टाउको नचिरी मस्तिष्कको उपचार गर्ने डा सुभाषलाई बिरामीका छोराले भने- ‘भर्खरको डाक्टर छन्, के उपचार गर्लान् र खै!’

टाउको नचिरी मस्तिष्कको उपचार गर्ने डा सुभाषलाई बिरामीका छोराले भने- ‘भर्खरको डाक्टर छन्, के उपचार गर्लान् र खै!’

डा. सुभाष फुँयाल ‘न्यूरो इन्टरभेन्सन’ विधाका विशेषज्ञ चिकित्सक हुन्।

उनीसँग परम्परागत रूपमा टाउकोको शल्यक्रिया (चिरफार) नगरी हात वा खुट्टाको रक्तनलीबाट मसिनो तार छिराएर मस्तिष्क र मेरुदण्डको नसामा जमेको रगत निकाल्ने तथा ट्युमरको उपचार गर्ने अत्याधुनिक ‘न्यूरो इन्टरभेन्सन’ विधिको विशिष्ट ज्ञान र सीप छ।

विशेषगरी मस्तिष्कघात (स्ट्रोक) र पक्षघात जस्ता जटिल समस्या भएका बिरामीलाई नयाँ जीवन दिन उनी अनवरत रूपमा क्रियाशील छन्।

नेपालमा हालसम्म यस प्रविधिमार्फत एक हजारभन्दा बढी बिरामीको सफल उपचार गरिसकेका डा. सुभाषले आफ्नो चिकित्सकीय यात्राका केही अविस्मरणीय अनुभवहरू बाँडेका छन्:

भारतमा चामत्कारिक रूपमा बाँचेकी ती महिला
डा. सुभाषले चिकित्सा शास्त्रमा ‘न्यूरो इन्टरभेन्सन’ रोज्नुको पछाडि एउटा प्रेरणादायी घटना छ।

करिब ११ वर्षअघि भारतको चण्डिगढस्थित ‘पोष्ट ग्राजुयट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च’ (पीजीआईएमईआर)मा रेडियोलोजी विषयमा एमडी अध्ययन गर्दै गर्दा उनले पहिलो पटक यो प्रविधिको प्रभावकारिता नजिकबाट देख्न पाए।

उनका सिनियर चिकित्सकहरूले एक ५५ वर्षीया महिलालाई यसै विधिबाट बचाएको त्यो क्षणले डा. सुभाषलाई निकै आकर्षित गर्यो।

ती महिलालाई अस्पतालको आकस्मिक कक्षमा ल्याइँदा डा. सुभाष ड्युटीमै थिए। बिरामीको बोली लरबराएको थियो भने शरीरको एकातर्फको भाग (हातखुट्टा) चल्न छाडिसकेको थियो।

प्रारम्भिक परीक्षणबाट उनलाई गम्भीर मस्तिष्कघात भएको पुष्टि भयो। तत्काल उपचार नगरिए ज्यान जाने जोखिम थियो। सिनियर न्यूरो इन्टरभेन्सन विशेषज्ञको टोलीले ती बिरामीलाई तुरुन्तै शल्यक्रिया कक्षमा लग्यो। डा. सुभाष पनि टोलीसँगै सहभागी भए।

यदि त्यहाँ न्यूरो इन्टरभेन्सन प्रविधि र विशेषज्ञ नभएका भए ती महिलाको टाउको चिरेर ठूलो शल्यक्रिया गर्नुपर्ने हुन्थ्यो। तर चिकित्सकहरूले टाउकोमा सानो चोट पनि नलगाई हात वा खुट्टाको नसाबाट तार छिराएर मस्तिष्कको बन्द नसा खोल्ने ‘न्यूरो इन्टरभेन्सन’ विधि अपनाउने निर्णय गरे।

उपचार प्रक्रिया सुरु भएको केही बेरमै सकारात्मक परिणाम देखियो। चमत्कार जस्तै गरी ती महिलाको होस आयो, बोली फर्कियो र हातखुट्टा चलाउन थालिन्। आफ्नै आँखाअगाडि भएको यो सफल उपचार देखेपछि डा. सुभाषले सोही दिनदेखि यस विधामा आफ्नो करियर बनाउने दृढ संकल्प गरे।

