अभिनेता प्रकाश घिमिरेको हिजोका कुरा : पुलिसले लखेट्दा कपाल फिँजाएर भागेँ, अनुपलाई चकलेट बेच्न राख्दा खाएरै सक्थे
अभिनेता प्रकाश घिमिरे नेपाली दर्शकमाझ ‘मितबा’का रूपमा परिचित छन्। खगेन्द्र लामिछानेद्वारा अभिनित फिल्म ‘पशुपति प्रसाद’ मा उनले निर्वाह गरेको मितबाको भूमिका निकै चर्चित भएको थियो।
दर्शकले उनलाई कतै भेटे भने अझै पनि ‘मितबा’ कै रूपमा बढी चिन्ने गर्छन्। ६ दशक उमेर पार गरिसकेका घिमिरेले पोखराकै एक विद्यालयमा करिब साढे तीन दशक अध्यापन गरे। तीन वर्षअघि घाँस काट्ने क्रममा रूखबाट लडेपछि उनले शिक्षण पेसा छोडे।
सानै उमेरदेखि नाटक तथा गीत-संगीतमा रुचि राख्ने अभिनेता घिमिरेले थुप्रै नाटक र चलचित्रमा काम गरिसकेका छन्। यतिबेला उनी अभिनित चलचित्र ‘गौँथली’ प्रदर्शनको संघारमा छ।
‘गौँथली’मा नायकको बुबाको भूमिकामा देखिएका उनी कुनै-कुनै चलचित्रमा काम गर्दा विशेष आत्मसन्तुष्टि मिल्ने बताउँछन्। उनले आफ्नो बाल्यकाल, संघर्ष र अनुभवका तितामीठा पाटाहरू उकेराको स्तम्भ ‘हिजोको कुराकानी’ मा यसरी सुनाए:
बाल्यकालमा बुवासँगै, पढ्न जान्ने हुँदा कक्षा जम्प
मेरो जन्म वि.सं. २०१९ सालमा पोखराको नदीपुर भन्ने ठाउँमा भएको हो। त्यतिबेला नदीपुर पाटन भन्थे। अहिले यो पोखरा महानगरपालिका वडा नम्बर ३ मा पर्छ। त्यतिबेला पनि वडा नम्बर ३ नै थियो र त्यसलाई पोखरा नगरपञ्चायत भनिन्थ्यो।
म दुई वर्षको हुँदा बुवाको सरुवा भएकाले हामीलाई लमजुङ लैजानुभयो। बुवा भूमिसुधारमा नायब सुब्बा (नासु) हुनुहुन्थ्यो। कर्मचारी भएकाले बुवा जताजता जानुहुन्थ्यो, हामी त्यतैत्यतै जान्थ्यौँ।
त्यतिबेला मेरी बहिनी जन्मेकी थिइनन्। मेरो बुबाले १५ वर्षको उमेरमा विवाह गर्नुभएको रहेछ। त्यतिबेला मेरी आमा मात्र ७ वर्षकी हुनुहुन्थ्यो। आमा १४ वर्ष पुग्दा म जन्मेको हुँ, त्यतिबेला बुवा २२ वर्षको हुनुहुन्थ्यो।
त्यो समयमा पण्डित खलकहरूले गाउँमा पढ्ने र बनारस गएर शास्त्रहरू अध्ययन गर्ने गर्थे। आमालाई पनि बुबाले पढाउन खोज्नुभएको रहेछ, तर आमाले मान्नुभएनछ। त्यसपछि बुवा जागिरको सिलसिलामा कैलाली पुग्नुभयो। त्यतिबेलासम्म मैले पढ्न सुरु गरेको थिइनँ। तीन-चार वर्षको उमेरमा त के पढ्नु!
