३२ वर्षीया गर्भवती महिलाले डा. कवितालाई भनिन्- डाक्टरसाप मलाई बचाइदिनुस् है, नत्र छोराछोरी बिपत्ता हुन्छन्

३२ वर्षीया गर्भवती महिलाले डा. कवितालाई भनिन्- डाक्टरसाप मलाई बचाइदिनुस् है, नत्र छोराछोरी बिपत्ता हुन्छन्

डा. कविता सिन्हा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। चिकित्सा पेशालाई नै आफ्नो संसार बनाएकी उनले अनगिन्ती बिरामीका आँसु र मुस्कानलाई नजिकबाट नियालेकी छन्।

बिरामीले भोग्नुपरेका पीडा र जीवन-मरणको दोसाँधलाई महसुस गरेकी उनै डा. कविताले आफ्नो चिकित्सकीय यात्राका केही अविस्मरणीय आरोह-अवरोहहरू ‘उकेरा’सँग यसरी साटेकी छन्:

जब मृत्युको मुखमा पुगेकी आमाले सन्तान सम्झिइन्...
डा. कविताको मानसपटलमा एउटा प्रसंग अझै ताजा छ, जुन करिब ६ महिना अघिको हो। ३२ वर्षकी एक गर्भवती महिलालाई पेट दुखाइको गम्भीर समस्या भएपछि नेपालगञ्ज मेडिकल कलेज (कोहलपुर) पुर्याइएको थियो।

उनका दुई साना छोराछोरी थिए र उनी तेस्रो सन्तानको पर्खाइमा थिइन्। घरको आर्थिक भविष्य सुधार्ने सपना बोकेर उनका श्रीमान् भर्खरै परदेश लागेका थिए। त्यसैले परिवारका अन्य सदस्यले उनलाई अस्पताल ल्याएका थिए।

अस्पताल पुग्दा ती महिलाको अवस्था निकै नाजुक थियो। डा. कविताले तत्कालै स्वास्थ्य जाँच र भिडियो एक्स-रे गरिन्। परीक्षणबाट पत्ता लाग्यो- भ्रूण पाठेघरमा नभई पाठेघरबाहिरको नलीमा बसेको रहेछ।

त्यो नली फुटेर पेटभित्र तीव्र आन्तरिक रक्तश्राव भइरहेको थियो। चिकित्सकीय भाषामा यसलाई ‘एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ।

शारीरिक पीडाले छटपटाएकी ती महिलालाई आफ्नो भन्दा बढी चिन्ता सन्तानको थियो। अर्धचेत अवस्थामा उनले डा. कविताको हात समात्दै भनिन्, ‘डाक्टरसाप, मलाई जसरी पनि बचाइदिनुस् न, म मरेँ भने मेरा छोराछोरी बिपत्ता हुन्छन्।’

पाँच वर्षभन्दा कम उमेरका सन्तानका लागि ती आमाले गरेको त्यो पुकारले डा. कविताको मन छोयो। ढिला नगरी चिकित्सकको टोलीले उनलाई अपरेसन थिएटरमा लग्यो। शल्यक्रिया सफल भयो र उनलाई मृत्युको मुखबाट फर्काउन डाक्टरहरू सफल भए।

निको भएर घर फर्कने बेला ती महिला भावुक हुँदै भनिन्, ‘डाक्टरसाप, तपाईंले मलाई पुनर्जन्म दिनुभयो। तपाईंले गर्दा नै मेरा छोराछोरीले आमा भन्न पाए। यो गुन म कसरी तिरूँ?’ ती कृतज्ञ शब्द सम्झिँदा डा. कविता अहिले पनि भावुक हुन्छिन्, गौरव गर्छिन्।

हवाईजहाजबाट उद्धार गरिएकी हुम्ली सुत्केरीको कथा
केही महिना अघिको अर्को घटना पनि उनको मनमा गढेर बसेको छ। हुम्लाकी २४ वर्षीया एक गर्भवती महिला सुत्केरी व्यथाले निकै थलिएकी थिइन्।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई हवाईजहाजमार्फत कोहलपुरको नेपालगञ्ज मेडिकल कलेज रिफर गरियो। त्यहाँका चिकित्सकले शल्यक्रिया नगरी सुखै छैन भनेर पठाएका थिए।

तर, डा. कविताको टोलीले धैर्यतापूर्वक ती महिलाको अवस्था जाँच्यो र चिकित्सकीय विधि अपनाएर प्रयास थाल्यो। अन्ततः शल्यक्रिया गर्नै परेन। औषधिको सहायताले नै सामान्य ढंगबाट सुत्केरी गराउन टोली सफल भयो।

