इरान युद्ध र कमजोर आन्तरिक मागले चीनको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा खुम्चियो, निर्यातमा भने उछाल

इरान युद्ध र कमजोर आन्तरिक मागले चीनको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा खुम्चियो, निर्यातमा भने उछाल

एजेन्सी : कमजोर आन्तरिक माग र इरान युद्धका कारण इन्धनको मूल्यमा परेको नकारात्मक प्रभावका कारण अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासमा चीनको आर्थिक वृद्धिदर निकै सुस्त देखिएको छ।

बलियो निर्यातका बाबजुद घरेलु बजार सुस्त हुँदा चिनियाँ अर्थतन्त्र दबाबमा परेको सरकारी तथ्यांकले देखाएको छ।

बुधबार सार्वजनिक गरिएको आधिकारिक कुल गार्हस्थ्य उत्पादनको तथ्याङ्क अनुसार विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले दोस्रो त्रैमासमा ४.३ प्रतिशतको मात्र आर्थिक वृद्धि हासिल गरेको छ। यो बेइजिङले तय गरेको वार्षिक लक्ष्यभन्दा कम हो। यसअघि पहिलो त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ५ प्रतिशत रहेको थियो। 

गत फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएपछिको यो पहिलो पूर्ण त्रैमासिक जीडीपी तथ्याङ्क हो। सन् २०२२ को अन्त्यमा कोभिड-१९ प्रतिबन्धहरू हटेयताकै चीनले हासिल गरेको सबैभन्दा न्यून त्रैमासिक वृद्धि समेत हो।

चीनको राष्ट्रिय तथ्याङ्क विभागले एक विज्ञप्ति जारी गर्दै भनेको छ, "अहिले बाह्य अस्थिरता र अनिश्चितताका कारकहरू बढ्दै गएका छन्।"

विभागले चिनियाँ अर्थतन्त्रमा बलियो आपूर्ति र कमजोर मागबीच असन्तुलन रहेको कुरालाई समेत स्वीकार गरेको छ।

बुधबार नै सार्वजनिक गरिएका अन्य छुट्टाछुट्टै तथ्याङ्कहरूले पनि चीनले घरेलु स्तरमा सामना गरिरहेका गम्भीर आर्थिक चुनौतीहरूलाई उजागर गरेका छन्। जसमा लामो समयदेखि सुस्त रहेको घरजग्गा बजारमा अझै सुधार हुन सकेको छैन।

जुन महिनामा नयाँ घरको मूल्य ०.१ प्रतिशतले घटेको छ, यद्यपि यो गिरावट अघिल्लो महिनाको तुलनामा केही कम हो।

यद्यपि, उपभोक्ता खर्चमा भने केही सुधार देखिएको छ। मे महिनामा ०.६ प्रतिशतले घटेको खुद्रा बिक्री जुन महिनामा १ प्रतिशतले बढेको छ।

निर्यात क्षेत्रमा उछाल 

घरेलु बजार सुस्त रहे पनि चीनको वैदेशिक व्यापार भने निकै बलियो देखिएको छ। मंगलबार सार्वजनिक भन्सार तथ्याङ्क अनुसार, अघिल्लो वर्षको तुलनामा जुन महिनामा चीनको निर्यात २७ प्रतिशतले बढेको छ।

विशेष गरी, आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक पर्ने सेमिकन्डक्टर (चिप) को बढ्दो विश्वव्यापी मागले चीनको प्रविधि निर्यातलाई ठूलो योगदान पुगेको छ। यसका साथै, जुन महिनामा पहिलो पटक चीनबाट एक महिनामै १० लाखभन्दा बढी सवारीसाधन निर्यात भएको सरकारी तथ्यांकले देखाएको छ।

यसअघि मार्च महिनामा चीनले आफ्नो आर्थिक वृद्धिको लक्ष्यलाई घटाएर ४.५ प्रतिशतदेखि ५ प्रतिशतको दायरामा राखेको थियो। यो सन् १९९१ यताकै सबैभन्दा न्यून आर्थिक लक्ष्य हो।

निर्यात क्षेत्रले राम्रो प्रदर्शन गरे पनि कमजोर घरेलु माग, सुस्त घरजग्गा बजार र बाह्य भू–राजनीतिक चुनौतीका कारण चीनको आर्थिक पुनरुत्थान अझै दबाबमा रहने विश्लेषकहरू बताएका छन्।

असार ३१, २०८३ बुधबार १३:०४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।