दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था 'डीएसआईके' बीच रणनीतिक साझेदारी
काठमाडौं : कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेशन सँग रणनीतिक परियोजना सम्झौता गरेको छ।
जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम 'एसियाका चयन गरिएका देशहरूमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थितिकीय रूपान्तरण अभियान' अन्तर्गत यो साझेदारी गरिएको हो।
उक्त परियोजना सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र जर्मन वित्तीय संस्था डीएसआईकेकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रूल स्टेर्नले हस्ताक्षर गरेका छन्।
दिगो बैंकिङका लागि दुई चरणको खाकामा हरित बैंकिङ अभ्यासहरूलाई संस्थागत र विस्तार गर्न यो साझेदारीलाई दुई क्रमिक चरणहरूमा विभाजन गरिएको छ। हरित वित्त र उद्यमी क्षमता अभिवृद्धिमा जोडकुमारी बैंक लिमिटेडका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलका अनुसार यो सम्झौता बैंकका लागि दिगो बैंकिङ अभ्यासको परिपक्वतातर्फको एउटा निर्णायक कदम हो।
साझेदारी संस्थाको प्राविधिक सहयोग र नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शनमा बैंकले आफ्ना बैंकिङ परिपाटीहरूलाई क्रमिक रूपमा परिमार्जन गर्नेछ। यसबाट अन्तर्राष्ट्रिय अनुभव तथा अभ्यासहरूका आधारमा हरित वित्त, न्यून कार्बन उत्सर्जन, दिगो एवं उत्थानशील उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
सम्झौता अनुसार डीएसआईकेले आफ्नो स्वामित्वमा रहेका विशेष प्राविधिक पद्धतिहरू जस्तै– 'ईएसजी रिस्क राडर' र 'सस्टेनेबल फाइनान्स कम्पास' उपलब्ध गराई प्राविधिक सहयोग पुर्याउनेछ। यसका साथै, ग्रामीण क्षेत्र र साना तथा मझौला उद्योगहरूको सबलीकरण र हरित उद्यम क्षमता अभिवृद्धि गर्न 'DISK Business game' समेत सञ्चालन गरिनेछ।
नेपालको अग्रणी वित्तीय संस्थामध्येको एक कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजाने बताएको छ।
आफ्नो ग्राहक–केन्द्रित नवीनता, पारदर्शी कार्यशैली र सुशासनका लागि परिचित कुमारी बैंक र डीएसआईकेबीचको यो सहकार्यले नेपालको दिगो आर्थिक विकास र स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्त्वपूर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ।
असार २४, २०८३ बुधबार १६:२५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।