जब हामी कैलाली पुग्यौँ, म पाँच वर्षको भइसकेको थिएँ। साढे पाँच वर्षको हुँदा बुबाले मलाई घरमै अलिअलि पढाउनुभएको थियो। त्यसपछि कैलालीकै एउटा सरकारी विद्यालयमा भर्ना गर्न लगियो।

त्यहाँ स्कुलका हेडसरले मलाई केही प्रश्नहरू सोध्नुभयो। मैले सोधिएका सबै प्रश्नको भटाभट उत्तर दिएपछि उहाँले ‘यो बालक शिशु कक्षामा पढाउने खालको होइन, यत्तिको जान्ने मान्छेलाई सिधै कक्षा ३ मा राख्नुपर्छ’ भन्दै कक्षा ३ मा भर्ना गरिदिनुभयो।
त्यतिबेला म ६ वर्षको थिएँ र थोरै बुझ्ने भइसकेको थिएँ। मेरो टाउकोमा लामो टुप्पी थियो। कक्षाका साथीभाइहरूले मेरो टुप्पी तानेर निकै हैरान पार्थे। एकदिन रिसको झोकमा मैले आफूभन्दा ठूलो कक्षाका एकजना साथीलाई झापड हानिदिएँ।
म सानो थिएँ, उनीहरू ठूला थिए। मैले झापड हानेपछि ऊ रुन थाल्यो। शिक्षकले मैले झापड हानेको देखेपछि मेरै त्यही टुप्पी तानेर मलाई गालामा थप्पड लगाउनुभयो। मलाई निकै रिस उठ्यो। भोलिपल्ट बाटो ढुकेर तिनै शिक्षकलाई ढुङ्गाले हिर्काए म। हिर्काएको दिनदेखि म स्कुल जानै छाडिदिएँ।
बुबाले ‘स्कुल किन नगएको?’ भनेर सोध्दा म मुखमुखै लागेर ‘जाँदिनँ, पढ्न मन छैन’ भन्थेँ। सबैले मेरो टुप्पी तानेर दुःख दिएकाले मैले बुवाको दाह्री-कपाल काट्ने कैंचीले ऐनामा हेर्दै आफ्नो कपाल आफैँ काटेँ। तर कपाल काट्दा गरा-गरा पर्यो। बुबाले गाली त गर्नुभयो, तर मलाई धेरै दबाब दिनुहुन्नथ्यो।
त्यतिबेला मेरो बुवा भूमि प्रशासनमा नासु हुनुहुन्थ्यो तर काम भने अधिकृतकै गर्नुपर्थ्यो। बुवा स्वभावले अलि कडा हुनुहुन्थ्यो, तर हामीसँग भने निकै नरम बन्नुहुन्थ्यो। मैले पढ्न छाडेपछि बुबाले मलाई फकाउँदै भन्नुभयो, ‘यदि एउटा हिसाब मिलाइस् भने तँलाई १० पैसा दिन्छु, एउटा हिसाब बिग्रियो भने १० पैसा माइनस।’
उहाँले मलाई दिनमा १० वटा हिसाब दिनुहुन्थ्यो। सुरु-सुरुमा त ५ वटा मिल्ने र ५ वटा बिग्रिने भएर बराबर हुन्थ्यो र पैसा पाइँदैनथ्यो। पछि मैले पैसाको लोभले हिसाब बिगार्न छाडेँ।
२० वटा हिसाब दिँदा २० वटै मिलाउन थालेपछि बुबाले दिनको दुई रुपैयाँ दिनुपर्ने भयो। दिनकै दुई रुपैयाँ दिनुपर्ने भएपछि बुबालाई तनाव भयो। उतिबेला नासुको तलब जम्मा दुई-तीन सय रुपैयाँ थियो। यो २०२४ सालतिरको कुरा हो।
मलाई लाग्छ, मैले पढेको स्कुलमा अभिनेत्री ऋचा शर्माका बुबा पनि शिक्षक हुनुहुन्थ्यो, किनभने उहाँकै घरछेउको एरियामा हाम्रो बसाइ थियो। त्यतिबेला कक्षा ३ मा निकै ठूला-ठूला विद्यार्थी हुन्थे, सबैभन्दा सानो म मात्र थिएँ। उनीहरूले मलाई अनेक गलत कुराहरू सिकाउँथे।
कहिलेकाहीँ ‘बुबाको पैसा चोरेर ल्याउनू’ भन्थे। म पनि कहिले ५ रुपैयाँ त कहिले कति पैसा झिकिदिन्थेँ। त्यतिबेला बुबाको खल्तीमा ५-१० रुपैयाँभन्दा बढी हुँदैनथ्यो।
