मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट दोस्रो पटक सन्यास घोषणा, यस्तो छ उनको २० वर्षे करियर
एजेन्सी : अर्जेन्टिनी फुटबल टिमका कप्तान लियोनल मेस्सीले आफ्नो करिअरमा दोस्रो पटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
यसअघि सन् २०१६ मा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएर पुनरागमन गरेका ३९ वर्षीय मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एक सन्देश लेख्दै राष्ट्रिय टोलीबाट आफ्नो २० वर्षभन्दा लामो ऐतिहासिक यात्रामा यसपटक पूर्णविराम लगाएको जानकारी दिएका हुन्।
पिता जर्ज मेस्सीको निधनपछि फुटबल करिअरबारे गम्भीर रूपमा सोचिरहेको उल्लेख गर्दै मेस्सीले लेखेका छन्, ‘समय छोटिँदै गएको छ, अध्यायहरू समाप्त हुन्छन् र यो यस्तो अध्याय हो जसले मलाई भित्रैदेखि दुखाएको छ।’
अमेरिकी क्लब इन्टर मियामीसँग सन् २०२८ सम्मको सम्झौतामा रहेका मेस्सीले देशको जर्सी फुकाले पनि क्लब फुटबलमा भने निरन्तरता दिने देखिएको छ।
मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा बिदा भएका छन्। उनले राष्ट्रिय टोलीबाट २०७ खेलमा १२५ गोल गरेका छन्।
समग्र करिअरमा बार्सिलोना, पेरिस सेन्ट जर्मेन (पीएसजी), इन्टर मियामी र अर्जेन्टिनाका लागि गरी उनले कुल ९२१ गोल आफ्नो नाममा लेखाएका छन्।
१० मार्च २००७ मा रियल म्याड्रिडविरुद्ध ३-३ को बराबरी खेल्दा १९ वर्षीय मेस्सीले क्याम्प नोउमा आफ्नो करिअरको पहिलो सनसनीपूर्ण ह्याट्रिक गरेका थिए।
१८ अप्रिल २००७ मा कोपा डेल रेको सेमिफाइनलमा गेटाफेविरुद्ध आफ्नै हाफबाट एक्लै बल अगाडि बढाउँदै ५ जना डिफेन्डर र गोलरक्षकलाई समेत छक्याएर गरेको गोल फुटबल इतिहासकै उत्कृष्ट गोल मानिन्छ।
म्यानचेस्टर युनाइटेडविरुद्ध २००९ को फाइनलमा उत्कृष्ट हेडर गोल गर्दै मेस्सीले युरोपियन मञ्चमा आफ्नो दबदबा स्थापित गरेका थिए। उनले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।
सन् २०१२ मा ६९ खेलमा बार्सिलोना र अर्जेन्टिनाका लागि गरी कुल ९१ गोल गर्दै उनले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ज गराएका थिए। बार्सिलोनाका लागि ६७२ गोल र स्पेनिस ला लिगामा ४७४ गोल गर्दै उनी दुवैतर्फ इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्।
सन् २०२१ मा ब्राजिललाई उसैको घरेलु मैदानमा हराउँदै कोपा अमेरिकाको उपाधि जितेका मेस्सीले कतारमा सम्पन्न सन् २०२२ को फिफा विश्वकपको फाइनलमा फ्रान्सलाई हराएर अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वविजेता बनाएका थिए। सो प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्दै उनले ‘गोल्डेन बल’ समेत जितेका थिए।
विश्व फुटबलको सर्वोच्च व्यक्तिगत पुरस्कार ‘बालोन डी’ओर’ सर्वाधिक ८ पटक जित्ने एक्लो खेलाडीको कीर्तिमान मेस्सीकै नाममा रहेको छ।
सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि भावुक बन्दै पहिलो पटक सन्यास घोषणा गरेका मेस्सी समर्थकहरूको आग्रहमा राष्ट्रिय टोलीमा फर्किएका थिए।
भदौ १६, २०८३ मंगलबार ११:१९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।