेर सत्य थाहा पाउँदा टोलीका सबै खेलाडी स्तब्ध भयौँ।’
त्यसपछिको एउटा चर्चित भनाइअनुसार, सन् १९८६ को विश्वकपमा बेलायतलाई पराजित गरेपछि म्याराडोनाले ठट्टा गर्दै भनेका थिए, ‘हामीले बेलायतलाई यसकारण हराउन सक्यौँ, किनभने उनीहरूको टोलीमा गोर्खालीहरू थिएनन्।’ यद्यपि यो भनाइको आधिकारिक पुष्टि भएको छैन।
को हुन् ‘मिस्टर हिम’ र कसरी पाए खेलाडीको जर्सी?
४४ वर्षपछिको विश्वकप मैदानमा देखिएका हिम ग्याप लामा (मिस्टर हिम) अहिले अमेरिकाको ड्यालस, टेक्ससमा बस्छन्।
खेलपाटीसँगको कुराकानीमा उनले आफू विश्वकप हेर्नकै लागि अमेरिका आएको खुलाएका छन्। उनको सामाजिक सञ्जाल हेर्दा कट्टर खेलप्रेमी देखिए। उनले कतार विश्वकप २०२२ का खेलहरू पनि रंगशालामै पुगेर हेरेका थिए।

विश्वकपका अनुभवहरू खेलपाटीसँग सुनाउँदै हिम भन्छन्, ‘म फुटबल र क्रिकेट दुवैको ठूलो प्रशंसक हुँ। यसपालिको विश्वकपमा मैले पाँचवटा खेल रंगशालामै पुगेर हेर्ने मौका पाएँ। अर्जेन्टिनाका खेलहरू हेर्दा रंगशालाको माहोल साँच्चै नै उत्कृष्ट थियो।’
यो यात्रामा उनको एउटा अविस्मरणीय क्षण पनि रह्यो। रंगशालामा खेल सकिएपछि एक अर्जेन्टिनी खेलाडीले दर्शकदीर्घातिर आफ्नो जर्सी फ्याँकेका थिए। समर्थकहरूको ठूलो भीड र धकेलाधकेलका बीच त्यो जर्सी सिधै हिमको हातमा आइपुग्यो।
उनी खुसी हुँदै भन्छन्, ‘भीडमा तानातान भइरहेको थियो, तर संयोगवश जर्सी मेरै हातमा आइपुग्यो। यो मेरो जिन्दगीकै सबैभन्दा ठूलो उपहार हो।’
विश्वकपका टिकटहरू पाउन निकै कठिन र महँगो हुने गर्छ। अनलाइनमा रिसेल मूल्य ६ हजार डलरसम्म पुग्ने गरेको भए पनि आफूले निकै खोजमेल गरेर उचित मूल्यमा क्याटेगोरी-१ को टिकट प्राप्त गरेको उनी बताउँछन्।
घृणामाथि प्रेमको जित
इतिहासमा गोर्खाली र अर्जेन्टिनाबीच शत्रुताको एउटा दुःखद अध्याय थियो। तर, फुटबलको सुन्दरता नै यही हो कि यसले पुराना घाउहरूलाई निको पार्ने शक्ति राख्छ। जहाँ इतिहासले विभाजन र पीडा छाडेर गएको थियो, त्यहाँ फुटबलले सम्बन्ध र भाइचाराको नयाँ पुल निर्माण गरिदिएको छ।
गालामा नेपालको झन्डा र जीउमा अर्जेन्टिनाको जर्सी लगाएर रंगशालामा ठूलो ब्यानर बोकेका हिमको सन्देश निकै अर्थपूर्ण थियो।
उनको ब्यानरमा लेखिएको थियो, ‘म मेस्सीको कट्टर प्रशंसक हुँ, जसले रोनाल्डो र फुटबलका सबै दिग्गज खेलाडीहरूलाई उत्तिकै सम्मान गर्छ।’

हिम भन्छन्, ‘हामी नेपालीहरू जहाँ गए पनि आफ्नो पहिचान सँगै बोकेर हिँड्छौँ। नेपालको राष्ट्रिय झन्डा बोकेर विश्वकपको मैदानमा अर्जेन्टिना जस्तो ऐतिहासिक टोलीलाई समर्थन गर्न पाउनु मेरा लागि गर्वको कुरा हो। म मेस्सीलाई माया गर्छु तर रोनाल्डो र अन्य खेलाडीहरूको पनि उत्तिकै आदर गर्छु।’
हिम क्याप लामाको यो भाइरल यात्राले खेलकुदले राष्ट्रियता, भूगोल र इतिहासको सीमालाई नाघ्न सक्छ भन्ने कुरा पुष्टि गर्छ।
हिजोका दिनमा युद्धको मैदानमा असमझदारी र त्रासका बीच आमनेसामने भएका दुई देशका नागरिकहरू आज फुटबलको मैदानमा एउटै जर्सी र एउटै झन्डा बोकेर खेलको उत्सव मनाइरहेका छन्।
साउन १, २०८३ शुक्रबार १४:०७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।