म अलिक चलाख भएकाले बुबाको पैसा चोरेपछि हत्तपत्त खर्च गर्दिनथेँ। किनभने बुबाले खोजी गर्नुभयो भने फिर्ता दिनुपर्छ भन्ने सोचेर दुई दिन जति विचार गर्थेँ। बुबाले खोजी नगरेपछि मात्र खर्च गर्थेँ।
५ पैसाको बरफ र खरबुजा
२०२४ सालतिर मैले थाहा पाउँदा ५ पैसामा बरफ आउँथ्यो। आइसक्रिम, आँप, बरफ, खरबुजा, बदाम आदि मात्र पाइने समय थियो। ५ रुपैयाँ भयो भने त प्रशस्त पुग्थ्यो। ५ रुपैयाँ गोजीमा भएपछि साथीहरूलाई लिएर नेपाल-भारत सीमा गौरीफन्टातिर घुम्न पुग्थेँ।
मसँग पैसा भइन्जेल सबैजना मलाई घेरेर सँगै हिँड्थे। पैसा सकिएपछि भने कोही कता, कोही कता लागेर मलाई एक्लै छाडिदिन्थे। पैसा सकिएपछि म गौरीफन्टाबाट आउने रेलको शौचालयभित्र लुक्दै-लुक्दै घर आइपुग्थेँ।
वि.सं. २०२५ सालतिर हाम्रो बसाइ जलेश्वर सर्यो। जलेश्वर पुगेपछि बुबाले मलाई एउटा बोर्डिङ स्कुलमा भर्ना गर्न खोज्नुभएको थियो, तर मैले बोर्डिङमा नपढ्ने भनेर ढिपी गरेँ। त्यसपछि बुबाले सरकारी स्कुलमा भर्ना गराउने कुरा गर्नुभयो।
त्यतिबेला स्कुलमा भर्ना हुनुअघि शिक्षकहरूले मौखिक परीक्षा लिन्थे। उनीहरूले सोधेका सबै प्रश्नको मैले सही-सही जवाफ दिएँ। मैले उत्तर दिएपछि त्यहाँका शिक्षकहरूले दङ्ग पर्दै ‘यो विद्यार्थी कक्षा ३ मा पढ्ने खालको होइन, सिधै कक्षा ५ मा राख्नुपर्छ’ भनेर कक्षा ५ मा भर्ना गरिदिए। यसरी मैले कक्षा ३ मा ३ महिना पनि नपढी सिधै कक्षा ५ मा भर्ना पाएँ।
कक्षा ५ मा भर्ना भए पनि परीक्षा दिँदा म फर्स्ट भएँ। म फर्स्ट भएपछि सधैँ पहिलो हुने अर्को एउटा साथी रोइरहेको थियो। किन रोएको भनेर सोध्दा ऊ सेकेन्ड भएकाले रोएको रहेछ। उसको त्यो रोदन देखेपछि मलाई पढ्ने इच्छा हरायो र मैले स्कुल नै छाडिदिएँ। त्यतिबेला म ८ वर्षको थिएँ। यो २०२७ सालतिरको कुरा हो।
बुबाले कसरी हटाइदिनुभयो चोर्ने बानी?
यति हुँदा पनि मेरो चोर्ने बानी हटेको थिएन। एकदिन मैले बुबाको दुई रुपैयाँको नोट चोरेर लुकाएँ। बुबाले त्यो पैसा फेला पारिसक्नुभएको रहेछ।
मैले राखेको ठाउँमा पैसा नदेखेपछि खोज्न थालेँ। बुबाले ‘के खोजेको?’ भनेर सोध्नुभयो। मैले ‘केही होइन’ भन्दै टारिदिएँ। बुबाले हाँस्दै ‘पैसा खोजेको होलास् होइन? त्यो पैसा त मैले लिएँ’ भन्नुभयो।
त्यतिबेला बुबालाई पैसाको निकै खाँचो थियो। किनभने बुबाको पैसा र हम्सपुर साहित्य सम्मेलनमा पाउनुभएको गोल्ड मेडल समेत चोरी भएको थियो। बुबाको महिनाको तलबले परिवार धान्न धौ-धौ हुन्थ्यो।
दुईवटी आमा, काका, र मामासमेत सँगै बस्ने भएकाले हाम्रो परिवार निकै ठूलो थियो। सबैको पालनपोषण गर्नुपर्ने थियो। हामी बस्ने क्वार्टर त कार्यालयकै थियो, त्यतिबेलासम्म बुबा अधिकृत भइसक्नुभएको थियो। तर, तलब आउनुअगावै सकिने अवस्था थियो।
त्यसपछि बुबाले मलाई एउटा चिठ्ठाको टिकट दिँदै भन्नुभयो, ‘यो चिठ्ठा एक लाख रुपैयाँको हो। यदि यो पर्यो भने तँलाई साइकल किनिदिन्छु, अरू के-के चाहिन्छ सबै किनिदिन्छु।’
