एसिया कपमा पुग्ने लक्ष्यसहित एसिसी प्रिमियर कप खेल्दै नेपाल
काठमाडौं : मलेसियामा आइतबारदेखि तेस्रो संस्करणको एसिसी प्रिमियर कप सुरु हुँदैछ। सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्य लिएर नेपालसहित १० टोली प्रतियोगितामा सहभागी हुँदै छन्।
सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएकोमा नेपाल समूह ‘ए’मा परेको छ। समूह ‘ए’मा अन्य टोली बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्।
समूह चरणमा नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी-यूकेएम क्रिकेट ओभलमा हुनेछ। ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्ने छ।
नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ। मलेसियाविरुद्धका पछिल्ला पाँच एक दिवसीय खेलमा नेपाल अपराजित छ। हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो। प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो। सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई छ विकेटले हराएको थियो।
नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ। नेपाल र साउदी अरेबियाबीच हालसम्म दुई खेलमा प्रतिस्पर्धा भएकामा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो। यस्तै, ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच भएका चार खेलमध्ये नेपालले एक र हङकङले दुई खेल जितेका छन् भने एक खेल रद्द भएको थियो।
एसियन क्रिकेट काउन्सिल (एसिसी) का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। यस पटक प्रिमियर कपको उपाधि विजेता टोलीले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ।
गत संस्करणको टी-२० ढाँचाको प्रिमियर कपबाट भने तीन टोली एसिया कपका लागि छनोट भएका थिए। सन् २०२४ मा आयोजित उक्त प्रतियोगिताबाट युएई, ओमान र हङकङ एसिया कपमा छनोट भएका थिए भने नेपाल चौथो स्थानमा सीमित भएको थियो।
नेपालले पहिलो संस्करणको प्रिमियर कपको उपाधि जितेको थियो। सन् २०२३ मा घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो। यस पटक पनि नेपाली टोली उक्त सफलता दोहोर्याउने लक्ष्यमा छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्व संयोजक दीपेन्द्र चौधरीले नेपाल उपाधिको बलियो दाबेदार रहेको बताए। विदेशी पिचमा खेल्नुपर्ने भए पनि प्रतियोगिताअघि पर्याप्त अभ्यासको अवसर पाएकाले नेपाली टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ।
"प्रतियोगिताअघि नेपाली टोलीले राम्रो अभ्यास पाएको छ। भारतमा गरेको प्रशिक्षणले पक्कै पनि एसिसी प्रिमियर कपमा टोलीलाई सहयोग मिल्नेछ। मुख्य प्रशिक्षक स्टुअर्ट लले हरेक अभ्यास खेललाई निगरानी गर्नुभएको छ। त्यसले पनि टोलीलाई केही फाइदा मिल्ने देखिन्छ," चौधरीले भने।
टोलीमा रहेका नयाँ खेलाडी पनि राम्रो लयमा रहेको उनले बताए। "देव खनाल, आसिफ शेख, अर्जुन कुमाललगायतले अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका थिए । यस पटक पनि नेपालको बलियो पक्ष बलिङ नै हो," उनले भने।
मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालले एक सय ७१ रनको सामान्य लक्ष्य दिए पनि २७ रनको जित निकालेको उदाहरण दिँदै चौधरीले नेपाली टोलीको बलिङ पक्ष बलियो रहेको बताए। उनका अनुसार प्रतियोगितामा नेपालको प्रमुख प्रतिस्पर्धी ओमान र युएई हुन्।
"नेपालले घरबाहिर खेल्दै छ। केही चुनौती अवश्य छन्। तर, प्रतियोगिताअघि मलेसियाको पिचमा अभ्यास खेल खेलिसकेकाले खेलाडीहरू केही अभ्यस्त भइसकेका छन्। प्रतियोगितामा नेपालको प्रमुख प्रतिद्वन्द्वी ओमान र युएई हुन्। विगतमा पनि महत्त्वपूर्ण प्रतियोगितामा यी दुई टोलीले नेपाललाई केही समस्या दिएका छन्," पूर्व खेलाडी चौधरीले भने।
भदौ १४, २०८३ आइतबार ०७:४१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।