मणिराज पौडेलको हिजोका कुरा : मलाई आमाको काखमा देखेकाहरू अहिले पनि भन्छन्- ‘तँ त मर्नुपर्ने मान्छे, बाँचेर यत्रो भइस्’

मणिराज पौडेलको हिजोका कुरा : मलाई आमाको काखमा देखेकाहरू अहिले पनि भन्छन्- ‘तँ त मर्नुपर्ने मान्छे, बाँचेर यत्रो भइस्’

काठमाडौंको उत्तर-पूर्वी भेग डाँछीमा जन्मिएका मणिराज पौडेल अहिले प्राइभेट हस्पिटल एसोसिएसनको कार्यकारी प्रमुखका रूपमा नेतृत्वदायी भूमिकामा छन्।

पाँच दशकको जीवन पार गरिसकेका पौडेलको शारीरिक बनावट अरूभन्दा भिन्न छ, तर उनको जीवनको आयतन त्यो शरीरभन्दा निकै विशाल र प्रेरणादायी छ।

अभाव, शारीरिक अपाङ्गताका कारण समाजले गर्ने अपमान, र बेरोजगारीको कठोर ठक्कर खाँदै आज उनी यो जिम्मेवार पदमा आइपुगेका पौडेलले उकेरासँग आफ्ना अनुभव यसरी साटेका छन्:

चार वर्षपछिको बदलिएको शरीर
म २०२९ सालमा काठमाडौंको तत्कालीन डाँछी गाउँ पञ्चायतमा जन्मिएको हुँ। तीन दाजुभाइ र दिदीमध्ये म सबैभन्दा कान्छो सन्तान।

मेरो जन्म कुनै विशेष रहर वा कहरको उपज थिएन, एक सामान्य मध्यमवर्गीय परिवारमा मेरो आगमन भएको थियो। जन्मँदा र त्यसपछिका चार वर्षसम्म म शारीरिक रूपमा पूर्णतः स्वस्थ र सामान्य थिएँ रे।

तर, चार वर्ष पूरा भएपछि मेरो शरीरको बनावटमा एकाएक परिवर्तन आउन थाल्यो। मेरो शारीरिक अवस्था नर्मल रहेन।

राजधानी काठमाडौं नजिकै भए पनि त्यो बेलाको डाँछी कुनै विकट कर्णालीभन्दा कम थिएन। खरका छाना, कच्ची बाटो र गाउँले परिवेश। अहिलेको जस्तो सरर गाडी गुड्ने र अस्पताल पुग्ने सुविधा थिएन।

उपचारमा आर्थिक अभाव त थियो नै, भौतिक पहुँच पनि उत्तिकै कठिन थियो। बुबाको सानोतिनो जागिर र जजमानी (पुरोहित्याइँ) बाट आउने पैसाले घर चलाउने कि दिदी-दाइलाई पढाउने कि मेरो महँगो उपचार गर्ने? परिवारका लागि यो ठूलो धर्मसङ्कट थियो।

मेरी आमाले मलाई बचाउन धेरै दुख गर्नुभयो। ३४/३५ सालतिरको कुरा हो, गाडीको सुविधा नभएपछि आमाले मलाई डाँछीदेखि बोकेरै ललितपुरको शान्ता भवन अस्पताल पुर्याउनुभएको थियो।

त्यो समयमा मलाई आमाले बोकेर हिँडेको देख्ने मान्छेहरू अहिले पनि मलाई भेट्दा जिब्रो टोक्छन् र भन्छन्- ‘तँ त मर्नुपर्ने मान्छे, बाँचेर यत्रो भइस्!’

बिरामी भइरहने भएकाले म निकै दुब्लो-पातलो र फोटाजेनिक रूपमा पनि आकर्षक थिइनँ। तर आमाको त्यही सङ्घर्षले मलाई आज यो स्थानसम्म ल्यायो।

गिज्याउने साथी र ‘खोपाको देवता’भन्ने शिक्षक
शारीरिक रूपमा फरक भएकाले मेरो बाल्यकाल र विद्यालय जीवन निकै कष्टकर रह्यो। स्कुलमा मलाई कसैले पनि नर्मल विद्यार्थीको रूपमा हेर्दैनथे।

विद्यार्थीले मात्र होइन, शिक्षकहरूको नजर पनि उस्तै थियो। सुरुमा त मलाई स्कुलमा भर्ना गर्ने कि नगर्ने भन्ने विषयमै ठूलो बहस भयो। अच्युत सरले मलाई भर्ना गरेर गुन लगाउनुभयो। स्कुलमा सबैले गिज्याउने भएकाले म स्कुलभन्दा बढी घरमै बसेर पढ्न रुचाउँथेँ।

