राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र निष्कासन, बैंक तथा वित्तीय संस्थासँग बोलकबोल माग

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र निष्कासन, बैंक तथा वित्तीय संस्थासँग बोलकबोल माग

काठमाडौं : नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ। 

केन्द्रीय बैंकले मंगलबार सार्वजनिक सूचना जारी गर्दै १ वर्ष अवधिको 'नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ङ’' निष्कासन गरेको हो। यस ऋणपत्र खरिद गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरूले आगामी शुक्रबार दिउँसो ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल पेस गर्नुपर्नेछ।

काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछि)को हकमा चार अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ। राष्ट्र बैंकले न्यूनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाइएको छ।

राष्ट्र बैंकले पछिल्लो दुई सातामा मात्रै १ खर्ब १५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरिसकेको छ। यसअघि असार १६ गते ३५ अर्ब रुपैयाँ, असार १७ गते ४५ अर्ब, असार १९ गते २५ अर्ब र असार २२ गते २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरिएको थियो।

असार २३, २०८३ मंगलबार १२:२२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।