सेयर धितो कर्जामा नयाँ नियम : वित्तीय रूपमा बलिया कम्पनीको सेयरमा ८० प्रतिशत सम्म ऋण पाइने

सेयर धितो कर्जामा नयाँ नियम : वित्तीय रूपमा बलिया कम्पनीको सेयरमा ८० प्रतिशत सम्म ऋण पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति अनुरूप सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) मा नयाँ र लचिलो व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

 केन्द्रीय बैंकले एक निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले कम्पनीको वित्तीय अवस्था र सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो।

नयाँ व्यवस्था अनुसार वित्तीय रूपमा उत्कृष्ट र सुशासन कायम गरेका कम्पनीहरूको सेयर धितो राखेर ऋण लिँदा विद्यमान सीमामा थप १० प्रतिशत बिन्दुसम्म सहुलियत पाइनेछ। हाल सेयरको प्रचलित बजार मूल्य वा १८० कार्यदिनको औसत मूल्यमध्ये जुन कम हुन्छ, त्यसको अधिकतम ७० प्रतिशतसम्म मात्र कर्जा पाइने व्यवस्था छ। अब भने बलिया कम्पनीहरूको हकमा यो सीमा बढेर ८० प्रतिशतसम्म पुग्न सक्नेछ।

राष्ट्र बैंकले संस्थाको सबलता मूल्याङ्कनका लागि विभिन्न स्पष्ट आधारहरु तय गरेको छ। नयाँ निर्देशन अनुसार, कुनै पनि सूचीकृत कम्पनीको सबलता मापन गर्दा उक्त संस्थाको चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, संस्था नाफामा रहेको अवस्था र लाभांश वितरणको इतिहासलाई मुख्य आधार बनाउनुपर्नेछ।

यसका साथै, कम्पनीको क्रेडिट रेटिङ, नियामकीय व्यवस्थाको पालना तथा नियमित रूपमा साधारणसभा सम्पन्न गरे/नगरेको अवस्थालाई समेत मूल्याङ्कनको आधार बनाउनु पर्ने व्यवस्था गरिएको छ।

यो प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन समेत दिएको छ  अब बैंकहरूले सेयर धितो कर्जा प्रवाह गर्दा अपनाइने मूल्याङ्कन विधि र प्रोडक्ट पेपर अनिवार्य रूपमा आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ। यसले गर्दा लगानीकर्ताहरूले कुन आधारमा कर्जाको सीमा तय भएको हो भन्ने स्पष्ट जानकारी पाउनेछन् 

राष्ट्र बैंकको यो नयाँ कदमले सेयर बजारमा सुशासन कायम गरेका र वित्तीय रूपमा बलिया कम्पनीहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। साथै, यसले सेयर धितो कर्जालाई थप सुरक्षित बनाउनुका साथै जोखिमका आधारमा कर्जाको मूल्य निर्धारण गर्ने प्रणालीलाई संस्थागत गर्ने विश्वास लिइएको छ।

असार ३२, २०८३ बिहीबार १२:०२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।