नदीजन्य पदार्थ ठेक्कामा भ्रष्टाचार : गढीमाईका मेयर यादव र कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा

नदीजन्य पदार्थ ठेक्कामा भ्रष्टाचार : गढीमाईका मेयर यादव र कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौं : रौतहटको गढीमाई नगरपालिकाको आन्तरिक आय ठेक्कामा अनियमितता गरी राजस्व चुहावट गरेको अभियोगमा नगर प्रमुखसहित ५ जनाविरुद्ध मंगलबार विशेष अदालतमा दुई वटा छुट्टाछुट्टै भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

आर्थिक वर्ष २०७६/७७ मा समनपुरघाट र लक्ष्मीपुर-धर्म्पुरघाटको बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन र संकलनको ठेक्कामा कुल तीन करोड ३५ लाख रुपैयाँ राजस्व हिनामिना भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

समनपुरघाट ठेक्का प्रकरण
आयोगका अनुसार समनपुरघाटको ठेक्कामा कबोल रकम दाखिला नगरी झुट्टा बेहोरा उल्लेख गरी पेस गरिएको टिप्पणीको आधारमा सम्झौता गरिएको थियो।
 
भाग्यमणी कन्स्ट्रक्सनले तीन करोड २५ लाखमा सकार गरेको ठेक्कामा सम्झौता विपरीत एक महिनाको लागि १० हजार घनमिटर मात्र उत्खनन गर्ने भनी अनुमति दिइएकोमा ५४ हजार ३५५ घनमिटर सामग्री उत्खनन गराई राजस्व चुहावट गरिएको खुलेको छ।

यस प्रकरणमा नगर प्रमुख श्याम प्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवास कुमार ठाकुर र राजस्व शाखा प्रमुख बालकिशोर रायविरुद्ध जनही दुई करोड ५७ लाख रुपैयाँ बिगो कायम गरिएको छ।

लक्ष्मीपुर-धर्म्पुरघाट ठेक्का प्रकरण
लक्ष्मीपुरदेखि धर्म्पुरसम्मको घाट ठेक्कामा पनि कबोल अंकको १० प्रतिशत रकम छुट दिएको र १३ प्रतिशत मूल्य अभिवृद्धि कर नबुझाई राजस्व हिनामिना गरेको अभियोगमा आयोगले दोस्रो मुद्दा दायर गरेको हो। 

यसमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवास कुमार ठाकुर र लेखा प्रमुख कामेश्वर सहनीविरुद्ध ७८ लाख १५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

ठेकेदारउपरको मागदाबी
दुवै ठेक्कामा निर्माण व्यवसायीको तर्फबाट मुख्य भूमिकामा रहेका भाग्यमणी कन्स्ट्रक्सनका राधेश्याम साहलाई दुवै मुद्दामा प्रतिवादी बनाइएको छ। साहविरुद्ध कुल तीन करोड ३५ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय र बिगो असुलको मागदाबी गरिएको छ।

असार २३, २०८३ मंगलबार १७:३९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।