सिबिफिनले भन्यो : मौद्रिक नीति सन्तुलित, जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था गर्न माग

सिबिफिनले भन्यो : मौद्रिक नीति सन्तुलित, जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था गर्न माग

काठमाडौं : मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलन कायम गर्ने दिशामा सन्तुलित दृष्टिकोण राखेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गरेको छ। 

सिबिफिनले व्यावसायिक वातावरणलाई पूर्वानुमानयोग्य बनाउन र नीतिगत स्थिरताका लागि नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात, वैधानिक तरलता अनुपात तथा स्थायी तरलता सुविधालाई यथावत् राख्ने निर्णय सकारात्मक भएको बताएको छ।

रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको व्यवस्थापन तथा दबाबमा रहेका कर्जाको पुनरुत्थानका विषय, बैंकका शाखाहरू खोल्ने वा बन्द गर्ने प्रक्रियालाई लचिलो बनाइने तथा वित्तीय सेवालाई डिजिटलाइजेसन गर्दै बैंकहरूको सञ्चालन खर्च कटौती गर्न प्रोत्साहन गर्ने नीति सकारात्मक भएको सिबिफिनले बताएको छ।

विदेशी मुद्रा खरिदमार्फत हुने तरलता प्रवाह व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्ने तथा विदेशी मुद्रा खरिदका बखत 'स्टेरिलाइज्ड इन्टरभेन्सन' गर्ने व्यवस्था समेत सकारात्मक भएको विज्ञप्तिमा उल्लेख छ।

मौद्रिक नीति निर्माणका क्रममा दिएका केही महत्वपूर्ण सुझावहरू सम्बोधन हुन नसकेको भन्दै सिबिफिनले जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, सुरक्षित कर्जामा कुल जोखिमका आधारमा नोक्सानी व्यवस्था, पुँजी कोष पर्याप्ततासम्बन्धी नियामकीय सहजीकरण तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विवेकशील नियमनका सुधारका विषयहरू छुटेको बताएको छ।

नेपालको वर्तमान आर्थिक अवस्था, बैंकिङ क्षेत्रमाथि बढ्दो पुँजीगत दबाब, निष्क्रिय कर्जा व्यवस्थापन तथा निजी क्षेत्रतर्फ कर्जा प्रवाहलाई थप प्रभावकारी बनाउन यी सुझावहरू आवश्यक रहेको सिबिफिनको भनाइ छ। 

नेपाल सरकारको अर्थतन्त्रको विस्तारको लक्ष्य हासिल गर्न समेत यी सुझावहरूले टेवा पुग्ने भन्दै राष्ट्र बैंकले आवश्यक अध्ययनसहित आगामी एकीकृत निर्देशनमार्फत व्यावहारिक रूपमा यथाशीघ्र सम्बोधन गर्ने विज्ञप्तिमा विश्वास व्यक्त गरिएको छ।

असार २५, २०८३ बिहीबार १७:४०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।