‘न्यूरो इन्टरभेन्सन’ मा डीएम गर्ने पहिलो नेपाली चिकित्सक
सन् २०११ मा खुला प्रतिस्पर्धाबाट छनोट भई पीजीआईएमईआर, चण्डिगढबाट रेडियोलोजीमा तीन वर्षे एमडी पूरा गरेर डा. सुभाष सन् २०१५ मा नेपाल फर्किए।

नेपाल फर्केपछि उनले केही समय ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा काम गरे। तर, न्यूरो इन्टरभेन्सनमै थप विशिष्टता हासिल गर्ने उद्देश्यका साथ उनी सन् २०१६ मा पुनः भारत प्रस्थान गरे।

यस पटक उनले भारतको प्रतिष्ठित संस्था ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ (एम्स), नयाँ दिल्लीबाट न्यूरो इन्टरभेन्सन विषयमा डीएम अध्ययन सुरू गरे।

सन् २०१९ मा अध्ययन सम्पन्न गरी नेपाल फर्केपछि उनी पुनः ग्राण्डी अस्पतालमै कार्यरत रहे। डा. सुभाष नेपालमा न्यूरो इन्टरभेन्सन विधामा ‘डीएम’ उपाधि हासिल गर्ने सम्भवतः पहिलो नेपाली चिकित्सक हुन्।

हाल नेपालमा यस विधामा काम गर्ने चिकित्सकहरूको संख्या दर्जनभन्दा बढी पुगिसकेको उनी बताउँछन्। अहिले धेरै चिकित्सकहरूले मस्तिष्कघातका बिरामी उनकहाँ रिफर गर्ने मात्र होइन, कतिपयले आफ्नै परिवारका सदस्यलाई समेत उपचारका लागि उनीकहाँ ल्याउने गर्छन्।

पहिलो केसः मस्तिष्कघात भएर बेहोस भएकी ती आमैको उपचार
नयाँ प्रविधि सिकेर नेपाल फर्किए पनि सुरुवाती दिनहरू डा. सुभाषका लागि सहज थिएनन्। चिकित्सा क्षेत्रकै धेरै व्यक्तिहरू यस विधाबारे अनभिज्ञ थिए। त्यसैले उनले सुरुका चार महिना यस प्रविधिका फाइदाबारे सहकर्मी र अन्य चिकित्सकहरूलाई बुझाउनमै समय खर्चिनुपर्यो।

नेपाल फर्केको चार महिनापछि मात्र उनकहाँ पहिलो बिरामी रिफर भएर आइन्। करिब ६० वर्षकी ती आमै मस्तिष्कघातका कारण पूर्ण रूपमा अचेत अवस्थामा थिइन्। उनको मस्तिष्कको मुख्य रक्तनली बन्द भएको थियो। छोरा वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा थिए भने गर्भवती बुहारीले उनलाई अस्पताल ल्याएकी थिइन्।

डा. सुभाषले न्यूरो इन्टरभेन्सन विधिबाटै उपचार गर्ने निर्णय लिए। सबै तयारी पूरा गरी उनलाई क्याथ ल्याबमा लगियो र हातको नसाबाट तार छिराएर मस्तिष्कको बन्द भएको नसा सफलतापूर्वक खोलियो।

नेपालमा न्यूरो इन्टरभेन्सन विधिबाट गरिएको त्यो पहिलो उपचार पूर्ण रूपमा सफल भयो। उपचारको भोलिपल्टै ती आमै सामान्य रूपमा हिँडडुल गर्न सक्ने भइन् र केही दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएर घर फर्किइन्।

नेपालमा पहिलो पटक यसरी टाउको नचिरी मस्तिष्कको बन्द नसा खुलाइएको यो सफल घटना चिकित्सा शास्त्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशित भएको छ। यसअघि नेपालमा यस्ता बिरामीको उपचार ठूलो शल्यक्रिया गरेर मात्र सम्भव मानिन्थ्यो।

नेपालमा न्यूरो इन्टरभेन्सन सेवाको विकास र विस्तारमा पुर्याएको योगदानका लागि डा. सुभाष ‘गिनीज वर्ल्ड रेकर्ड्स, लण्डन’ बाट समेत सम्मानित भएका छन्।