तर, पढाइमा म निकै तेज र मेहनती थिएँ। अहिले एम.बी.ए. पढ्दा जति मेहनत गर्छु, त्यो बेला १, २ र ३ कक्षामा पनि त्यसरी नै पढ्थेँ। २०४६ सालमा पहिलो पटक एसएलसी दिँदा म फेल भएँ। कतै मेहनत पुगेन वा के भयो, तर हार नखाई दोस्रो पटकमा श्री आदर्श मावि भद्रवासबाट एसएलसी उत्तीर्ण गरेँ।

स्कुल पढुञ्जेल साथीभाइले ‘बच्चा, बच्चा’ भनेर गिज्याउँदा मेरो मानसपटलमा निकै गहिरो चोट लाग्थ्यो। कतिपय शिक्षकले त मलाई व्यङ्ग्य गर्दै ‘खोपाको देवता’ समेत भन्थे। उनीहरूले मलाई ‘यो मान्छेले केही गर्न सक्दैन’ भन्ने सोचेर त्यसो भनेका हुन्थे।

तर, मैले ७ कक्षामा पढ्दादेखि नै भाइबहिनीलाई घरमा ट्युसन पढाउन थालेको थिएँ। त्यतिबेला ३-४ रुपैयाँ लिएर पढाउँथेँ। अपमान र हेपाइको त्यो अँध्यारोबाट मैले ल क्याम्पस भर्ना भएपछि मात्र बल्ल स्वतन्त्र रूपमा सास फेर्न पाएँ।

पिउनको काममा समेत अयोग्य बनाए
एसएलसी पास गरेपछि मलाई लाग्थ्यो- अब त कतै न कतै जागिर पाइहालिन्छ। लोकसेवामा भिड्ने र सरकारी जागिर खाने ठूलो रहर थियो। तर मेरो शारीरिक अवस्था मेरा लागि बाधक बन्यो।

लिखित परीक्षामा मलाई कुनै समस्या भएन, तर अन्तर्वार्तामा पुग्दा मलाई ‘पिउन’ (कार्यालय सहयोगी) को कामका लागि समेत उपयुक्त मानिएन।

म पिउनको काम गर्न सक्दिनथेँ किनकि कसैलाई गिलासको पानी लैजानु पर्दा मेरो हात हल्लिएर पानी पोखिन सक्थ्यो। शारीरिक दुर्बलताकै कारण कुनै पनि ठाउँमा मलाई स्वीकार गरिएन।

२०४६ सालको आन्दोलनपछि देशमा नयाँ सरकार आयो। साझा यातायातमा जागिर खाने अवसर जुर्दै थियो, तर गिरिजाप्रसाद कोइरालाको सरकार आएपछि अघिल्लो सरकारले नियुक्ति गरेका मान्छे हटाउने निर्णय गर्यो। त्यसमा मेरो नाम पनि पर्यो।

त्यसपछि २०४९ सालतिर सडक विभागमा प्रशासनतर्फ ज्यालादारीमा महिनाको १२०० रुपैयाँ आउने गरी दर्ता-चलानीको काम पाएँ। ५-७ महिना काम गरेपछि थप अवसरको खोजीमा लागेँ।

जागिरकै लागि म अमात्य इन्टरप्राइजेजमा २ वर्षसम्म निरन्तर धाएँ, तर सफल भइनँ। एक शनिबार थलीमा बसन्त चौधरीको घरमा उहाँलाई भेट्न दौडेर गएँ। पालेले रोक्न खोजे पनि उहाँलाई भेटेँ। उहाँले मलाई भोलिपल्टै खिचापोखरी अफिस आउन भन्नुभयो।

तर, मलाई अमात्य इन्टरप्राइजेजकै मोह थियो। एकदिन साहु भर्याङबाट ओर्लिँदै गर्दा भेटिए। उनले भने- ‘मैले तिम्रो कुरा ठाकुर सरलाई भनिदिएको छु, पर्सिदेखि काममा आऊ।’ मैले बसन्त चौधरीको जागिर छाडेर अमात्यमै काम सुरु गरेँ।

उनीहरूले मलाई फोटोकपी गर्ने ठाउँमा राखे। मेसिन निकै अग्लो थियो, मेरो उचाइले भ्याउँदैनथ्यो। म एउटा पिर्का राखेर त्यसमाथि चढेर फोटोकपीको काम गर्थें।

मेरो मेहनत र लगनशीलता देखेर एक महिनामै मेरो बढुवा भयो र मलाई एकाउन्ट सेक्सनमा सारियो। अन्ततः म हाकिम दमन अमात्यको स्वकीय सचिव  जस्तै भएर काम गर्न थालेँ।

डा. भोला रिजाल र मेरो जीवनको नयाँ मोड
अमात्य इन्टरप्राइजेजमा काम गर्दा मेरो सम्पर्क धेरै प्रभावशाली मान्छेहरूसँग भयो। विज्ञापनका लागि पत्रकारहरू मलाई भेट्न आउँथे। त्यही सिलसिलामा मैले पनि पत्रकारिता सुरु गरेँ।

