प्रधानमन्त्री शाहले पहिलो पटक विदेशी प्रतिनिधिसँग गरे एकल भेटवार्ता

प्रधानमन्त्री शाहले पहिलो पटक विदेशी प्रतिनिधिसँग गरे एकल भेटवार्ता

काठमाडौं : नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री बनेपछि शाहले विदेशी कूटनीतिज्ञसँग एकल भेटवार्ता गरेको यो पहिलो पटक हो। यसअघि उनले विदेशी प्रतिनिधिहरूसँग सामूहिक भेटघाट मात्र गर्दै आएका थिए।

यसका अलावा ​जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ।

भेटमा ​नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त  भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

​प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे।

यसअघि, सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अध्यक्ष कान्डाबीच भेटवार्ता भएको थियो।

असार २३, २०८३ मंगलबार १२:१२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।