सेनामार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन हुँदै
काठमाडौं : विगत लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने प्रयास स्वरूप नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत परीक्षण उत्पादन सुरु गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उक्त जानकारी दिएकी हुन्।
उनका अनुसार सरकारले हेटौँडा कपडा उद्योगलाई आयात प्रतिस्थापन, आत्मनिर्भरता र रोजगारी सिर्जनाको मुख्य माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। यसका साथै सरकारले अन्य सातवटा रुग्ण सरकारी उद्योगहरूको सम्पत्ति र दायित्व मूल्याङ्कन गर्ने प्रक्रिया समेत अघि बढाएको उनले जानकारी दिइन्।
“हेटौँडा कपडा उद्योगलाई आयात प्रतिस्थापन, आत्मनिर्भरता विकास र रोजगारी सृजना गर्ने तथा अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउने माध्यमका रूपमा विकास गर्नेगरी सञ्चालन गर्न खोजेका छौँ”, उनले भनिन्।
निजी क्षेत्रको मनोबल बढाउन र उद्योगहरूलाई निर्वाध रूपमा सञ्चालन गर्न सरकारले 'लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति' ल्याउन लागेको र उक्त रणनीति हाल मन्त्रिपरिषद्बाट स्वीकृत हुने अन्तिम चरणमा रहेको उनीले बताइन्।
यो रणनीतिले निजी सम्पत्तिको संरक्षण, लगानी संरक्षण र उद्योग प्रतिष्ठानहरूलाई 'शान्ति क्षेत्र' का रूपमा स्थापित गर्ने विश्वास उनले व्यक्त गरिन्। विगतका आन्दोलनका कारण बन्द वा धराशायी भएका उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउन यस रणनीतिले विभिन्न छुट र सहुलियतको व्यवस्था गरेको समेत उनको भनाइ थियो।
“विगतको आन्दोलनका क्रममा भएको क्षतिको कारण बन्द एवं रुग्ण उद्योग व्यवसायलाई पुनः सञ्चालन ल्याउन विभिन्न छुट सुविधा तथा सहुलियतको व्यवस्थासमेत रणनीतिले गरेको छ”, उनले भनिन्।
यसैगरी, सरकारले रोजगार आबद्ध उत्पादन क्षेत्र कार्यक्रमअन्तर्गत यसअघि घोषणा गरिएका औद्योगिक क्षेत्रहरूमा नयाँ उद्योग स्थापनाका लागि प्लट उपलब्ध गराउने तयारी गरेको उनले जानकारी दिइन्। अन्तर-मन्त्रालय र अन्तर-तह समन्वयलाई थप प्रभावकारी बनाउँदै देशमा उत्पादन र रोजगारी वृद्धि गर्न मन्त्रालय पूर्ण रूपमा क्रियाशील रहने प्रतिबद्धता समेत उनले व्यक्त गरेकी छन्।
असार २३, २०८३ मंगलबार १५:०७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।