एसिसी प्रिमियर कप : बहराइनमाथि नेपालको ७ विकेटको सानदार जित
काठमाडौं : मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। मलेसियाको वाइएसडी युकेएम ओभलमा सोमबार सम्पन्न खेलमा बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा ओपनर अर्जुन कुमालले ५८ बलमा ५ चौकाको मद्दतमा नटआउट ३६ रन बनाए। रोहितकुमार पौडेलले १४ बलमा नटआउट १९ रन बनाए। उनले १ चौका र १ छक्का प्रहार गरे।
यसअघि ओपनर तथा विकेटकिपर आसिफ शेख १८ रनमा र देव खनाल १० रनमा आउट भएका थिए भने इशान पाण्डे १ रन बनाउँदा रनआउट भए। बहराइनका इमरान जावेदले २ विकेट लिए।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो।
कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गर्दै ५ विकेट लिए। १४औं ओभरमा बलिङ थालेका सन्दीपले पहिलो र चौथो बलमै विकेट लिँदै दबाब सिर्जना गरेका थिए। उनले १० ओभरमा ४ मेडनसहित मात्र १४ रन खर्चिए।
यस्तै ललितराजवंशी ३ विकेट लिए भने करण केसीको नाममा २ विकेट रह्यो।
बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन, मुहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाए।
प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले भदौ १८ गते आयोजक मलेसियाको सामना गर्नेछ। त्यसपछि भदौ २१ मा साउदी अरेबिया र भदौ २३ मा हङकङसँग खेल्ने तालिका छ।
समूहको शीर्ष दुई टोली भदौ २५ मा हुने सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल भदौ २७ गते हुनेछ। सन् २०२७ को एसिया कपमा छनोट हुन नेपालले यो प्रतियोगिताको उपाधि जित्नुपर्नेछ।
भदौ १५, २०८३ सोमबार १२:२७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।