कलाकार र डाक्टरहरूसँग अन्तरवार्ता लिने क्रममा कतिपयले मेरो शरीर हेरेर अन्तरवार्ता दिन मान्दैनथे, बोलाएर ढोका नखोलिदिएका तीता सम्झनाहरू पनि मसँग छन्।

एकदिन डा. भोला रिजालको अन्तरवार्ता लिने आँट गरेँ। मैले उहाँलाई फोनमै स्पष्ट भनेँ- ‘म अलि फरक खालको मान्छे छु।’ उहाँले भन्नुभयो- ‘मान्छे त हौ नि हामी।’

कमलपोखरीको ओम अस्पतालमा उहाँलाई भेटेपछि उहाँ र सरला म्याम मबाट प्रभावित हुनुभयो। उहाँहरूले मलाई ओम फाउन्डेसन र प्राइभेट हस्पिटल एसोसिएसनको जिम्मेवारी सुम्पिनुभयो।

मैले नै यी संस्थाहरूको विधान बनाएँ, सिडिओ कार्यालय धाएर दर्ता गराएँ र अफिस खडा गरेँ। डा. भोला रिजाल र सरला म्यामको विश्वासले गर्दा नै आज म यस एसोसिएसनको कार्यकारी प्रमुखका रूपमा काम गरिरहेको छु।

प्रहरी-आर्मी कहिल्यै सुध्रिएनन्
मैले पञ्चायतकालदेखि गणतन्त्रसम्मका सबै राजनीतिक परिवर्तनहरू नजिकबाट नियालेको छु। मेरी दिदी वामपन्थी सांस्कृतिक समूहमा हुनुहुन्थ्यो, त्यसैले घरमा कम्युनिष्ट विचारधारा र राजनीतिक गफ भइरहन्थे।

म पनि सुरुमा अखिलका कार्यक्रमहरूमा जान थालेको थिएँ, तर ४६ सालपछि ल क्याम्पस भर्ना भएपछि मैले सक्रिय राजनीति छाडेँ। पढ्ने बेलामा राजनीति गर्नुहुँदैन भन्ने चेतना ममा पलायो र म न्यायिक विद्यार्थी विकास मञ्चको उपाध्यक्ष भएपछि विशुद्ध अध्ययनमा केन्द्रित भएँ।

मैले देखेको एउटा तीतो यथार्थ के हो भने, नेपाल प्रहरी र आर्मीको जनताप्रतिको व्यवहार पञ्चायतकालदेखि अहिलेसम्म सुध्रिएको छैन। उनीहरूको तुच्छ र कठोर व्यवहार उस्तै छ। पहिलाका आन्दोलनकारीहरू निःस्वार्थ र भोका हुन्थे, अहिले त आन्दोलन गर्ने र रोक्ने दुवैतर्फ पैसै पैसाको खेल छ।

दुर्गम काठमाडौं र बिहान ३ बजेको त्यो ‘एक्जाम यात्रा’
त्यो बेला काठमाडौंभित्रै यात्रा गर्नु पनि ठुलो युद्ध जिते जस्तै थियो। थलीबाट बस चढ्न दक्षिण ढोकासम्म हिँडेर आउनुपर्थ्यो। क्याम्पस पढ्न आउँदा मेरो पहिलो इङ्लिस क्लास सधैँ छुट्थ्यो। बन्द वा कर्फ्यू  लागेको बेला हिँडेरै पुतलीसडक आउनुपर्थ्यो।

कीर्तिपुरमा परीक्षा केन्द्र परेको बेलाको त्यो क्षण म कहिल्यै भुल्दिनँ। बिहान ८ बजेको परीक्षा भ्याउन म डाँछीबाट बिहान ३ बजे नै हिँडेर कीर्तिपुर पुगेको छु। बाटोभरि कुकुरहरू भुक्थे, तर खै केको आँटले हिँडिन्थ्यो, कुनै प्रवाह गरिन्नथ्यो।

​​​​​​​​​​​​​​

​​​​​​​बाल्यकालमा चकलेट किन्न ५ पैसा हुँदैनथ्यो। आमाले दिनुभएको लालीगुराँस अङ्कित १-१ पैसाको सिक्का पनि पसलमा चल्दैनथ्यो। ५ पैसा नभई केही नआउने त्यो अभावको समयबाट गुज्रिएर यहाँसम्म आइपुग्दा लाग्छ- दृढ इच्छाशक्ति र इमानदारी भयो भने शारीरिक अवस्था सफलताको बाधक कहिल्यै बन्न सक्दैन।

असार २५, २०८३ बिहीबार १७:०७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।