बुटवलमा प्रहरीको ‘अपरेशन चार्ली’, नक्कली नोट छाप्ने उपकरणसहित ६ जनाको गिरोह पक्राउ

बुटवलमा प्रहरीको ‘अपरेशन चार्ली’, नक्कली नोट छाप्ने उपकरणसहित ६ जनाको गिरोह पक्राउ

बुटवल : बुटवलमा नक्कली नेपाली नोट उत्पादन तथा कारोबारमा संलग्न एक संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले सञ्चालन गरेको विशेष अपरेशनमा ६ जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूको साथबाट नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने उपकरण बरामद गरेको हो।

कसरी खुल्यो रहस्य?

प्रहरीका अनुसार घटनाको सुरुवात असार २६ गते भएको थियो। गंगा कुमारी पूर्वछानेले एक परिचित महिलामार्फत पीडितलाई क्यूआर कोडबाटदुई हजार एक सय रुपैयाँ पठाउन लगाएकी थिइन्। त्यसको साटोमा उनले पीडितलाई एक हजार दरका दुई थान र एक सयको एक थान नोट दिइन्। पछि तीमध्ये एक हजारका दुवै नोटको सिरियल नम्बर एउटै भएको र ती नक्कली भएको खुलेपछि पीडितले असार २८ गते इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए।

उक्त निवेदनपछि प्रहरीले ‘अपरेशन चार्ली’ सञ्चालन गरी अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा बुटवल–११ शृजनानगरकी ३६ वर्षीया गंगा कुमारी पूर्वछानेलाई पक्राउ गरिएको थियो। उनको घरमा खानतलासी गर्दा एक हजार रुपैयाँ दरका १०३ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, अनुसन्धानकै क्रममा प्रहरीले कास्कीको पोखरा महानगरपालिका–१ का कृष्ण भन्ने किरण कृष्ण तिवारीलाई पनि पक्राउ गरेको छ। उनको साथबाट थप ४७८ थान एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानका क्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का रामचन्द्र खत्रीको समेत संलग्नता पुष्टि भएपछि उनलाई पनि पक्राउ गरिएको थियो। प्रहरी अनुसन्धानका क्रममा रामचन्द्र खत्रीले बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित वालकुमारी घर्ती मगरको घरमा दुईवटा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने केन्द्र सञ्चालन गरेको खुलेको थियो। असार २९ गते उक्त स्थानमा छापा मार्दा प्रहरीले नोट छाप्ने मेसिनसहित ठूलो परिमाणमा सामग्री बरामद गरेको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का संजय थारु, दोलखाको सैलुङ गाउँपालिका–४ निवासी ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुढी भक्तिनगर थाना निवासी ४९ वर्षीय बासुमित्र आनन्दलाई पनि पक्राउ गरेको छ।

छापाका क्रममा एक हजार रुपैयाँ दरका ६२२ थान नक्कली नेपाली नोट, फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, नोट काट्ने मेसिन, प्रिन्टर, नोट छाप्न प्रयोग हुने विशेष कागज, लेमिनेसन मेसिन, विभिन्न रसायन, प्लास्टिक पेपर तथा ६ थान मोबाइल फोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीविरुद्ध मुद्रा सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

असार ३१, २०८३ बुधबार १८:०३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।