पेन्सन लिन बैंक धाउनु नपर्ने, नागरिक एपबाट घरमै लिन सकिने
काठमाडौँ : नेपाल सरकारको 'नागरिक एप' मा अत्याधुनिक फेस भेरिफिकेसन (अनुहार प्रमाणीकरण) प्रणाली जोडेको छ। प्रिक्सा कम्पनीअन्तर्गतको थर्ड फ्याक्टर एआईद्वारा विकसित अत्याधुनिक परिचय प्रमाणीकरण प्रविधि नागरिक एपमा एकीकृत भएको हो। यसले अब निवृत्तिभरण (पेन्सन) पाउने नागरिकहरूले घरबाटै केही सेकेन्डमै आफ्नो प्रमाणीकरण गर्न सक्ने भएका छन्।
विगतमा पेन्सन बुझ्ने नागरिकहरूले प्रत्येक छ महिनामा आफू जीवित रहेको पुष्टि गर्न अनिवार्य रूपमा बैंकमा स्वयं उपस्थित हुनुपर्ने झन्झटिलो व्यवस्था थियो। यसले गर्दा विशेषगरी ज्येष्ठ नागरिकहरूले घण्टौँको यात्रा र बैंकमा लामो समय प्रतीक्षा गर्नुपर्ने बाध्यता थियो।
नागरिक एपमा यो प्रविधिको सफल एकीकरणसँगै हाल ३ लाखभन्दा बढी पेन्सनरहरूले बैंकका शाखा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। उनीहरूले अब घरमै बसेर सुरक्षित रूपमा आफ्नो डिजिटल परिचय प्रमाणीकरण गरिरहेका छन्।
कसरी काम गर्छ यो प्रणालीले?
पेन्सनरहरूले राष्ट्रिय परिचयपत्रमा रहेको आफ्नो विवरणसँग अनुहार प्रमाणीकरण गरी केही सेकेन्डमै आफ्नो परिचय पुष्टि गर्न सक्छन्। यस प्रक्रियामा मुख्य दुई वटा स्वचालित जाँचहरू हुन्छन्।
प्रणालीले सुरुमा नागरिकको सरकारी अभिलेखमा रहेको तस्बिरसँग प्रत्यक्ष अनुहार (लाइभ फेस) मिलान गर्छ। त्यसपछि राष्ट्रिय परिचयपत्रमा समावेश विवरणहरूको स्वचालित प्रमाणीकरण गरिन्छ।
यी दुवै जाँचहरू सफल भएपछि मात्र पेन्सन प्रमाणीकरण प्रक्रिया अगाडि बढ्छ। दुईतर्फी स्वचालित जाँच हुने भएकाले यो प्रविधि अत्यन्तै भरपर्दो र सुरक्षित मानिएको छ।
यो प्रविधि निर्माण गर्ने कम्पनी थर्ड फ्याक्टर एआईले सरकार, वित्तीय संस्था तथा विभिन्न उद्यमहरूका लागि परिचय प्रमाणीकरण, अनुहार प्रमाणीकरण, लाइभनेस डिटेक्सन, डकुमेन्ट इन्टेलिजेन्स तथा डिजिटल अनबोर्डिङ जस्ता डिजिटल समाधानहरू विकास गर्दै आएको छ।
असार २५, २०८३ बिहीबार २०:२६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।