एमाले उपाध्यक्ष विष्णुसँग जोडिएका शशीमाथि ४८ करोड ऋण अपचलनको आरोप

एमाले उपाध्यक्ष विष्णुसँग जोडिएका शशीमाथि ४८ करोड ऋण अपचलनको आरोप

बुटवल : एसियन भिलेज रिसोर्ट प्रालिका लागि शशिधर शर्मा (शशी शर्मा पौडेल) ले रिसोर्ट निर्माण र जग्गा खरिद प्रयोजनका प्रभु बैंक लिमिटेडबाट करिब ४८ करोड रुपैयाँ कर्जा लिएका थिए।

नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको अनुगमनमा कर्जा स्वीकृत गर्दा बैंकको नाममा जग्गा दृष्टिबन्धक नराखी पछि दृष्टिबन्धक गर्ने कबुलियतनामा गरिएको तथा कर्जा रकम कम्पनी अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा समूहसँग आबद्ध अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरिएको देखिएपछि उनी मंगलबार पक्राउ परे।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बैंकको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा आधारमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत शर्मालाई पक्राउ गरिएको हो।

कर्जा रकमको दुरुपयोग गरी बैंकिङ कसुर तथा सजाय ऐनको दफा ८ विपरीत कार्य भएको निष्कर्ष प्रहरीको छ। नेपाल राष्ट्र बैंकको पत्राचारपछि अनुसन्धान थालेको सीआईबीले उच्च अदालत पाटनबाट अनुमति लिएर मंगलबार काठमाडौं महानगरपालिका-९ पिंगलास्थानबाट ५८ वर्षीय शर्मालाई पक्राउ गरेको हो।

शर्मा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी हुन्। उनले रुपन्देहीको तिलोत्तमा-१४ टिकुलीगढमा रहेको लुम्बिनी एग्रो प्रोडक्ट्स एन्ड रिसर्च सेन्टर प्रालि समेत सञ्चालन गर्दै आएका छन्।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि हिरासतमा रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलसँग समेत शर्मा जोडिएका छन्। पौडेलले आफ्नो रकम शर्मामार्फत व्यवस्थापन गर्ने गरेको शंकामा उनको लुम्बिनी एग्रोमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको थियो।

विभागले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। विभागले उनीमाथि अनुसन्धानका लागि अदालतबाट पटक-पटक म्याद थप गराउँदै आएको छ।

असार ३०, २०८३ मंगलबार २२:१५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।