उहाँले मलाई पैसा परेमा के-के गर्ने भनेर ठूलो सपना बुनिदिनुभयो। म पनि एक लाखको चिठ्ठा परेमा के-के किन्ने भनेर सोच्न थालेँ र सपनामै हराएँ। यो सपनाको चक्करमा मैले पैसा चोर्ने बानी नै बिर्सिएछु।

जनकपुरपछि बुबाको सरुवा नवलपरासी भयो। परासी जाने क्रममा हामी बीचमा पोखरा पनि गयौँ। पोखरामा गण्डकी बोर्डिङ स्कुल थियो। बुबाले मलाई त्यहीँ भर्ना गरिदिने कुरा गर्नुभयो।
तर, त्यहाँ बसेर पढ्दा घर आउन पाइँदैन भन्ने थाहा पाएपछि मैले भर्ना परीक्षामा कहिल्यै सत्य बोलिनँ। उनीहरूले जे-जे सोधे पनि मैले उल्टो-उल्टो जवाफ दिएँ। त्यसैले बोर्डिङले मलाई भर्ना गरेन।
नवलपरासी फर्किएपछि मैले त्यहीँको स्कुलमा पढेँ। त्यहाँ अहिलेका चर्चित नायक सौगात मल्लका मावली हजुरबुबा हेडमास्टर हुनुहुन्थ्यो। त्यहाँ पनि अरू स्कुलमा जस्तै मौखिक परीक्षा लिइयो।
मैले सबै उत्तर फटाफट दिएपछि उहाँले ‘यो केटो टाठो रहेछ, कक्षा ६ मा भर्ना गरौँ’ भन्नुभयो। बुबाले पनि सहमति जनाउनुभयो र म पछि कक्षा ६ मा भर्ना भएँ।
भर्ना भएको चार-पाँच महिनापछि स्कुलमा हडताल हुन थाल्यो। स्कुलमा ‘जीवन’ भन्ने एकजना विद्यार्थीले दादागिरी गर्थ्यो। उसले स्कुलमा होहल्ला र तोडफोड गर्न थालेपछि स्कुल बन्द भयो।
जबर्जस्ती पढाउने कसले? त्यसपछि हामी ५-६ जना साथीहरू सौगात मल्लका मावली हजुरबुबाको घरमा खेल्न थाल्यौँ। म स्कुल जान छाडेर त्यहीँ बस्ने र आँपहरू टिपेर खाने गर्न थालेँ।
यो क्रम चलिरहँदा वि.सं. २०३२ सालतिर म पोखरा आइपुगेँ। मेरी हजुरआमा बिरामी हुनुहुन्थ्यो। बुबाले पनि सरकारी जागिर छाडेर पोखरा आउनुभयो र पत्रकारिता सुरू गर्नुभयो। त्यतिबेला ‘नयाँ सन्देश’ भन्ने पत्रिका थियो, उहाँ त्यसको सम्पादक हुनुभयो। साथै पोखराको ‘हिमदूत’ भन्ने पत्रिकामा पनि काम गर्न थाल्नुभयो।
भूमिसुधारमा जानुअघि बुबा कन्या स्कुलको हेडमास्टर हुनुहुन्थ्यो। उहाँले हेडमास्टर बनाएर छाडेका अर्का शिक्षकले ‘खाली बस्नुभन्दा पढाउनुहोस्’ भनेपछि बुबा फेरि अध्यापनमा लाग्नुभयो।
म भने मामाघरमै बसेर पढ्ने निर्णय गरिरहेको थिएँ। कक्षा ७ मा पढ्नका लागि किताबसमेत किनिसकेको थिएँ। बुबाका साथीहरू तारानाथ रानाभाट र प्रेमराज पौडेल लगायतसँग कुराकानी हुँदा प्रेमराजजीले ‘म हेडमास्टर भएको प्रौढ स्कुलमा भर्ना गरिदिनुस्’ भन्नुभएछ।
उता कक्षा ७ मा भर्ना हुने तयारी थियो, यता सरले कक्षा ८ मा भर्ना गर्ने कुरा गर्नुभएछ। नभन्दै, म प्रौढ स्कुलको कक्षा ८ मा भर्ना भएँ। त्यतिबेला म मात्र १२ वर्षको थिएँ। यो वि.सं. २०३१ सालको कुरा हो।
यो बिहानको सिफ्टमा चल्ने भएकाले यसलाई प्रौढ भनिन्थ्यो, दिउँसो चल्ने स्कुललाई ‘कन्या स्कुल’ भनिन्थ्यो जहाँ केटीहरू मात्र पढ्थे। बिहानको प्रौढ कक्षामा भने केटा र केटी दुवै बराबरी पढ्थे।
फिल्म हलमा चकलेट बेच्न राखेको मान्छे नै गायब!
