एनपिएलका छ टोलीको मुख्य प्रायोजकमा एक्स्टीम इनर्जी ड्रिंक्स
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणको लागि छ वटा फ्रेन्चाइज टोली र एक्स्टीम इनर्जी ड्रिंक्सबीच मुख्य प्रायोजन (टाइटल स्पोन्सर) सम्झौता भएको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच एक्स्टीम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग आगामी तीन वर्षका लागि सम्झौता गरेको छ।
एग्रो थाई फुड्सकी बिजनेस हेड सोनिया राणा र छ वटै टोलीका प्रतिनिधिहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार टोलीहरूको प्लेइङ जर्सीको अगाडिपट्टि मुख्य स्थानमा एक्स्टीम इनर्जी ड्रिंक्सको लोगो रहनेछ।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले एक्स्टीम इनर्जी ड्रिंक्सको सहकार्यले नेपाली क्रिकेटको दिगो विकास र संरचना सुदृढीकरणमा सहयोग पुग्ने बताए। त्यस्तै, एग्रो थाई फुड्सका नेसनल सेल्स मनेजर कृष्ण दाहालले ब्राण्ड प्रचारका लागि मात्र नभएर क्रिकेटको दीर्घकालीन हितका लागि समेत उक्त सहकार्य गरिएको उल्लेख गरे।
असार २२, २०८३ सोमबार २२:१५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।