स्टार्टअप वर्ल्ड कपका लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच समझदारी
काठमाडौं : नेपाली स्टार्टअपहरूलाई विश्वव्यापी मञ्चमा पुर्याई लगानीका अवसरहरूसँग जोड्ने उद्देश्यले ‘स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६’ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी भएको छ।
शुक्रबार दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भयो। सम्झौताअनुसार क्यान महासंघ यस वैश्विक प्रतिस्पर्धाको ‘स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर’का रूपमा रहनेछ। समझदारी पत्रमा द ब्रिटिश कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरे।
काठमाडौं उपत्यका बाहिरका विभिन्न प्रदेशहरूमा समेत स्टार्टअपहरूको पहिचान गर्न स्थानीय स्तरका प्रतियोगिताहरू सञ्चालन गरिनेछ। नवप्रवर्तनकारी सोच भएका उद्यमीहरूलाई पुँजी, मेन्टरसिप र लगानीकर्ताहरूसँग जोड्न यो पहल केन्द्रित रहने बताइएको छ।
पेगासस टेक भेन्चर्सको विश्वव्यापी कार्यक्रम ‘स्टार्टअप वर्ल्ड कप’ अन्तर्गत नेपाल च्याप्टरको विजेताले अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्लोबल ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नेछन्। उक्त प्रतिस्पर्धाको अन्तिम विजेताले १ मिलियन अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँभन्दा बढी) को लगानी पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछन्।
साझेदारीका क्रममा ब्रिटिश कलेजका सीईओ राजन कँडेलले यो मञ्चले नेपाली स्टार्टअपलाई विश्वव्यापी अवसरसँग जोड्ने विश्वास व्यक्त गरे। त्यस्तै, क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले यस सहकार्यले नेपाली प्रविधि उद्यमीको क्षमता प्रदर्शनमा सहयोग पुग्ने बताए।
असार २६, २०८३ शुक्रबार १८:१९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।