'ग' वर्गको अपाङ्गता परिचयपत्रलाई 'क' बनाएर भत्ता कुम्ल्याएपछि...
काठमाडौं : नक्कली कागजातका आधारमा अपाङ्गता परिचयपत्रको वर्ग परिवर्तन गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा पर्साको पोखरिया नगरपालिकाका दुई कर्मचारी र एक सर्वसाधारणविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
नगरपालिकाका तत्कालीन अधिकृत (छैटौं तह) संजय कुमार पाण्डेय, अपाङ्ग शाखाका कर्मचारी अम्बिका महतो खुलवत र स्थानीय बासिन्दा महेन्द्र राउत कुर्मीले मिलेमतोमा भ्रष्टाचार गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
आयोगका अनुसार पोखरिया नगरपालिका-१० का महेन्द्रसँग रहेको सामाजिक सुरक्षा भत्ता नपाउने ‘ग’ वर्गको कार्ड मिलेमतोमा सरकारी अभिलेखमा रहेको विवरण सच्याएर उनलाई ‘क’ वर्ग (रातो कार्ड) को परिचयपत्र वितरण गरिएको थियो।
बदनियतपूर्वक लिखत सच्याएर कुर्मीलाई सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा समावेश गरिएको आयोगको दाबी छ। सोही परिचयपत्रका आधारमा महेन्द्रले राज्य कोषबाट एक लाख ९१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ताबापत प्राप्त गरेका छन्। सोही रकमलाई बिगो कायम गरी आयोगले कैद र जरिवानाको माग गरेको छ।
असार २५, २०८३ बिहीबार १९:२३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।