स्टार्टअप वर्ल्डकप २०२६ का लागि द ब्रिटिस कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्डकप २०२६ का लागि द ब्रिटिस कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

काठमाडौँ : नेपालमा तीव्र रूपमा बढिरहेको डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तनप्रति बढ्दो आकर्षणसँगै युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्न द ब्रिटिस कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघबीच ‘स्टार्टअप वर्ल्डकप नेपाल च्याप्टर २०२६’ को लागि रणनीतिक सम्झौता भएको छ।

सम्झौता पत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिस कलेजका ग्रुप सीईओ राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका थिए। साझेदारीअनुसार क्यान महासंघ प्रतिस्पर्धाको स्ट्र्याटेजिक अर्गनाइजिङ पार्टनर को रूपमा रहनेछ। 

यस अनुसार नेपालका विभिन्न प्रदेशहरूमा स्थानीय स्तरका स्टार्टअपहरू पहिचान गर्न विशेष प्रतियोगिताहरू सञ्चालन गरिने, नेपाली उद्यमीहरूलाई उद्योगका अनुभवी नेतृत्वकर्ताहरू, सफल व्यवसायी र प्राविधिक विज्ञहरूसँग जोडिने समझदारी पत्रमा उल्लेख छ।

नवप्रवर्तनकारी आइडियाहरूलाई पुँजीसँग जोड्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूसँग सहजीकरण गरिनेछ रणनीतिमा उल्लेख छ।

नेपाल च्याप्टरको विजेताले अमेरिकाको प्रख्यात प्रविधि केन्द्र सिलिकन भ्यालीमा हुने 'ग्लोबल ग्राण्ड फिनाले'मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। पेगासस टेक भेन्चर्सद्वारा विश्वका ६० भन्दा बढी देशहरूमा आयोजना हुने ‘स्टार्टअप वर्ल्डकप’ विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित स्टार्टअप प्रस्तिस्पर्धाहरूमध्ये एक हो। विश्व मञ्चका दिग्गजहरूसँग प्रतिस्पर्धा गर्दै विजेताले करिब १३ करोड रुपैयाँभन्दा बढीको लगानी पुरस्कार जित्न सक्नेछन्।

द कँडेल ग्रुप तथा द ब्रिटिस कलेजका ग्रुप सिइओ राजन कँडेलले नेपालको भावी आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता मुख्य संवाहक रहेको र क्यान महासंघसँगको साझेदारीले नेपाली स्टार्टअपहरूलाई मेन्टरसिप, लगानी र विश्वव्यापी अवसरहरू प्राप्त गर्ने बलियो राष्ट्रिय प्लेटफर्म प्रदान गर्ने बताए।

क्यानका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले क्यान महासंघ स्थापनाकालदेखि नै नेपालको सूचना प्रविधि र नवप्रवर्तनको विकासमा समर्पित रहेको भन्दै द ब्रिटिस कलेजसँगको सहकार्यले देशव्यापी रूपमा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै प्रविधि उद्यमीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा क्षमता प्रदर्शन गर्ने ऐतिहासिक अवसर प्रदान गर्ने बताए।

असार २५, २०८३ बिहीबार २०:१७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।