लुम्बिनीमा पनि समीकरण फेरबदलको संकेत, सरकारबाट बाहिरिने कांग्रेसको तयारी

लुम्बिनीमा पनि समीकरण फेरबदलको संकेत, सरकारबाट बाहिरिने कांग्रेसको तयारी

बुटवल : केन्द्रमा विकसित राजनीतिक समीकरणको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिन थालेको छ। नेपाली कांग्रेसले सरकारमा आफ्नो सहभागिता अन्त्य गर्ने संकेत दिएसँगै प्रदेशको सत्ता समीकरण फेरिने सम्भावना बलियो बनेको छ । 

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको बैठक बिहीबार बस्दैछ। बैठकले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा औपचारिक निर्णय गर्न सक्ने बताइएको छ।

कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संसदीय दलको बैठकपछि पार्टीको आगामी रणनीति स्पष्ट हुने बताए। "बैठकबाट सरकारमा रहने वा बाहिरिने विषयमा अन्तिम निर्णय गरिनेछ," उनले भने।

एमाले र कांग्रेसबीचको सहकार्यका आधारमा २०८१ साउन ७ गते चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसयता कांग्रेसका पाँच जना मन्त्री सरकारमा सहभागी छन्। तर केन्द्रमा दुई दलबीचको सहकार्य अन्त्य हुने निर्णयसँगै प्रदेश सरकार पनि त्यसको प्रत्यक्ष प्रभावमा परेको हो।

लुम्बिनी प्रदेश सभामा हाल ८७ मध्ये ८३ जना सांसद कायम छन्। एमालेका २९, कांग्रेसका २७ तथा नेकपाका १३ सांसद छन्। नेकपाका १३ सांसदमध्ये एक जना सभामुख रहेकाले मतदानमा सहभागी हुँदैनन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, जनमत पार्टीका ३, जनता समाजवादी पार्टी नेपालका २, जसपाका १, राष्ट्रिय जनमोर्चाका १ तथा एक स्वतन्त्र सांसद प्रदेश सभामा रहेका छन्।

कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकार जोगाउन एमालेले नयाँ सत्ता समीकरण निर्माणको प्रयास गर्ने देखिएको छ। विशेषगरी नेकपासँग सहकार्यको सम्भावनालाई एमालेले खुल्ला राखेको छ।

लुम्बिनी प्रदेश सरकारका मन्त्री तुलसी चौधरीले कांग्रेससँगको सहकार्य निरन्तर रहोस् भन्ने एमालेको चाहना भए पनि परिस्थिति बदलिए वैकल्पिक राजनीतिक सहकार्यतर्फ अघि बढ्न सकिने बताए। "कांग्रेस सरकारबाट बाहिरिए नेकपासँग सत्ता सहकार्यका लागि औपचारिक छलफल हुन सक्छ," उनले भने।

असार ३२, २०८३ बिहीबार १३:४०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।