हरित बैंकिङ्ग प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स् बीच रणनीतिक साझेदारी
काठमाडौं : दिगो विकास र हरित बैंकिङ्ग अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेड र मिनर्जी इन्निसियटिभ्स् बीच रणनीतिक साझेदारी भएको छ।
यस साझेदारीले नेपालको बैंकिङ्ग क्षेत्रमा दिगो आर्थिक विकास र जलवायु उत्थानशील भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
साझेदारी सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इन्निसियटिभ्स्का अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरे।
साझेदारीको मुख्य उदेश्यहरूमा अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्ने, समुदायलाई बैंकको मापदण्ड अनुसार योग्य बनाउने र बैंकलाई पनि लक्षित समुदायको आवश्यकता बुझ्न सक्ने गरी क्षमता विस्तार गर्ने र क्षमता अभिवृद्धिका प्रयासहरूलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्ने रहेका छन्।
बैंकको दिगो बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले भने, ‘अन्तर्राष्ट्रिय जलवायु वित्तलाई स्थानीय उद्यमीसम्म पुर्याउन समुदायको यथार्थ अवस्था र बैंकिङ्ग जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्नु आवश्यक छ। यो साझेदारीले सोही उद्देश्य प्राप्तिका लागि काम गर्नेछ।’
कुमारी बैंकले आफ्ना २८६ शाखा, ३०४ एटीएम, ४० एक्स्टेन्सन काउन्टर र ४१ शाखारहित बैंकिङ्ग एकाइहरूसहितको देशभर फैलिएको सञ्जालमार्फत यो नवीन पहललाई देशव्यापी रूपमा कार्यान्वयनमा लैजाने जनाएको छ। स्वच्छ र जलवायु उत्थानशील भविष्यका लागि यो सहकार्यले हरित वित्तको क्षेत्रमा नयाँ उर्जा थप्ने अपेक्षा गरिएको छ।
साउन १, २०८३ शुक्रबार ०९:५३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।