दुई दिनपछि ती आमा आफ्नो नवजात शिशुलाई काखमा च्यापेर मुस्कुराउँदै घर फर्किइन्। त्यो दृश्यले डा. कवितालाई ठूलो आत्मसन्तुष्टि दियो।

जोडले साल तान्दा उल्टिएको पाठेघर
अर्को एउटा संवेदनशील घटनामा डा. कविताले २० वर्षीया सुत्केरीको ज्यान जोगाएकी थिइन्। ती महिलाले स्थानीय स्वास्थ्य चौकीमा पहिलो सन्तानलाई जन्म दिएकी थिइन्।

तर, बच्चा जन्मिएपछि असावधानीवश जोडले ‘साल’ तानिएछ। जसका कारण उनको पाठेघर नै उल्टिएर बाहिर निस्कियो। यसलाई चिकित्सकीय भाषामा ‘युटेराइन इन्भर्जन’ भनिन्छ।

पाठेघर उल्टिएपछि अत्यधिक रक्तश्राव भई ती महिलाको ज्यान जोखिममा थियो। तर, उनलाई समयमै कोहलपुर पुर्याइयो।

डा. कविताको टोलीले शल्यक्रिया बिना नै विशेष चिकित्सकीय विधिबाट पाठेघरलाई सही ठाउँमा फर्काउन सफल भयो। यसरी ती सुत्केरीको ज्यान बच्यो।

सुत्केरी अवस्थामा हुने यस्ता जोखिमप्रति सजग रहन र अनुभवी स्वास्थ्यकर्मीबाट मात्र सेवा लिन डा. कविता सुझाव दिन्छिन्।

डाक्टरी सपना र व्यावसायिक यात्रा
सर्लाहीको बलरामा जन्मिएकी कविता सिन्हा सानैदेखि पढाइमा मेधावी थिइन्। बुवा सरकारी जागिरे भएकाले उनको शिक्षा विभिन्न ठाउँमा भयो।

सात कक्षासम्म काठमाडौंमा पढेकी उनले पाल्पाको न्यू होराइजन स्कुलबाट २०५५ सालमा एसएलसी उत्तीर्ण गरिन्। त्यसपछि काठमाडौंको भीएस निकेतनबाट प्लस-टु सकेकी उनले बुवाको इच्छा र आफ्नै चाहना अनुसार डाक्टरी पढ्ने निधो गरिन्।

सन् २००१ मा काठमाडौं मेडिकल कलेजमा एमबीबीएस भर्ना भएकी उनले २००६ मा इन्टर्नसिपसहित अध्ययन पूरा गरिन्।

केही वर्ष मेडिकल अधिकृतका रूपमा काम गरेपछि उनलाई प्रसूति तथा स्त्री रोग विषयमा विज्ञता हासिल गर्ने इच्छा भयो। सन् २०१२ मा नेपालगञ्ज मेडिकल कलेज (कोहलपुर) बाट एमडी सुरु गरेकी उनले २०१५ मा विशेषज्ञता हासिल गरिन्।

विगत ११ वर्षदेखि उनी सोही मेडिकल कलेजमा कार्यरत छिन्। लेक्चररबाट सुरु भएको उनको यात्रा अहिले एशोसियट प्रोफेसरसम्म पुगेको छ। बिरामीको उपचार, विद्यार्थीलाई अध्यापन र चिकित्सा क्षेत्रमा अनुसन्धान गर्नु नै उनको दैनिक तालिका हो।

मातृ मृत्युदरमा कम गराउने लक्ष्य
नेपालमा मातृ मृत्युदर कसरी घटाउन सकिन्छ भन्ने विषयमा डा. कविता विशेष चिन्तित र सक्रिय छिन्।

यस विषयमा जनचेतना फैलाउन र गाउँ-गाउँमा पुगेर स्वास्थ्य शिविरमार्फत महिलाहरूको स्वास्थ्य समस्या पहिचान गर्न उनी समय खर्चिन्छिन्।

असुरक्षित गर्भपतनले महिलाको ज्यान जोखिममा परिरहेको देख्दा उनी दुःखी हुन्छिन् र जथाभाबी औषधि सेवन नगर्न सल्लाह दिन्छिन्।

उनका श्रीमान् पनि चिकित्सक नै हुन्। दुई छोरी र सहयोगी परिवार भएकाले नै आफूलाई यस चुनौतीपूर्ण पेशामा अगाडि बढ्न सहज भएको उनी बताउँछिन्।

‘महिलाको ज्यान जोगाउन पाउनु नै मेरो पेशाको सबैभन्दा ठूलो कमाइ हो’, डा. कविता मुस्कुराउँदै भन्छिन्।

असार २७, २०८३ शनिबार १५:१७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।