कुमारी बैंकद्वारा बाजुराका छ विद्यालयलाई स्मार्ट टेलिभिजन सहयोग
काठमाडौं : कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाजुराको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाका ६ वटा सामुदायिक माध्यमिक विद्यालयहरूलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ।
बैंकको गौमुल शाखा र गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको यस कार्यक्रमले ग्रामीण भेगका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
भौगोलिक विकटताका कारण आधुनिक शैक्षिक स्रोत-साधनको पहुँच सीमित रहेको यस क्षेत्रमा बैंकको सहयोगले विद्यार्थीहरूको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने र सिकाइ प्रक्रियालाई रोचक एवं प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
वडा नम्बर २ को जनज्योति र फूलपाता माध्यमिक विद्यालयले स्मार्ट टेलिभिजन दिइँदा वडा नम्बर ५ को मानाकोट माध्यमिक विद्यालयले पनि पाएको छ।
यस्तै वडा नम्बर १ को अम्लिश माध्यमिक विद्यालय, वडा नम्बर छ को किर्तिचौर माध्यमिक विद्यालय र वडा नम्बर ३ को बालविकास माध्यमिक विद्यालयलाई पनि टेलिभिजन दिइएको छ।
‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ। ग्रामीण र सहरी क्षेत्रबीचको शैक्षिक असमानता न्यूनीकरण गर्न यो कदम चालिएको बैंकले जनाएको छ।
विगत २५ वर्षदेखि सेवा प्रदान गर्दै आएको कुमारी बैंकको देशभर २८६ शाखा, ३०४ एटीएम र ४० शाखारहित बैंकिङ्ग इकाइहरू सञ्चालनमा छन्। बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
असार २५, २०८३ बिहीबार १३:५८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।