घट्दो सेयर बजार सुधार्न सेबोनको नयाँ रणनीति, अर्को साता मार्गचित्र ल्याइने
काठमाडौं : सेयर बजारमा देखिएको निरन्तरको गिरावट र लगानीकर्तामा फैलिएको त्रासलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजार सुधारको योजना अघि सारेको छ।
बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी साताभित्र समयबद्ध कार्ययोजनासहित विस्तृत 'पुँजी बजार विकास मार्गचित्र' सार्वजनिक गरी तत्काल कार्यान्वयनमा लैजाने जनाएको छ।
बजारमा देखा परेका समस्या समाधान र लगानीकर्ताको हित संरक्षणका लागि आफूहरू गम्भीर रहेको र यसका लागि आवश्यक गृहकार्य भइरहेको बोर्डले जानकारी दिएको छ।
पूँजी बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन बोर्डले विभिन्न कानुनी तथा संरचनागत सुधारका कामहरू अगाडि बढाएको विज्ञप्तिमा उल्लेख छ।
सेबोनले मार्जिन कारोबार कार्यान्वयनलाई प्रभावकारि बनाउने बताएको छ। बजारको नियमन प्रणालीलाई अझ व्यवस्थित बनाउन विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, र सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिकालगायतमा समसामयिक पुनरावलोकन गर्ने कार्य सुरु भइसकेको विज्ञप्तिमा उल्लेख छ।
बोर्डले बजारमा फैलिने विभिन्न हल्ला, बहकाउ तथा अफवाहहरूको पछि नलाग्न गानीकर्तालाई आग्रह गरेको छ। बोर्डले लगानीकर्ताहरूलाई कुनै पनि लगानी सम्बन्धी निर्णय लिनुअघि आफ्नो व्यक्तिगत अध्ययन, विश्लेषण र जोखिम वहन गर्न सक्ने क्षमतालाई हेरेर मात्र अगाडि बढ्न समेत अनुरोध गरेको छ।
असार २५, २०८३ बिहीबार १८:३६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।