२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन सुरु

२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन सुरु

कास्की : कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ।

सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित यस आयोजनाको निर्माण कार्य विसं २०७८ मंसिरमा सुरु भएको थियो।

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण सम्पन्न गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको छ।

प्रवर्द्धक कम्पनीका निर्देशक दीपक बरालका अनुसार आयोजना हाल १५ दिने परीक्षणमा रहनेछ। परीक्षण सफल भएपछि यसै महिनाभित्र नियमित व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

आयोजनाले गत मंसिरदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणमा देखिएको वन क्षेत्रको कानुनी प्रक्रियाका कारण केही ढिलाइ भएको हो।

‘प्रसारण लाइनका लागि निर्माण गरिएका पाँचवटा टावरमध्ये तीनवटा वन क्षेत्रमा परेकाले स्वीकृति प्रक्रियामा समय लाग्यो’, निर्देशक बरालले भने।

आयोजनाको बाँध पोखरा-३३ स्थित तिकलाङमा निर्माण गरिएको छ भने तीन हजार १०६ मिटर लामो सुरुङमार्फत पानीलाई तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्याइएको छ। विद्युत्गृहमा ११/११ मेगावाट क्षमताका दुईवटा ‘टर्वाइन’ जडान गरिएका छन्।

कुल ५ अर्ब ५ करोड रुपैयाँको लगानीमा सम्पन्न यस आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेलगत्तै आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी समेत गरेको छ।

सेती नदी जलविद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। गत वर्ष भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवद्र्धित २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

असार २५, २०८३ बिहीबार ०७:०७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।