सर्लाहीमा अटोको डिक्की र सिटमुनि ६० किलो गाँजा लैजाँदै गरेका २ जना पक्राउ
सर्लाही : सर्लाही प्रहरीले ६० किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार अपराह्न जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२ धर्मपुरटोलस्थित कठिपुल नजिक प्रहरी चौकी ब्रह्मपुरीबाट खटिएको प्रहरी टोलीले हरिवनबाट नारायणतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ह ४५१७ नम्बरको अटो शंकाको आधारमा रोकी जाँच गरेको थियो।
जाँचका क्रममा अटोको डिक्की र सिटमुनि रातो प्लास्टिकले बेरिएका १२ वटा पोकामा लुकाइराखिएको ६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा अटो चालक सर्लाहीको बागमती नगरपालिका–११ सखुवनी निवासी ३५ वर्षीय थिरविक्रम रायमाझी र अटोमा सवार सोहि ठाउँ निवासी ३५ वर्षीय प्रदीप मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला अदालत सर्लाहीबाट ६ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए।
असार २३, २०८३ मंगलबार ११:०९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।