मेरो कान्छा काका मभन्दा मात्र दुई वर्ष जेठो हुनुहुन्थ्यो। हामी साथीजस्तै थियौँ। म पोखरा आएपछि काकाले मलाई ‘फिल्म हेर्न जाऔँ’ भन्नुभयो।
म जनकपुर बस्दा पनि फिल्म हेर्न जाने गर्थेँ। उहाँले मलाई ‘नीलकमल’ फिल्म हेर्न लैजानुभयो। यसअघि मैले नयाँ दिल्ली पुगेर पनि फिल्म हेरेको थिएँ भने कैलालीमा छँदा दारा सिंहको फिल्म हेरेको थिएँ। मलाई फिल्म हेर्ने बानी परिसकेको थियो।
त्यतिबेला पोखरामा हाम्रो घरको नजिकै ‘कल्पना हल’ भन्ने सिनेमा हल थियो। हामी त्यहाँ फिल्म हेर्न गयौँ। अहिलेको जस्तो सजिलै टिकट काट्ने व्यवस्था थिएन, एउटा सानो प्वालभित्र हात छिराएर टिकट काट्नुपर्थ्यो। काकाले टिकट काटेर ल्याउनुभयो।
त्यसै क्रममा काकाले ‘चकलेट किनेर कसैलाई बेच्न लगाऔँ’ भन्नुभयो। मैले भनेँ, ‘अनि कसले बेच्छ? हामी त फिल्म हेर्न जाने हो।’ काकाले ‘म मान्छे खोज्छु’ भन्नुभयो।
मलाई अझै सम्झना छ, काकाले करिब ५ रुपैयाँ जतिमा एक प्याकेट चकलेट किन्नुभयो। त्यसपछि उहाँले हल बाहिर भेटिएको एउटा फुच्चे केटोलाई बोलाएर ‘यो चकलेट बेच’ भन्दै बसालिनुभयो र हामी फिल्म हेर्न हलभित्र छिर्यौँ।
फिल्म हेरेर बाहिर आउँदा त न चकलेट बेच्न राखिएको फुच्चे केटो थियो, न त चकलेट नै! एकछिनपछि काकाले उसलाई कताबाट फेला पारेर लतार्दै ल्याउनुभयो। ती लतारेर ल्याइएका केटो अरू कोही नभएर अहिलेका धेरै नेपाली कलाकारका गुरु अनुप बराल थिए।
त्यतिबेला म १२ वर्षको थिएँ, काका १४ वर्षका हुनुहुन्थ्यो र चकलेट बेच्न राखिएका अनुप जम्मा ७-८ वर्षका थिए। उनले चकलेट बेच्नुको सट्टा आफैँ खाएर सिध्याएका रहेछन्। काकाले उनलाई अलिअलि गाली गरेर छोडिदिनुभयो।
चकलेट बेच्ने फुच्चे नै साथी बने, नाटकमा जमियो
हामीले चकलेट बेच्न राखेर थर्काएका तिनै अनुपको घर मेरी फुपु हजुरआमा बस्ने घरभन्दा ठ्याक्कै माथि रहेछ। एकदिन मैले उनलाई त्यहीँ देखेँ।
मैले ‘तिम्रो घर कहाँ हो?’ भनेर सोधेँ। उनले ‘मेरो घर यही त हो नि’ भने। त्यसपछि मैले नाम सोध्दा उनले ‘अनुप बराल’ भने। यसरी परिचय भएपछि हामी मिल्ने साथी बन्यौँ। हाम्रो मित्रता यस्तो भयो कि हामी एकअर्का बिना बस्नै नसक्ने भयौँ।
हामीले मिलेर ‘सूर्योदय युवा क्लब’ खोल्ने निर्णय गर्यौं। त्यतिबेला १२-१३ वर्षका बालकहरूलाई क्लबका बारेमा के नै थाहा हुन्थ्यो र! मेरो सोच फुटबल क्लब बनाउने मात्र थियो।

हामीले २५-२५ रुपैयाँ उठाएर करिब ४००-५०० रुपैयाँ जम्मा गर्यौं र त्यो पैसा टोलका ठूला दाजुहरूलाई दियौँ। तर उनीहरू त त्यही पैसा बोकेर भैरहवा घुम्न गएछन् र फिल्म हेरेर पैसा सिध्याएछन्। अब हामीसँग पैसा पनि थिएन र माग्ने ठाउँ पनि थिएन।
त्यसपछि मैले आफ्नै नेतृत्वमा फेरि पैसा उठाएर फुटबल क्लब स्थापना गरेँ। जब म १५-१६ वर्षको भएँ, हामीले भलिबल खेल पनि सुरु गर्यौँ। नेट टाँगेर भलिबल खेलाउन थाल्यौँ।
क्लबको विधान तयार पारेर आधिकारिक रूपमा ‘सूर्योदय क्लब’ गठन गर्यौँ। त्यसको अध्यक्ष म आफैँ बनेँ, सचिवमा अनुप बराल र कोषाध्यक्षमा दीपकराज पराजुली रहेका थिए।
