बाढीले डुबेको सुकुमबासी होल्डिङ सेन्टरमा पुग्ने अगुवा थर्काउँदै बालेन टिमका सदस्य ओजस्वी
काठमाडौं : गृहमन्त्रीको प्रतिनिधि बनेर कीर्तिपुरको होल्डिङ सेन्टर पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य ओजस्वी थापाले प्रहरीसँग मिलेर होल्डिङ सेन्टर पुगेका अभियन्ताहरूलाई बाहिर निकाल्ने र हातपात गर्ने घटनामा संलग्न देखिएका छन्।
कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी पसेर सुकुमबासीहरुको बिजोग भएपछि सरोकारवालाहरू सो सेन्टरमा पुगेका थिए। सेल्टर बाहिर पुगेका जेनजी आन्दोलनका अगुवा मजिद अन्सारीमाथि प्रहरीले धरपकड गर्दै लछारपछार पार्दै पक्राउ गरेको थियो। उनको अनुहार लगायतका स्थानका चोट लागेको छ।
होल्डिङ सेन्टरमा भूमि आयोगका पूर्व उपाध्यक्ष नहेन्द्र खड्कासहितको समूह समेत पुगेको थियो। खड्काले नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह भएको तारा अंकित टोपी लगाएर गएको आधारमा खड्काले उहाँलाई वाइसिएल चाहियो रे भनेर प्रहरीको अगाडि धकेल्दै उनको टाउकोमा रहेको टोपी हुत्याएर झारी दिएका थिए।
यी सबै घटनाहुँदा वरिपरि प्रहरीहरू ठूलो सङ्ख्यामा थिए। खड्का प्रहरीकै घेरामा बसेर खड्कासहितलाई धम्क्याइरहेका थिए। उनले राजनीति नगर्न भन्दै उनीहरूलाई धम्क्याउन थालेपछि प्रहरीले खड्कासहितको समूहलाई धकेलेर होल्डिङ सेन्टर बाहिर निकालेको थियो।
शनिवार बिहानैबाट होल्डिङ सेन्टरमा रहेका दलमर्दन कामीका अनुसार थापा बिहानैबाट होल्डिङ सेन्टरमा आएर त्यहाँ बिचल्लीमा परेका सुकुमबासीहरुलाई जागिर दिने लगायतका प्रलोभन दिएर बाहिर निस्कन फकाइरहेका थिए।
“गृह मन्त्रालयको प्रतिनिधि हुँ भन्दै आएका ओजस्वी थापाले ७०-८० वर्षका बृद्धहरुलाई जागिर दिलाउँला होल्डिङ सेन्टर छाड्नु भन्दै फकाइरहेका थिए,” दलमर्दनले भने “बाढीले बिचल्लीमा परेकाहरूको उद्धार र उनीहरूको व्यवस्थापनको सट्टा ८० वर्षका बृद्धहरुलाई के जागिर दिने होला!”
थापा जेनजी आन्दोलनपछि निरन्तर गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहसँग देखिँदै आएका छन्। उनले आफूलाई गृह मन्त्रालयको प्रतिनिधिको रूपमा परिचय दिने गरे पनि मन्त्रालयमा उनको औपचारिक पद के हो सार्वजनिक भएको छैन। उनी वालेन्द्र समूहबाटै रास्वपाको केन्द्रीय सदस्यमा नियुक्त भएका थिए। मधेस र वालेन्द्र समूहबाट रास्वपामा नियुक्त भएका केन्द्रीय सदस्यहरूले शपथ लिँदा उनी पनि सहभागी थिए।
उता प्रहरीले होल्डिङ सेन्टर बाहिर पुगेका जेनजी प्रतिनिधासहितलाई सुकुमबासी भड्काउने प्रयास गरेको आरोपमा नियन्त्रणमा लिएको छ। प्रहरीले मजिदसहित भूमि आयोगका पूर्व उपाध्यक्ष नहेन्द्र खड्कालाई समेत नियन्त्रणमा लिएर कीर्तिपुर प्रहरी कार्यालयमा राखेको थियो। अनुहारमा चोट लागेका मजिदलाई प्रहरीले शिक्षण अस्पताल पूर्याएको छ।
असार २७, २०८३ शनिबार २२:४९:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।