हुण्डाई नेक्स्ट जेन कपको विजेता टिम भेन्यु

हुण्डाई नेक्स्ट जेन कपको विजेता टिम भेन्यु

काठमाडौं : नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले 'हुण्डाई नेक्स्ट जेन कप' फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ।

ललितपुरस्थित च्यासल मैदानमा आयोजित उक्त एकदिने प्रतियोगितामा १६ वर्षमुनिका युवा खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

एजी१० एकेडेमीसँगको सहकार्यमा आयोजित यस प्रतियोगितामा हुण्डाईका विभिन्न कार मोडेलका नाममा आठवटा टोलीहरू- टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनीक ५, टिम एक्स्ट्रा, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई-१० नियोस र टिम पालिसेडबीच प्रतिस्पर्धा भएको थियो। फाइनलमा 'टिम क्रेटा इलेक्ट्रिक'लाई पराजित गर्दै 'टिम भेन्यु' ले उपाधि चुम्न सफल भयो।

फिफा विश्वकप २०२६ को आधिकारिक पार्टनर रहेको हुण्डाईले आफ्नो विश्वव्यापी ब्रान्ड भिजन ‘नेक्स्ट स्टार्ट्स नाउ’ अन्तर्गत नेपालमा ग्रासरुट फुटबलको विकासका लागि यो पहल गरेको हो। प्रतियोगितामा कुल ८० जना युवा खेलाडीहरूले आफ्नो कौशल प्रदर्शन गर्ने अवसर पाएका थिए।

कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एवं एजी१० एकेडेमीका निर्देशक अनिल गुरुङले भने, ‘नेपालमा प्रतिभाको अभाव कहिल्यै थिएन, अभाव केवल अवसरको थियो। यस्ता प्रतियोगिताले युवा खेलाडीहरूलाई ठूलो सपना देख्ने आत्मविश्वास प्रदान गर्दछ।’

हुण्डाई नेपालले ग्रासरुट फुटबलको दिगो विकास र भावी पुस्ताका खेलाडीहरूलाई प्रोत्साहन गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

खेलकुदको माध्यमबाट सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले नेपाली फुटबलको भविष्यलाई थप बलियो बनाउने विश्वास लिइएको छ।

असार ३०, २०८३ मंगलबार ०९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।