एसएमएसमार्फत विपद्को पूर्वसूचना दिँदै नेपाल टेलिकम

एसएमएसमार्फत विपद्को पूर्वसूचना दिँदै नेपाल टेलिकम

काठमाडौं : नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमको पूर्व सूचना प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ। 

बिहीबार टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरिन्।

सम्झौता अनुसार देशभरका जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका प्रयोगकर्तालाई ११५५ सर्टकोड प्रयोग गरी एसएमएस मार्फत सम्भावित विपद्को पूर्व सूचना पठाइनेछ। वर्षा, हावाहुरी, चट्याङ, बाढी, पहिरो, हिमपात, तातो हावाको लहर (लु), शीतलहर र डढेलो जस्ता प्रकोपहरूको जानकारी दिइनेछ।

विपद्को पूर्व सूचना प्रभावकारी बनाउन विभागले टेलिकमलाई विभिन्न नदी तटीय क्षेत्र तथा जोखिमयुक्त क्षेत्र समेटिएको एसएमएस पोलिगन र नक्साहरू उपलब्ध गराउनेछ। विशेषगरी पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली र महाकाली लगायतका नदी तटीय क्षेत्रका बासिन्दालाई 'फ्ल्यास फ्लड' को जोखिमबारे सूचित गरिने विज्ञप्तिमा उल्लेख छ।

विगत २०७३ सालदेखि नै सञ्चालनमा रहेको यो सेवा टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपलब्ध गराउँदै आएको छ।  

असार ३२, २०८३ बिहीबार १४:२०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।