कप्तान सन्दीपको घातक बलिङसामु बहराइन ८७ रनमै समेटियो

कप्तान सन्दीपको घातक बलिङसामु बहराइन ८७ रनमै समेटियो

काठमाडौं : मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सानदार सुरुवात गरेको छ।

कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ५ विकेट लिएपछि नेपालले बहराइनलाई जम्मा ८७ रनमा अलआउट गरेको छ।

वाईएसडी-यूकेएम क्रिकेट ओभल, बाङ्गीमा टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णयलाई बलरहरूले सही साबित गरेका छन्। नेपाली बलरसामु निरिह बनेको बहराइन ३६.२ ओभरमा मात्र ८७ रन बनाएर पेभेलियन फर्कियो।

बहराइनको इनिङ्स ध्वस्त पार्ने क्रममा कप्तान सन्दीपको प्रदर्शन उत्कृष्ट रह्यो। १४औँ ओभरमा बलिङ गर्न आएका उनले आफ्नो पहिलो ओभरको पहिलो र चौथो बलमै विकेट लिएर बहराइनलाई चर्को दबाबमा राखेका थिए।

सन्दीपले आफ्नो १० ओभरको स्पेलमा ४ ओभर मेडन राख्दै मात्र १४ रन खर्चेर ५ विकेट लिए। उनलाई राम्रो साथ दिँदै स्पिनर ललित राजवंशीले ३ तथा फास्ट बलर करण केसीले २ विकेट हात पारे। टोलीमा रहेका हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले पनि बलिङ गरे पनि उनीहरूले विकेट भने प्राप्त गर्न सकेनन्।

नेपाली कसिलो बलिङसामु बहराइनका कुनै पनि ब्याटरले खुलेर खेल्न सकेनन्। बहराइनका लागि फियाज अहमदले बनाएको १५ रन नै सर्वाधिक स्कोर रह्यो।

यस्तै, मुहम्मद वासिमले १३ र अली दाउदले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रनसमेत छुन सकेनन्। प्रशान्त कुरुप ९ रनमा आउट भए।

बहराइन सस्तैमा समेटिएपछि अब नेपालले जितका लागि ८८ रनको सहज लक्ष्य पछ्याउँदै छ।

भदौ १५, २०८३ सोमबार १०:१४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।