धनगढीका ५ हजार विद्यार्थीलाई दिवा खाजा खुवाउन मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

धनगढीका ५ हजार विद्यार्थीलाई दिवा खाजा खुवाउन मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिमको धनगढीमा सञ्चालन हुन लागेको ‘मिड–डे मिल’ (दिवा भोजन) कार्यक्रमका लागि आर्थिक सहयोग प्रदान गरेको छ। 

‘फुड फर लाइफ नेपाल’ नामक सामाजिक संस्थाद्वारा धनगढीमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो।  

यस कार्यक्रम अन्तर्गत आयोजक संस्थाले केन्द्रीकृत भान्छा प्रणालीमार्फत धनगढीस्थित सरकारी विद्यालयहरूमा अध्ययनरत पाँच हजार जना विद्यार्थीहरूलाई दैनिक रूपमा स्वच्छ, पौष्टिक तथा सन्तुलित दिवा भोजन उपलब्ध गराउनेछ।  

विशेष गरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीहरूको पोषणमा सुधार ल्याउन, विद्यालयमा उनीहरूको नियमित उपस्थिति बढाउन तथा शिक्षामा निरन्तरता सुनिश्चित गर्न यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले लिएको छ।  

मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्दै आएको छ। 

बैंकले आगामी दिनहरूमा समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजको दिगो विकासमा योगदान पुर्याउने यस्ता परोपकारी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता गरेको छ।   

असार २४, २०८३ बुधबार १६:३६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।