नौ बीमा कम्पनी नेतृत्वविहीन
काठमाडौं : नेपालको बीमा क्षेत्र अहिले चरम नेतृत्व संकटबाट गुज्रिरहेको छ। हाल जीवन बीमा, पुनर्बीमा र माइक्रो इन्स्योरेन्स क्षेत्रका कम्तीमा ९ वटा कम्पनीहरू स्थायी प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिना सञ्चालन भइरहेका छन्।
यीमध्ये सात कम्पनीका सीईओहरू विवादित व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा दायर गरेसँगै एकैदिन स्वतः निलम्बनमा परेका थिए भने दुई कम्पनीमा त्यसअघि नै पद रिक्त थियो।
एकैदिन निलम्बनमा पर्नेहरूमा नेपाल रि-इन्स्योरेन्सका सुरेन्द्र थापा, हिमालयन रि-इन्स्योरेन्सका उपासना पौडेल, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका रामकुमार यादव, क्रेष्ट माइक्रो इन्स्योरेन्सका प्रतापमान श्रेष्ठ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नरेशकुमार रोका, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका चिरायु भण्डारी र नेपाल माइक्रो इन्स्योरेन्सका मृगेन्द्रनाथ रिमाल रहेका छन्।
सन नेपाल लाइफ इन्स्योरेन्सका तत्कालीन सीईओ राजकुमार अर्यालविरुद्ध कानुनी प्रक्रिया सुरू भएपछि कम्पनीले वरिष्ठ डेपुटी सीईओ कवि फुयाँललाई कामुको जिम्मेवारी दिएको छ भने कपिलकुमार दाहालको बहिर्गमनसँगै हिमालयन लाइफ इन्स्योरेन्समा स्थायी सीईओ मात्र होइन, कामु सीईओको समेत टुङ्गो लाग्न सकेको छैन।
बीमा ऐन र निर्देशिका अनुसार सीईओ पद रिक्त भएको अवस्थामा वरिष्ठतम कर्मचारीलाई अधिकतम तीन महिनासम्मका लागि मात्र कायममुकायमको जिम्मेवारी दिन सकिने व्यवस्था छ।
निर्देशिकाको दफा ३३ ले तीन महिनाभित्रै अनिवार्य रूपमा स्थायी सीईओ नियुक्त गर्नुपर्ने स्पष्ट पारेको छ। तर, धेरैजसो कम्पनीले यही अस्थायी व्यवस्थालाई दीर्घकालीन रूपमा निरन्तरता दिएर कानुनी छिद्रको प्रयोग गरिरहेका छन्।
बीमा ऐन २०७९ को दफा ५७ अनुसार सीईओ नियुक्ति गर्ने मुख्य जिम्मेवारी सम्बन्धित कम्पनीको सञ्चालक समितिको हो।लामो समयसम्म नेतृत्व रिक्त राख्दा कम्पनीको रणनीतिक निर्णय, लगानी व्यवस्थापन र संस्थागत सुशासन प्रभावित भइरहेको छ।
यता, नियामक निकाय नेपाल बीमा प्राधिकरणले पनि यस विषयमा प्रभावकारी हस्तक्षेप गर्न सकेको छैन। राष्ट्र बैंकले बैंकहरूलाई समयसीमा तोकेरै नेतृत्व नियुक्त गराउने अभ्यास गरे पनि बीमा प्राधिकरणले सक्रियता देखाएको छैन।
नेतृत्व अभावले डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रिय बजारसँगको प्रतिस्पर्धामा रहेका बीमा कम्पनीहरूको निर्णय प्रक्रिया सुस्त बनेको छ, जसले समग्र बीमा उद्योगको विश्वसनीयतामाथि नै जोखिम बढाएको छ।
असार २६, २०८३ शुक्रबार १२:४२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।