भृकुटीमण्डपमा साउन २६ देखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना हुने
काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आगामी साउन २६ देखि ३१ गतेसम्म (११ देखि १६ अगस्ट २०२६) काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना हुने भएको छ।
नाइमाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको दोस्रो संस्करणसम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको हो।
नेपालकै ठुलो अटोमोबाइल प्रदर्शनीका रूपमा रहने यस एक्स्पोमा ५१ वटा स्टल रहनेछन् भने ५५ भन्दा बढी ब्रान्डका सवारी साधन तथा अटो सामग्रीहरू प्रदर्शन गरिनेछन्।
एक्स्पोका क्रममा ४० भन्दा बढी नयाँ सवारी साधन तथा प्रविधिहरू सार्वजनिक (लन्च) गरिने आयोजकले जनाएको छ।मेलामा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड गाडी र मोबिलिटी सोलुसनहरू प्रदर्शनमा राखिनेछन्।
नाइमाका अध्यक्ष रितु सिंह वैद्यका अनुसार संस्थाले व्यावसायिक गतिविधि प्रवर्द्धनका साथै सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि काम गर्दै आएको छ।
यस पटक एक्स्पोको टिकट बिक्रीबाट प्राप्त हुने आम्दानीको कम्तीमा १० प्रतिशत रकम अनुसन्धान फेलोसिप तथा तालिमका लागि छुट्याइने उनले जानकारी दिइन्।
मनसुन र अपाङ्गता भएका व्यक्तिहरूको सहजतालाई ध्यानमा राखेर प्रदर्शनीस्थलको व्यवस्थापन गरिने अटो शो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले जानकारी दिए।
एक्स्पोको अवधिमा नेपाल पुलिस क्लबको हलमा सडक सुरक्षा, प्रविधि र मोबिलिटीका विषयमा निःशुल्क सिकाइ सत्रहरू (लर्निङ सेसन) समेत सञ्चालन हुनेछन्।
यस एक्स्पोलाई ग्लोबल आईएमई बैंकले सह-प्रायोजक तथा रेड बुलले ‘पावर्ड बाइ’ स्पोन्सरका रूपमा सहयोग गरेका छन् भने अन्य विभिन्न वित्तीय, प्राविधिक र सेवाप्रदायक संस्थाहरू साझेदारका रूपमा आबद्ध रहेका छन्।
असार २३, २०८३ मंगलबार ११:१६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।