फुटबल मात्र हैन पैसाको पनि महाकुम्भ : विश्वकपमा कसको गोजी भरियो, कसको रित्तियो?

फुटबल मात्र हैन पैसाको पनि महाकुम्भ : विश्वकपमा कसको गोजी भरियो, कसको रित्तियो?

न्युयोर्क : सन् २०२६ को विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठुलो प्रतियोगिता मात्र बनेन, यसले पैसाको पनि ठूलो हलचल गरायो।

मैदानमा खेलाडीहरूले जादु देखाइरहँदा मैदान बाहिर भने अर्बौं डलरको कारोबार भइरहेको छ। तर, यो महाकुम्भमा सबैले पैसा कमाएका छैनन्; कोही मालामाल भएका छन् भने कोही घाटामा छन्।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा यसपटक पनि सबैभन्दा ठूलो आर्थिक विजेता बनेको छ। सन् २०२२ को कतार विश्वकपबाट ७.६ अर्ब डलर कमाएको फिफाले यसपटक १३ अर्ब डलरको हाराहारीमा आम्दानी गर्ने अनुमान छ।

खेल प्रसारण अधिकार, विज्ञापन र टिकट बिक्रीबाट फिफाले अकल्पनीय आम्दानी गरेको छ। फिफाले आफ्नै टिकट पुनः बिक्री गर्ने ठाउँ बनाएर क्रेता र विक्रेता दुवैबाट १५ प्रतिशत शुल्क समेत असुलेको छ।

खेलका क्रममा दिइने ‘हाइड्रेसन ब्रेक’ विज्ञापनदाताका लागि सुनौलो मौका बन्यो।

अमेरिकामा मात्रै ३० सेकेन्डको विज्ञापनका लागि २ देखि ३ लाख डलरसम्म खर्च गरिएको छ। यो ब्रेकले विज्ञापनदाता र टिभी च्यानलहरूलाई अर्बौँको फाइदा पुर्याएको छ। एडिडास र कोकाकोला जस्ता ब्रान्डहरूले पनि यसबाट ठुलो बजार लिएका छन्।

अवकाश पाएको १० वर्षभन्दा बढी भइसक्दा पनि इंग्ल्याण्डका पूर्वखेलाडी डेभिड बेकह्याम व्यावसायिक रूपमा सबैभन्दा सफल देखिएका छन्।

उनी विभिन्न ठूला बैंक र कम्पनीका विज्ञापनमा मात्र देखिएनन्, उनले सह-स्वामित्व ग्रहण गरेको क्लब ‘इन्टर मियामी’को भ्यालु पनि १.४५ अर्ब डलर पुगेको छ। मैदान बाहिरको ‘व्यावसायिक खेल’ बेकह्यामले जितेका छन्।

यो विश्वकपमा सट्टेबाजीको नयाँ रेकर्ड कायम भएको छ। यसपटक झन्डै ५० अर्ब डलरको सट्टेबाजी हुने अनुमान गरिएको छ। खेलको सङ्ख्या बढेसँगै र अमेरिकामा खेलकुदमा सट्टेबाजी कानुनी बनेसँगै यी कम्पनीहरूले भरमार कमाउन सफल भए।

घाटा लाग्नेहरू को-को?
विश्वकप हेर्ने सपना बुनेका सर्वसाधारण फ्यानहरूका लागि यो प्रतियोगिता निकै महँगो साबित भयो।

माग बढ्दा टिकटको मूल्य आकासिने ‘डायनामिक प्राइसिङ’का कारण फ्यानहरू ठगिएका छन्। फाइनल खेलको रिसेल टिकट त २० लाख डलरसम्ममा बेचिएको पाइएको छ। यसबाहेक हवाई भाडा, खाना र होटलको चर्को शुल्कले फ्यानको गोजी रित्तिएको छ।

अमेरिका, क्यानडा र मेक्सिकोका १६ वटा आयोजक सहरहरूले विश्वकपले अर्थतन्त्र उकास्ने आशा गरेका थिए।

तर विज्ञहरूका अनुसार यसको दीर्घकालीन फाइदा निकै कम छ। विश्वकपको भीडभाडका कारण अन्य पर्यटकहरू ती सहरमा जान छाडेका छन्। रोजगारी सिर्जना भए पनि ती कम तलबका र अस्थायी मात्र छन्।

होटलहरूले सोचेजस्तो व्यापार गर्न सकेनन्। फिफाले आफ्ना लागि धेरै कोठाहरू पहिले नै ‘ब्लक’ गरिदिएको र पछि प्रयोग नगरेका कारण होटलहरूले घाटा बेहोर्नुपरेको व्यवसायीहरूको आरोप छ। अमेरिकाका धेरै सहरमा होटल बुकिङ अघिल्ला वर्षहरूभन्दा पनि कम देखिएको छ।

४८ टोली सहभागी भएको यो विश्वकपले फिफा र ठूला कर्पोरेट घरानालाई अझ धनी बनाएको छ, तर आम फुटबल फ्यान र स्थानीय साना व्यवसायीहरूका लागि भने यो निकै खर्चिलो र चुनौतीपूर्ण रह्यो।

साउन १, २०८३ शुक्रबार ०९:१४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।