चार वर्षसम्म नियमित उडान नपाउँदा गौतमबुद्ध विमानस्थललाई खर्च धान्नै धौधौ

चार वर्षसम्म नियमित उडान नपाउँदा गौतमबुद्ध विमानस्थललाई खर्च धान्नै धौधौ

बुटवल : मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक रूपमा आत्मनिर्भर हुन सकेको छैन। 

४० अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू नियमित हुन नसक्दा हालसम्म आफ्नै आम्दानीबाट सञ्चालन खर्चसमेत धान्न सक्ने अवस्थामा छैन।

अत्याधुनिक पूर्वाधार र तीन किलोमिटर लामो धावनमार्गसहित भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ। तर, नीतिगत समन्वयको अभावमा अहिले लगभग ठप्प अवस्थामा रहँदा विमानस्थलको आम्दानी खुम्चिएको छ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वसँग प्रत्यक्ष जोड्ने, पश्चिम नेपालमा पर्यटन र व्यापार विस्तार गर्ने तथा क्षेत्रीय आर्थिक गतिविधिलाई गति दिने उद्देश्यसहित विमानस्थल निर्माण गरिएको थियो।

तर अन्तर्राष्ट्रिय उडान ठप्प जस्तै हुँदा वर्षेनी विमानस्थल घाटामै चलेको छ। चालु आर्थिक वर्षमा समेत विमानस्थलले आफ्नो सञ्चालन खर्च बराबरको आम्दानी जुटाउन सकेन।

विमानस्थल प्रशासनका अनुसार चालु आर्थिक वर्षको असार १० गते १५ करोड १४ लाख रुपैयाँ सञ्चालन खर्च भएको छ। यो खर्चमा कर्मचारीको तलब, भत्ता र अन्य सेवा सुविधा बाहेकको हो।

१० गतेसम्म १९ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको भए पनि कर्मचारीको तलब, भत्ता, अन्य खर्चका शीर्षकहरू जोड्दा विमानस्थल अझै घाटामै सञ्चालन भइरहेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू स्वीकार गर्छन्।

विमानस्थलका प्रवक्ता कुमार सुजाखूका अनुसार अहिले देखिएको आम्दानीले सञ्चालन खर्चको केही हिस्सा धाने पनि कर्मचारीको सेवा सुविधासहितको खर्च जोड्ने हो भने विमानस्थल घाटामै रहेको छ।

चार वर्षमा ६९ हजार यात्रु मात्रै
२०७९ जेठ २ गते औपचारिक उद्घाटन भएको विमानस्थलमा अहिलेसम्म नियमित उडान भएको छैन। सन् २०२२ देखि २०२६ को मे महिनासम्म यहाँबाट एक हजार २१८ अन्तर्राष्ट्रिय उडान भए पनि ६९ हजार ३१६ यात्रुले मात्रै सेवा लिएका छन्। सन २०२३ मा यात्रु संख्या चार हजार ७५१ मा झरेको थियो।

सन २०२५ मा १९ हजार ५९० पुगे पनि विमानस्थलको क्षमता र लगानीको तुलनामा यो निकै न्यून मानिन्छ। चालु वर्षको मे महिनासम्म भने चार हजार १५३ यात्रुले मात्रै अन्तर्राष्ट्रिय उडान गरेका छन्।

पछिल्लो पटक थाई एयर एसियाले बैंकक-भैरहवा-बैंककरुटमा नियमित उडान सञ्चालन गरे पनि ‘विन्टर सिड्युल’ समाप्त भएपछि सेवा रोकिएको छ। त्यसयता अन्तर्राष्ट्रिय टर्मिनल भवन, एप्रोन र ट्याक्सी-वे अधिकांश समय सुनसान देखिन्छ।

विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार समस्या पूर्वाधारमा नभई नीतिगत निर्णय र व्यवस्थापनमा छ। "अत्याधुनिक टर्मिनल भवन, अध्यागमन सेवा, एक्स-रे मेसिन, आधुनिक ब्यागेज प्रणाली, तीन किलोमिटर लामो धावनमार्ग सबै तयारी अवस्थामा छन्। यहाँ मुख्य चुनौती पूर्वाधार होइन, यात्रु व्यवस्थापन र सरकारी नीतिगत समन्वयको अभाव हो," उनले भने।

उनका अनुसार भैरहवाबाट नियमित उडानका लागि एयरलाइन्स, ट्राभल एजेन्सी, अन्तर्राष्ट्रिय एयरलाइन्सका जनरल सेल्स एजेन्ट (जीएसए) र म्यानपावर कम्पनीबीच प्रभावकारी समन्वय हुन सकेको छैन। अहिले पनि वैदेशिक रोजगारीमा जाने धेरै श्रमिक श्रम स्वीकृतिका लागि काठमाडौं धाउन बाध्य छन्।

असार ३२, २०८३ बिहीबार ०९:२८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।