यूएईका लगानीकर्तासँग ढकालको आग्रह : 'नेपालमा लगानीको उपयुक्त समय यही हो'

यूएईका लगानीकर्तासँग ढकालको आग्रह : 'नेपालमा लगानीको उपयुक्त समय यही हो'

काठमाडौं : आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्ताहरूलाई नेपालको जलविद्युत्, पर्यटन र पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न आह्वान गरेका छन्।

यूएईका विदेश व्यापार मन्त्री डा. थानी अहमद अल जेयौदी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा चन्द्रागिरिमा आयोजित रात्रिभोजमा ढकालले नेपालमा लगानीका लागि अहिले उपयुक्त समय भएको बताए। उनले नेपाल र यूएईबीचको आर्थिक सम्बन्धलाई अब श्रम र विप्रेषण (रेमिट्यान्स) मा मात्र सीमित नराखी व्यापार, नवप्रवर्तन र संयुक्त लगानीमा केन्द्रित गर्नुपर्नेमा जोड दिए।

आगामी सन् २०२७ मा दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्ने सन्दर्भ उल्लेख गर्दै ढकालले द्विपक्षीय लगानी सम्झौता, दोहोरो कर मुक्ति सम्झौता र व्यापक आर्थिक साझेदारी सम्झौतासम्बन्धी छलफल सकारात्मक रूपमा अघि बढेको जानकारी दिए। यी सम्झौताले लगानीकर्ताको विश्वास बढाउने उनको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष ढकालले नेपालमा विशेषगरी जलविद्युत्, पर्यटन, डिजिटल भुक्तानी, वित्तीय प्रविधि, सहरी पूर्वाधार र कृषि क्षेत्रमा उल्लेखनीय अवसर रहेको बताए। उनले भने, "नेपाल तयार छ। अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय हो।"

आईएमई ग्रुपले यूएईका वित्तीय संस्थाहरूसँग लामो समयदेखि सहकार्य गरिरहेको चर्चा गर्दै उनले आगामी दिनमा पर्यटन पूर्वाधार, केबलकार र मनोरञ्जन पूर्वाधारमा समेत संयुक्त लगानीको सम्भावना रहेको औँल्याए।

असार २६, २०८३ शुक्रबार १८:२९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।