दैनिक ५२० रुपैयाँ किस्तामा ‘एमजी कमेट ईभी’ खरिद गर्न सकिने
काठमाडौं : नेपालका लागि एमजी मोटरको आधिकारिक बिक्रेता जी.ओ. अटोमोबाइल्स (गोल्छा अर्गनाइजेसन)ले आफ्नो कम्प्याक्ट विद्युतीय गाडी ‘एमजी कमेट ईभी’ खरिदलाई थप सहज बनाउन आकर्षक फाइनान्स योजना सार्वजनिक गरेको छ।
कम्पनीले ल्याएको नयाँ ईएमआई योजनाअनुसार ग्राहकले अब दैनिक मात्र ५२० रुपैयाँ (अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँ) को किस्तामा यो गाडी खरिद गर्न सक्नेछन्।
यो रकम दैनिक ट्याक्सी भाडा वा व्यक्तिगत चालक राख्ने खर्चभन्दा पनि कम हुने कम्पनीको दाबी छ।
एमजी कमेट ईभीको सुरुवाती मूल्य १८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। १७.३ kWh को ब्याट्री जडान गरिएको गाडीले एक पटकको पूर्ण चार्जमा २३० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।
शहरी यात्रा र साँघुरा सडकका लागि डिजाइन गरिएको यो गाडीमा ४ जनासम्मले सहज यात्रा गर्न सक्छन्।
जी.ओ. अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले विद्युतीय सवारी खरिदलाई ठूलो आर्थिक बोझका रूपमा नभई सहज जीवनशैलीको रोजाइका रूपमा स्थापित गर्न यो योजना ल्याइएको बताए।
बढ्दो इन्धन मूल्य र शहरी ट्राफिकको बीचमा यो गाडी र यसको ईएमआई योजना मध्यमवर्गीय परिवारका लागि उत्कृष्ट विकल्प हुने कम्पनीको विश्वास छ।
असार २५, २०८३ बिहीबार १४:०६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।