विगत डेढ वर्षदेखि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको रेडियोलोजी विभागमा उपप्राध्यापकका रूपमा कार्यरत छन्। हाल चिकित्सा शास्त्रका विद्यार्थीलाई अध्यापन गराउनु, बिरामीको सेवा गर्नु र चिकित्सा क्षेत्रमा अनुसन्धान गर्नु उनको दैनिकी बनेको छ।

७२ वर्षीया आमै र ‘भर्खरको डाक्टर’को प्रसङ्ग
धादिङकी ७२ वर्षीया एक वृद्धाको उपचार गर्दाको क्षण पनि डा. सुभाषको मानसपटलमा सधैं ताजा रहन्छ। केही वर्षअघिको कुरा हो, मस्तिष्कको नसा फुटेर आन्तरिक रक्तश्राव (ब्रेन हेमरेज) भएपछि ती आमैलाई अचेत अवस्थामा अस्पताल ल्याइएको थियो।

तर, बिरामीका छोरा डा. सुभाषको युवा उमेर देखेर सुरुमा विश्वस्त हुन सकेनन्। उनले परिवारका अन्य सदस्यसँग कानेखुसी गर्दै भनेका थिए, ‘यी त भर्खरका तन्नेरी डाक्टर रहेछन्, यिनले यति गम्भीर रोगको के उपचार गर्लान् र!’

बिरामीको अवस्था नाजुक थियो र तत्काल उपचार नगरे ज्यान जाने निश्चित जस्तै थियो। डाक्टरप्रति अविश्वास गरिरहेका बिरामीका आफन्तलाई डा. सुभाषले धैर्यपूर्वक सम्झाए।

उनले टाउको खोलेर गरिने परम्परागत शल्यक्रिया र टाउको नखोली गरिने न्यूरो इन्टरभेन्सन प्रविधिका बुँदागत भिन्नता, यसका फाइदा तथा सम्भावित जोखिमका पाटाहरूबारे विस्तृत रूपमा बुझाए। आफूले यही विधामा विशेष अध्ययन गरेर आएकाले उमेरलाई लिएर संकोच नमानी विश्वास गर्न उनले आग्रह गरे।

डाक्टरको स्पष्ट र विनम्र ब्रिफिङपछि परिवारका सदस्यहरू उपचारका लागि तयार भए। डा. सुभाषले ढिला नगरी बिरामीलाई क्याथ ल्याबमा लगेर खुट्टाको नसाबाट मसिनो तार छिराउँदै मस्तिष्कको फुटेको नसालाई सफलतापूर्वक टाले।

नेपालमा मस्तिष्कको नसा फुटेर रक्तश्राव भएका बिरामीको न्यूरो इन्टरभेन्सन विधिबाट गरिएको यो नै पहिलो सफल उपचार थियो। उपचारपछि ती आमैको होस खुल्यो र बिस्तारै सामान्य अवस्थामा फर्किइन्। करिब १० दिनको उपचारपछि उनी ठमठम हिँडेर घर फर्किइन्।

घर फर्केपछि छिमेकी र आफन्तहरू ती आमैको टाउकोमा शल्यक्रियाको कुनै दाग वा खत नदेखेर अचम्मित भए। अस्पताल जाँदा मृत्युको मुखमा पुगेकी मानिस कसरी विनाकुनै चोट निको भएर फर्किइन् भन्ने कुरा गाउँलेका लागि कौतुहलको विषय बन्यो।

करिब दुई हप्तापछि फलोअपका लागि ती आमैसँगै गाउँका करिब १५ जना मानिस अस्पताल आइपुगे। यति धेरै मानिस देखेपछि डा. सुभाषले उत्सुकतापूर्वक सोधे, ‘तपाईंहरू किन यति धेरै आउनुभएको?’