हाम्रो टोलीमा ३०-४० जना सदस्यहरू आबद्ध भए। क्लबमा कसको के रुचि छ भनेर छलफल हुँदा कोही भलिबल खेल्ने, कोही कविता लेख्ने त कोही गीत-संगीत र नृत्यमा रुचि राख्नेहरू निस्किए।
त्यतिबेला नाटकको कुरै थिएन, तर अनुप बरालको रुचि भने अभिनयमा निकै थियो। उनलाई सिनेमा हलमा छिरेपछि बेलुका मात्र निस्कने भूत सवार थियो। अभिनयप्रति उनको असाध्यै लगाव थियो तर क्लबमा अभिनयसम्बन्धी कुनै गतिविधि भइरहेको थिएन।
त्यसपछि दीपकराज पराजुलीलाई नाटक लेख्न लगाइयो, किनभने उनको लेखनमा अलिअलि हात बस्थ्यो। उनले नाटक लेखे। यो वि.सं. २०३६ सालतिरको कुरा हो।
हामीले एउटा नाटक तयार पार्यौं। म आफैँ धेरै जान्ने जस्तो भएर ‘नाटक यस्तो हुनुपर्छ, यसरी अभिनय गर्नुपर्छ’ भन्दै सिकाउँथेँ। हामीले जेनतेन नाटक तयार पारेर कन्या स्कुलको चौरमा हरेक शनिबार मञ्चन गर्न थाल्यौँ।
स्थानीय मानिसहरूले नाटक निकै मन पराए। त्यसपछि हौसिएर हामीले ठूलो नाटक मञ्चन गर्ने निर्णय गर्यौँ। त्यो नाटकको निर्देशन मैले नै गर्ने भएँ। पराजुलीलाई नाटक लेख्न लगाउँदा उनले १६ पर्दाको लामो नाटक लेखिदिएछन्। पछि त्यसलाई घटाएर ११ पर्दाको बनाइयो।
त्यो नाटक पोखराको ‘डाँफे कला मन्दिर’ मा मञ्चन गरियो। नाटक चलेपछि यसको प्रचारप्रसार ‘माउथ पब्लिसिटी’ बाटै यति धेरै भयो कि २५० क्षमताको बाल्कोनी र अन्य सिटसहित ५०० जना अट्ने हल सधैँ ‘हाउसफुल’ हुन थाल्यो।
हामीले टिकट बेच्न मिहिनेत नै गर्नु परेन, फटाफट बिक्री हुन्थ्यो। त्यो नाटकको नाम ‘जब इज्जत सल्किन्छ’ थियो। पोखराका चर्चित नाटककार सरुभक्त लगायतको टोली पनि टिकट काटेरै हाम्रो नाटक हेर्न आएको थियो।
पछि साथीहरू आ-आफ्नो बाटो लागे। कोही सरुभक्तको टोलीमा जान थाले त कोही कता। म सुरूमा कतै नजाने पक्षमा थिएँ, तर अन्ततः एक्लो हुने भएपछि म पनि सरुभक्तकै टोलीमा आबद्ध भएँ र उहाँको निर्देशनमा अभिनय गर्न थालेँ। मैले निर्देशन गर्न छाडेर अभिनयमा मात्र ध्यान दिएँ र उहाँसँग दुई-तीनवटा नाटक गरेँ।
तर, काम गर्दै जाँदा मलाई सरुभक्तको निर्देशन शैली पुरानो पाराको जस्तो लाग्न थाल्यो र म अलि असन्तुष्ट बन्न थालेँ। हामीले सरुभक्तसँग ‘ताण्डव नृत्य’ र ‘भ्वाइलेन्स’ जस्ता नाटक गरेका थियौँ। त्यसपछि म फेरि अनुप बराललाई नै निर्देशक बनाएर आफैँ अभिनय गर्न थालेँ।
हामी नाटकको सिलसिलामा प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने ‘राष्ट्रिय नाटक महोत्सव’ मा भाग लिन काठमाडौं आउँथ्यौँ। सोही क्रममा हाम्रो भेट सुनिल पोखरेलसँग भयो।
हामीले हिन्दी नाटकबाट नेपालीमा अनुवाद गरिएको ‘जात सोध्नु जोगीको’ नाटक मञ्चन गर्यौँ। वि.सं. २०४६ सालको जनआन्दोलन ताका देशमा परिवर्तनका लागि सचेतना जगाउँदै ठाउँ-ठाउँमा नाटक देखाउँदै हिँड्यौँ।
‘जात सोध्नु जोगीको’ नाटक पछि हामीले गुरुकुलमा पनि देखायौँ। पहिलो संस्करणमा म थिएँ, तर दोस्रो पटक म आइनँ। त्यतिबेला निशा शर्मा मेरो छोरीको भूमिकामा र मिश्री थापा मेरी बहिनीको भूमिकामा थिइन्। बसन्त भट्ट र सुनिल पोखरेल आफैँले पनि त्यसमा अभिनय गरेका थिए भने निर्देशन अनुप बरालले नै गरेका थिए।
