दुई वर्षभित्र बर्दिबाससम्म रेल पुर्याउने गरी रेलमार्ग निर्माणले लियो गति
जनकपुरधाम : मुआब्जा विवाद सुल्झिएसँगै लामो समयदेखि अवरुद्ध जयनगर-बर्दिबास रेलमार्गको बाँकी १८ किलोमिटर खण्ड निर्माणले गति लिएको छ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरकन इन्टरनेसनलले काम थालेको छ।
धनुषा र महोत्तरीमा धमाधम ट्र्याक निर्माण भइरहेको छ। जयनगर-बर्दिबास ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर-कुर्था खण्डमा २०७८ चैत १९ गतेदेखि नियमित रूपमा रेल सेवा सञ्चालन हुँदै आएको छ।
यसैबीच, नेपाल रेल्वे कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी सुरु गरेको छ। विभिन्न स्थानमा रेल्वेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताए।
जयनगर-बर्दिबास रेलमार्ग नेपाल र भारतबीचको महत्त्वपूर्ण सीमापार रेल परियोजना हो। यो ब्रोडगेज रेलमार्ग नेपाल-भारत द्विपक्षीय सहकार्यअन्तर्गत निर्माणाधीन छ। यो परियोजनाले दुई देशबीचको आवागमन, व्यापार तथा आर्थिक गतिविधिलाई सहज बनाउनुका साथै नेपालको रेल पूर्वाधार विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
असार २१, २०८३ आइतबार ११:५२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।