उनीहरूले एकै स्वरमा भने, ‘टाउकोमा घाउचोट नै नलगाई अपरेसन गर्ने कस्तो डाक्टर हुनुहुँदो रहेछ भनेर हामी पनि आँखाले हेर्न आएका।’

गाउँलेहरूको त्यो निर्दोष र खुसी व्यक्त गर्ने शैली सुनेर डा. सुभाष निकै प्रभावित भए। आफ्नो सीपले बिरामीलाई निको बनाएको र समाजमा नयाँ प्रविधिबारे विश्वास जगाउन सकेकोमा उनले आत्मसन्तुष्टि महसुस गरे।

प्रभावकारी, सुरक्षित तर खर्चिलो विधि
डा. सुभाषका अनुसार न्यूरो इन्टरभेन्सन विधिबाट उपचार गर्दा टाउको वा मेरुदण्ड चिरफार गर्नु नपर्ने विषयमा अझै पनि व्यापक जनचेतना फैलाउन आवश्यक छ।

हात वा खुट्टाको रक्तनलीबाट मात्र उपचार गरिने भएकाले शरीरमा ठूलो घाउ वा खत बस्दैन। परम्परागत खुला शल्यक्रियाको तुलनामा यसमा मस्तिष्कका संवेदनशील तन्तुहरूलाई प्रत्यक्ष छुनु नपर्ने हुँदा संक्रमण, अत्यधिक रक्तश्राव र मस्तिष्कका अन्य भागमा क्षति पुग्ने जोखिम निकै कम हुन्छ।

यस विधिमा बिरामीले धेरै शारीरिक कष्ट भोग्नु पर्दैन र अस्पतालमा लामो समय बस्नु पनि पर्दैन। बिरामीहरू चाँडै निको भएर आफ्नो दैनिक जीवनमा फर्कन सक्छन्। विशेषगरी मस्तिष्कघात भएको अवस्थामा पहिलो ६ घण्टा (गोल्डेन आवर) भित्र बिरामीलाई अस्पताल पुर्याउन सकेमा यो विधि निकै प्रभावकारी साबित हुने डा. सुभाषको सुझाव छ।

यद्यपि, यो प्रविधिमा प्रयोग हुने उपकरण र उपभोग्य सामग्रीहरू महँगो हुने भएकाले विपन्न बिरामीका लागि यो सेवा अझै पनि पहुँचबाहिर छ। त्यसैले यस्तो जीवनरक्षक प्रविधिलाई सर्वसुलभ बनाउन राज्यस्तरबाटै विशेष नीति वा सहुलियतको व्यवस्था गरिनुपर्ने उनको धारणा छ।

डाक्टर बन्ने बाल्यकालको त्यो सपना
सन् १९८३ (वि.सं. २०४०) मा विराटनगरमा जन्मिएका डा. सुभाषका बुवा सरकारी सेवामा कार्यरत थिए। बुवाको सरुवा भइरहने हुनाले उनको प्रारम्भिक शिक्षा फरक-फरक ठाउँमा भयो। उनले झापाको सुरूङ्गास्थित पशुपति माध्यमिक विद्यालयबाट सन् २००१ मा ८० प्रतिशत अंकका साथ एसएलसी उत्तीर्ण गरे।

त्यसपछि काठमाडौंको सिद्धार्थ वनस्थली कलेजबाट आईएस्सी पूरा गरे। छोरा डाक्टर बनोस् भन्ने आमाबुवाको चाहना र आफ्नो पनि रुचि भएकाले उनले चिकित्सा शास्त्रको प्रवेश परीक्षा दिए र छात्रवृत्तिमा छनोट भए। सन् २००४ मा काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा भर्ना भएर सन् २०१० मा उनले एमबीबीएस पूरा गरे।

एमबीबीएस अध्ययनका क्रममा उनले नेपालमा रोगको सही पहिचान गर्ने अत्याधुनिक उपकरणहरूको ठूलो अभाव महसुस गरे। रोगको सही पहिचान विना प्रभावकारी उपचार असम्भव हुने ठानेर उनले रेडियोलोजी विधामा विशेषज्ञता हासिल गर्ने निर्णय गरे।

सार्क कोटाको छात्रवृत्ति परीक्षामा उत्तीर्ण भई सन् २०११ मा उनी भारतको चण्डिगढस्थित पीजीआईएमईआरमा भर्ना भए, जहाँबाट उनको न्यूरो इन्टरभेन्सनतर्फको यात्रा सुरु भएको थियो।

असार २०, २०८३ शनिबार १२:४६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।