त्यसैगरी सांस्कृतिक संस्थानले तयार पारेको नाटक ‘शिरु महारानी’ मा अभिनय गर्न म काठमाडौं आएँ। त्यतिबेला संस्थानको महाप्रबन्धक (जीएम) हरिशरण शर्मा हुनुहुन्थ्यो। उहाँले बोलाएपछि म आएको थिएँ। यस नाटकमा मसँगै दयाहाङ राई, खगेन्द्र लामिछाने, र सुदर्शन थापा लगायतका कलाकारहरू थिए। यो वि.सं. २०४५ सालतिरको कुरा हो।
त्यतिबेला नाटक गर्ने मानिसहरू चलचित्र वा टेलिफिल्ममा जानुहुँदैन भन्ने मान्यता थियो। अनुप, सुनिल र मेरो पनि धारणा त्यस्तै थियो। तर पछि उनीहरू नै टेलिफिल्मतिर लागे। सुनिल पोखरेल टेलिफिल्मतिर लागेपछि मेरो र अनुपको कति महिनासम्म बोलचाल नै बन्द भएको थियो।
त्यो समयमा नाटक गरेर पैसा कमाइँदैनथ्यो। नाटक केवल अभिनयको रहर मेट्ने माध्यम मात्र थियो, आम्दानीको सट्टा घरकै पैसा खर्च हुन्थ्यो। नाटक प्रदर्शनका लागि घरकै तन्ना, स्पिकर, कुर्सी र टेबलसमेत बोकेर जानुपर्थ्यो।
चलचित्र र टेलिफिल्मको यात्रा: ‘दलन’
आफूसँगै काम गरेका साथीहरू चलचित्र र टेलिफिल्मतिर लागेपछि मनमा थोरै दुःख त थियो नै। यसै क्रममा मेरो भेट निर्देशक तथा लेखक नवीन सुब्बासँग भयो। त्यो समयमा माओवादी र सरकारबीच द्वन्द्व चलिरहेको थियो।
वि.सं. २०५८ सालतिर नेपाल टेलिभिजनबाट ‘दलन’ नामक टेलिसिरियल निर्माण र प्रसारण गर्ने तयारी भइरहेको थियो। मलाई त्यसका लागि प्रस्ताव आयो, तर म सुरुमा खेल्दिनँ भनेर बसेँ। पछि सिरियलका लेखक आहुतीजीले मलाई ‘यसको भूमिका निकै उत्कृष्ट छ, यो गर्नैपर्छ’ भनेर सम्झाएपछि म तयार भएँ।
त्यतिबेला म आफूले पढेको पुरानो स्कुलमा पढाइरहेको थिएँ। स्कुल बिदा भएको समय मिलाएर म सुटिङमा जान्थेँ। शुक्रबार दिउँसो १ बजे स्कुल बिदा भएपछि म पर्वततिर सुटिङका लागि हिँड्थेँ र शनिबार रातभर काम गरेर आइतबार बिहान स्कुल भ्याउने गरी फर्कन्थेँ।
स्कुल र सुटिङ सँगसँगै लैजाँदा मलाई दुई वर्ष निकै गाह्रो भयो। दशैं-तिहारको बिदा र शुक्रबार-शनिबारको समय सबै सुटिङमै बित्थ्यो। पछि सुवर्ण थापाले ‘मलामी’ नामक सर्ट फिल्म बनाउने भए र मलाई सहयोग गर्न आग्रह गरेपछि मैले त्यसमा पनि अभिनय गरेँ।
त्यसपछि मैले थुप्रै चलचित्रहरूमा काम गरेँ। खगेन्द्र लामिछानेको ‘टलकजङ्ग भर्सेस टुल्के’ हुँदै ‘पशुपति प्रसाद’, ‘छक्का पञ्जा’ का सिरिज र अहिले ‘गौँथली’ सम्म आइपुग्दा मैले थुप्रै चलचित्रहरूमा अभिनय गरिसकेको छु।
४६ सालको आन्दोलन र प्रहरीबाट बचेका प्रसङ्गहरू
वि.सं. २०४६ सालको आन्दोलनका समयमा नाटक गर्दै हिँड्दा म कहिल्यै पक्राउ परिनँ। धेरै पटक पक्राउ पर्ने अवस्था सिर्जना हुँदा पनि म भाग्न सफल भएँ।
कतिपय मानिसहरू नेता बन्नका लागि आफैँ गिरफ्तारी दिन्थे, म उनीहरूलाई गाली गर्थेँ। अहिले पनि त्यस्तै देखिन्छ, गिरफ्तारीको रेकर्ड देखाएर नेता बन्ने चलन छ। मैले ‘आफैँ पक्राउ परेपछि आन्दोलन कसरी सफल हुन्छ? बचेर आन्दोलन गर्नुपर्छ’ भन्थेँ। म आफैँ धेरै पटक प्रहरीको आँखा छलेर भागेको छु।
