करार कर्मचारी नहटाउन सरकारलाई सांसद राजेन्द्र राईको आग्रह

करार कर्मचारी नहटाउन सरकारलाई सांसद राजेन्द्र राईको आग्रह

काठमाडौं : एमालेका सांसद राजेन्द्र कुमार राईले वर्षौँदेखि सेवामा कार्यरत करार तथा अस्थायी कर्मचारीहरूलाई सेवाबाट नहटाउन सरकारसँग आग्रह गरेका छन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद राईले अर्थ मन्त्रालय अगाडि आन्दोलित कर्मचारीहरूसँगको आफ्नो संवाद उद्धृत गर्दै उनीहरूको रोजगारी सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराए।

"उहाँहरूले आफ्नो जिन्दगीको महत्त्वपूर्ण समय करार र अस्थायी कर्मचारीका रूपमा राज्य र जनताको सेवामा बिताउनुभएको छ," सांसद राईले भने, "तर मुलुक बनाउने दाबीका साथ आएको नयाँ सरकारले उहाँहरूलाई सेवाबाट निष्कासन गर्ने तयारी गरिरहेको बुझिएको छ। यसले ती कर्मचारी र उनीहरूको परिवारको जीवन बर्बाद बनाउने निश्चित छ।"

सांसद राईले दैनिक हजारौँ युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेको अवस्थामा स्वदेशमै न्यून पारिश्रमिकमा देश र जनताको सेवा गरिरहेकाहरूको रोजगारी खोस्न नहुने तर्क गरे।

उनले भने, "अहिलेको सरकारलाई म सभामुखमार्फत निवेदन गर्न चाहन्छु, उहाँहरूलाई निकाल्नु हुँदैन। उहाँहरूको जीवन यही ठाउँमा बितेको छ। थुप्रै मानिसहरू रोजगारीको खोजीमा विदेश गइरहेको बेला यहीँ रोजगारी पाइरहेका दाजुभाइलाई नै निकाल्न थाल्यौं भने परिस्थिति झन् जटिल बन्छ।"

विगतमा बिना तयारी सुकुम्बासीहरूलाई हटाउँदा राज्यले अहिले ठूलो समस्या भोग्नुपरेको उदाहरण दिँदै उनले सरकारलाई सचेत गराए। पर्याप्त तयारी र विकल्पविना करारका कर्मचारीहरूलाई हटाएमा देशमा झन् जटिल र भयावह स्थिति निम्तिने उनले चेतावनी दिए।

उनले सभामुखमार्फत सरकारलाई आग्रह गर्दै आफ्नो जीवनको ऊर्जावान् समय राज्य सेवामा बिताएका कर्मचारीहरूको रोजगारी र भविष्यको रक्षा गर्न माग गरेका छन्।

असार ३१, २०८३ बुधबार १४:४६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।