वि.सं. २०४०/४१ सालतिरको सत्याग्रहको कुरा हो। मलाई पर्चा-पम्प्लेट टाँस्ने जिम्मा दिइएको थियो। म फिल्मको पोस्टर टाँस्ने ठाउँमा चढेर पम्प्लेट टाँस्दै थिएँ, अचानक प्रहरी आइपुग्यो। प्रहरी देख्नेबित्तिकै मसँग भएका साथीहरू सबै भागे, म भने माथि नै अल्झिएँ।
प्रहरीले मलाई ‘को हो?’ भनेर सोध्यो। म पनि निकै हिम्मतवाला थिएँ, ‘म हो, पोस्टर टाँस्दै छु’ भनेँ। उनीहरूले ‘तल झर्, तल झर्’ भन्दै गर्दा म हतारहतार तल झरेर सिधै कुदेँ। प्रहरीले मलाई लखेट्यो, म बजारको गल्ली-गल्ली कुदेँ।

बजार पुगेपछि मैले आइडिया लगाएर टाउकोको टोपी फुकालेँ र लामो कपाल फिँजाएर बसेँ। प्रहरी कुद्दै मेरै छेउमा आयो र मलाई नै सोध्यो, ‘एउटा मान्छे यता दौडिएको देख्नुभयो?’ मैले ‘ऊ त्यता सिधै बाटोतिर दौडियो’ भनेर देखाइदिएँ। उनीहरू त्यता कुदे, म सजिलै घर फर्किएँ।
अर्को एउटा घटना पनि छ। तत्कालीन राजा वीरेन्द्रको पोखरा सवारी हुँदा म राति आन्दोलनको नेतृत्व गर्थेँ, नारा लगाउने र पोष्टरिङ गर्ने गर्थेँ। तर दिनमा भने राजाको स्वागतका लागि विद्यार्थीहरूलाई पीटी खेलाउन जान्थेँ।
यो कुरा तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले थाहा पाएछन् र मेरो पछि प्रहरी र सुराकी लगाए। स्याङ्जातिरका एकजना प्रहरी हवल्दारले मलाई सम्झाउँदै भने, ‘तपाईंले त्यस्तो आन्दोलन नगर्नुस्, यहाँ रिपोर्ट आएको छ।’
मैले झोक्किँदै भनेँ, ‘रिपोर्ट आएको छ भने मलाई पक्रेर लैजानुस्।’ उनले ‘तपाईं जस्तो भद्र मान्छेलाई कसरी पक्रिनु, मसँग प्रमाण पनि त छैन’ भन्दै टारे।
एकदिन त सिडिओको गाडीले मेरो घरसम्मै पिछा गर्यो। छिमेकीहरूले ‘तपाईंको पछि गाडी आएको छ’ भनेर सचेत गराए। गाडीबाट मानिसहरू झरेर मलाई केरकार गर्न थाले। मैले ‘म दिनभर स्कुलमा पढाएर थकित छु, अब सुत्छु, भोलि बिहान फेरि स्कुल जानु छ’ भनेपछि उनीहरू फर्किए।
अर्को एउटा स्मरणीय घटना छ। प्रहरीले हाम्रा आन्दोलनकारी साथीहरूलाई समातेर कुटपिट गरिरहेको थियो। स्याङ्जाका हाम्रा साथी कमल पगेनीलाई पनि प्रहरीले समात्यो।
कमल आफू पक्राउ पर्न चाहन्थे, तर म उनलाई छुटाउन चाहन्थेँ। मैले प्रहरीको हातबाट कमललाई झ्याप्प तानेर ‘भाग्’ भनेँ। उनी भागे, प्रहरीले लखेट्यो। भागदौडका क्रममा प्रहरी र हाम्रा साथीहरू तितरबितर भए र त्यहाँ एकजना मात्र प्रहरी बाँकी रहे।
हाम्रा ४-५ जना साथीहरूले ती एक्ला प्रहरीलाई घेरेर कुटपिट गर्न थाले। एकजनाले त ठूलो ढुङ्गाले प्रहार गर्नै लागेको थियो। ती प्रहरी ढलिसकेका थिए। मैले दौडेर गएर साथीको हातबाट ढुङ्गा खोसेर फाल्न लगाएँ र ती प्रहरीलाई उठाएर बाटो लगाइदिएँ।
आन्दोलनका क्रममा यस्ता धेरै घटना भए, तर मैले कहिल्यै पनि हिंसात्मक वा कुटपिटको बाटो रोजिनँ, सधैँ विचारमा विश्वास गरेँ।
साउन १, २०८३ शुक्रबार ११:५१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।